काठमाडौं महानगरपालिकाको कमलादी कार्यालयमा बिहीबार जे भयो, आफ्ना सकारात्मक र विवादास्पद निर्णयका कारण सदावहार चर्चित मेयर बालेन शाहका लागि यो गम्भीर धक्का हो । किनकि उनी चाहँदैनथे, आफैंले नआऊ भनेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फेरि आफ्नै समीप आएर काम गर्न थालून् । उनलाई रोक्न बालेनले ठूलै शक्तिसमेत लगाएका थिए । कार्यकक्षमा ताला लगाइदिएका थिए । कार्यालय प्रमुखलाई कार्यालय छिर्नबाट रोक्न ठूलो संख्यामा नगर प्रहरी तैनाथ गरेका थिए ।
तर, महानगरका कर्मचारी, वडाध्यक्ष अनि कार्यपालिका सदस्यहरूले गुरागाईंलाई ‘फिल्मी’ शैलीमा कार्यकक्षमा प्रवेश गराइदिए । बिहीबारको माहौल हेर्दा लाग्थ्यो, कतिपय आफ्नै निर्णयका कारण महानगरभित्र अब बालेन एक्लिँदै गएका छन् । यसअघि उनलाई साथ दिएका वडाध्यक्षहरू मात्र होइन, उनीसँग थर्कमान कर्मचारीहरू पनि अब भयमुक्त हुँदै गएका छन् । बरु उनीहरूमा बढेको असन्तुष्टि र आक्रोश छताछुल्ल भएर पोखिएको छ ।
माथिको आदेश भन्दै बिहीबार गुरागाईंलाई रोक्न खटाइएका दर्जनौँ नगर प्रहरी हेरेको–हेर्यै भए । उनीहरूले सामान्य ढंगले रोक्ने प्रयास नगरेका त होइनन् । तर, कर्मचारी र अरु जनप्रतिनिधिको ठूलो संख्याका अगाडि उनीहरूको केही लागेन । बिहान जति हल्ला थियो, त्यसको तुलनामा नगर प्रहरीले गुरागाईंलाई रोक्न खासै बल प्रयोग गरेको देखिएन । किनकि, तीन महिनादेखि तलब नपाउने कर्मचारीमा उनीहरू पनि त थिए ।
कर्मचारीको सुरक्षा घेराभित्र प्रमुख प्रशासकीय अधिकृत कमलादीस्थित कार्यालय प्रवेश गरे । नगर प्रहरीहरू पछिपछि लागे । कर्मचारी र वडाध्यक्षले नै गुरागाईंलाई कार्यकक्षसम्मै डोर्याएर लगे । कार्यकक्षमा मेयर बालेनको समूहले सचिवालयले ताला लगाएको थियो । ताला फुटाउने प्रयासमा केही बेर त्यहाँ धकेलाधकेल पनि भयो । यस क्रममा बैठक कक्षको फल सिलिङ भित्ता नै भत्कियो । छेउको कोठाको सिसा फुट्यो ।
यसपछि चाबी लिएर आउन्जेल वडाध्यक्षहरू कुर्ने भए । अनि, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षछेउकै बैठक कक्षमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरू भेला भए । एकछिनपछि त्यहाँ उपप्रमुख सुनिता डंगोल पनि आइपुगिन् । बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार, बैठकमा कार्यपालिकाका ४१ सदस्यहरू उपस्थित थिए ।
अनौपचारिक भनिएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसहित नगर प्रहरी प्रमुख राजु पाण्डे पनि थिए । त्यहाँ उपप्रमुख डंगोल मेयर बालेनप्रति निकै आक्रोशित देखिइन् । गुरागाईंलाई एकतर्फी रूपमा अवरोध गरिएको विषयमा मेयर बालेनसँग उनले पहिल्यैदेखि असन्तुष्टि जनाउँदै आएकी छिन् । यसपल्ट पनि उनले यस्तै असन्तुष्टि प्रकट गरिन् । प्रमुख प्रशासकीयको कक्षमा लगाइएको तालाबारे उनले राजु पाण्डेलाई सोधिन् । उनले माथिको आदेशमै ताला लगाएको जानकारी गराए । सुनिताले लिखित आदेश छ भनेर सोधिन् । पाण्डेले मौखिक आदेश पाएको बताए । त्यसपछि उनले ताला खोल्न निर्देशन मात्र दिइनन्, महानगरभित्र समस्या बढिरहेको बेला मेयरले कोठामा बसेर निर्देशन दिइरहेको भन्दै असन्तुष्टि पोखिन् । आधा घण्टाभन्दा बढी अनौपचारिक बैठक बसेपछि उप्रमुख, वडाध्यक्ष र कर्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आफ्नो कार्यकक्षमा छिरे ।
