ओसनिया महाद्वीपमा रहेको टापु राष्ट्र टोंगामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अस्ट्रेलियाको पूर्वी तटबाट करिब ३५ सय किलोमिटर टाढा रहेको टोंगामा भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिए पनि हालसम्म कुनै क्षतिको विवरण आइसकेको छैन ।
यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प मुख्य द्विपबाट करिब १ सय किलोमिटर उत्तर पूर्वमा आएको हो । टोंगाको जनसंख्याको ठूलो हिस्सा मुख्य द्विपमा बसोबास गर्ने भएकाले ठूलो क्षति हुन पाएन । प्रशान्त महासागरको सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबाट ३ सय किलोमिटरको दायरामा खतरनाक लहर उठ्न सक्ने चेतावनी जारी गरिएको थियो ।
टोंगा १७१ वटा टापु मिलेर बनेको देश हो । करिब १ लाख जनसंख्या रहेको यो देशका मानिसमध्ये अधिकांश मुख्य टोंगाटापुमै बसोबास गर्छन् । टोंगा नेसनल डिजास्टर एजेन्सीले समुद्री तटीय क्षेत्रमा नजान र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई माथिल्लो क्षेत्रमा आउन आग्रह गरेको छ ।
युएस नेसनल ओसनिक एन्ड एटमस्फियर एडमिनिस्ट्रेसनले चेतावनी जारी गर्दै यी इलाकामा सुनामीको खतरा रहेको जनाएको छ । ठूलो भूकम्प आए पनि त्यहाँको जनसंख्या कम रहेकाले करिब २० हजार मानिस रहेको स्थानमा मात्रै भूकम्पको धक्का महसुस भएको थियो ।
शुक्रबार म्यानमारमा ठूलो क्षति हुने गरी भूकम्प आएको केही दिनमै प्रशान्त क्षेत्रमा भूकम्प आएको हो । टोंगा पृथ्वीको रिंग अफ फायर क्षेत्रमा रहेको छ । जहाँ पृथ्वीका टेक्टोनिक प्लेटको गतिविधिका कारण भूकम्प जाने गर्छ । यो क्षेत्र ४० हजार किलोमिटर क्षेत्रमा फैलिएको छ । संसारमा रहेका सक्रिय ज्वालामुखीमध्ये ७५ प्रतिशत यही क्षेत्रमा रहेका छन् । १५ वटा देश रिंग अफ फायरको क्षेत्रमा पर्छन् ।
हरेक वर्ष संसारमा रेकर्ड गर्न सकिने २० हजार भन्दा बढी भूकम्प जान्छन् । जसमध्ये करिब १ सयवटा भूकम्प मात्रै घातक हुने गर्छन् । यस्ता भूकम्प केही सेकेन्डदेखि मिनेटसम्म मात्रै रहन्छन् । सन् २००४ मा हिन्द महासागरमा आएको भूकम्प भने १० मिनेटसम्म लगातार आएको थियो । टोंगा भूकम्पअघि म्यानमारमा शुक्रबार ७.७ रेक्टरको भूकम्प आएको थियो, जसले ठूलो जनधनको क्षति भएको छ ।
यो म्यानमार र थाइल्याण्डमा २ सय वर्षमा आएको सबैभन्दा ठूलो भूकम्प हो । यो भूकम्पको शक्ति ३३४ परमाणु बम विस्फोटर बराबर रहेको जियोलोजिकल सर्भेलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १७:३५