प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध सुधार नभएको संकेत गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत दिएका हुन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि बैंकक पुगेको बेलामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो संवाद गरेका थिए । करिब ४५ मिनेट लामो एक्लाएक्लै भएको संवादले सम्बन्ध सुधारको संकेत गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीले अन्य देशका कार्यकारी प्रमुखसँग एक्लाएक्लै संवाद गरेका थिएनन् । त्यस अर्थमा पनि ओली–मोदी संवादलाई अर्थपूर्ण र महत्त्वका साथ हेरिएको थियो । तर, संवादले खास उत्साह नदिएको संकेत ओलीले दिएका हुन् ।
काठमाडौंको हिमालय डायलगमा बोल्ने क्रममा ओलीले सोमबार भारतको नाम त लिएनन् तर अस्वाभाविक आशंका र चासोको बारे कथा हालेर सुनाए । अर्थात्, प्रधानमन्त्री ओली भारतीय भूमिकाप्रति असन्तुष्ट सुनिए । ओलीले भनेका छन्, 'कुनै बेला छिमेकलाई हामीहरूले बढी आउन दियौँ होला, अब त्यो हुँदैन । यसको खास अर्थ विगतमा भारतलाई आन्तरिक मामिलामा बढ्ता आउन दिएका थियौँ, अब त्यस्तो हुँदैन भन्ने देखियो । ओलीले त्यसमा कथा हालेर नै सुनाए । उनले भनेका छन्, ‘तपाईंले साथीलाई सधैँ चिया खुवाइरहनुभएको थियो, एक दिन तपाईंसँग पैसा भएन र चिया खुवाउन सक्दिनँ भन्नुभयो । अनि साथी ३–४ महिना रिसाउँछ । त्यसरी साथी रिसाउनुमा तपाईंका दोष केही छन् । तपाईंको दोष भनेको उसलाई चिया खुवाउन बानी पार्नु हो ।’
प्रधानमन्त्री ओलीले विगतमा भारतलाई नेपालको राजनीतिमा चासो राख्न बानी पारेको अर्थमा व्याख्या गर्न खोजेको देखिन्छ । त्यसैले, उनले छिमेक सम्बन्धमा सन्तुलन कायम राख्ने बताएका थिए । उनले भने, ‘दुई छिमेकबीच विवाद भए त्यसमा नेपालले सन्तुलनकारी भूमिका राख्छ र भन्छ शान्तशान्त । त्यसमा ओलीले मुखले मात्रै सन्तुलनमा भन्दा आंशका गर्न सक्छन् । उत्तरले दक्षिणलाई भनेको भन्न सक्छ, अनि दक्षिणले उत्तरलाई भनेको बुझ्न सक्छ । त्यस कारण, दुवै हात एकसाथ उठाएर भन्नुपर्छ शान्तशान्त ।’
ओली कार्यक्रममा जुन रूपमा प्रस्तुत भएका थिए, त्यसले भारतसँग ओलीको सम्बन्ध सुधार नभएको संकेत त गर्थ्यो नै, प्रगतिउन्मुख छ भन्ने आस पनि देखाउँदैनथ्यो ।
हुन त ओलीले शनिबार काठमाडौं ओर्लिने क्रममा नै मोदीसँग संवाद मित्रवत् नभएको संकेत गरेका थिए । त्यस दिन ओलीले सगरमाथा संवादमा मोदी नआउने भनेर घोषणा गरे । पूर्वनिर्धारित युरोप भ्रमणमा व्यस्त हुने भएकाले मोदी आउन नपाउने बताएका थिए । पहिलो कुरा, प्रधानमन्त्रीको तहबाट उक्त घोषणा गर्ने बेला भएको थिएन ।
अनि, समय र सन्दर्भ पनि उपयुक्त थिएन । मोदीलाई विशेष अतिथिका लागि निम्ता गरिएको थियो । स्वयम् ओलीले पनि निम्ता गरेका थिए । त्यस कारण निम्ता गरेको साता दिन पनि नबित्दै प्रधानमन्त्रीको तहबाट नै मोदी नआउने भनेर घोषणा आवश्यक थिएन । अझै पनि सगरमाथा संवाद पूर्वतयारीकै क्रममा छ । ओलीले मोदी नआउने भनेर पहिला नै छेकबार लगाइसकेको अर्थमा पनि टिप्पणी भइरहेको छ ।
अर्कातिर भारत भ्रमणका लागि काँडेतार नलगाएको भनेर टिप्पणी पनि गरेका छन् । यसले पनि तत्काल भारत भ्रमण हुने सम्भावना नदेखाएको अर्थमा हेरिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ १६:२३