यसपछि उप्रमुख डंगोल बैठक कक्षबाट बाहिरिइन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हाजिर गरे । उनलाई भित्र्याएका कर्मचारीहरू खुसी देखिन्थे । तर, त्यहाँ बालेन कतै देखिएनन् । करिब दुई घण्टासम्म त स्थिति तनावपूर्ण नै थियो । प्रमुख प्रशासकीय अधिकृतलाई पुनः बहाल गराएपछि प्रवक्ता नवीन मानन्धरले अब महानगरको ‘डेड लक’ खुल्ने बताए ।
आजको घटनाको पृष्ठभूमिमा काठमाडौं टावर निर्माण प्रक्रियामा गुरागाईंले गरेको भनिएको अनियमित नक्सा स्वीकृतिको आरोप मुख्य हो । विवादका बीच बालेनले पठाएको विभागीय प्रमुखको रायलाई मन्त्रालयले अस्वीकार गरी गुरागाईंलाई बहाल राख्ने निर्णय गरेको थियो ।
‘दृश्यावलोकन स्तम्भ’ भनिएको काठमाडौं टावरको नक्सा स्वीकृत गर्दा गुरागाईंले ‘सेटिङ’ गरेको आशंकामा बालेनले उनलाई बिदामा बस्न भनेका थिए । यसबारे छानबिन गर्न उनले समिति नै बनाएका थिए । तर, समितिले प्रतिवेदन दिन ढिलाइ गरेपछि उनले विभागीय प्रमुखहरूको रायका आधारमा गुरागाईंलाई हटाउन खोजेका थिए ।
मेयरले छानबिन समितिलाई नाघेर विभागीय प्रमुखको रायकै आधारमा गुरागाईंलाई दोषी देखाउन खोजेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन नगर्ने निचोडमा पुगेको थियो । मन्त्रालयले गुरागाईंलाई नै महानगरपालिका गएर काम गर्न भनेको थियो ।
यता महानगरमा समस्या बढिरहेको थियो । झण्डै चार महिनादेखि महानगरबाट तलब खाने कर्मचारीले तलब पाएका छैनन् । अर्बभन्दा बढी भुक्तानी रकम रोकिएको छ । क्यान्सरका बिरामीलाई दिनुपर्नेजस्ता पैसासमेत रोकिँदा स्थिति निकै जटिल बनेको थियो । तर, मेयर बालेन गुरागाईंलाई कुनै हालतमा कार्यालय आउन नदिने अड्डी कसेर बसे । यो कुरा उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्ष र कर्मचारीहरूलाई मन परेको थिएन ।
प्रमाणित हुन नसकेको आरोपका आधारमा प्रमुख प्रशासकीयलाई रोकेर तमाम कर्मचारीलाई अप्ठेरोमा पारेको उनीहरूको निचोड थियो । त्यसैले बिहीबार उनीहरूले आफ्नै बलमा गुरागाईंलाई कार्यकक्षमा छिराएर हाजिर गराएका छन् ।
बालेनका लागि यो अनपेक्षित थियो । किनकि, उनको प्रयासलाई यो तहमा असफल पारिएको सम्भवत: यो पहिलोपल्ट हो । कर्मचारी, टावर निर्माणको विवाद र नेतृत्वमा बढ्दो असहमतिका कारण बालेन प्रशासनमाथि चुनौती बढेको देखिन्छ । पछिल्लो घटनाले महानगरको आन्तरिक संघर्ष र केन्द्र सरकारसँगको समन्वयमा गम्भीर समस्या पनि दर्शाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१ १८:५८