सोमबार प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद योगेश भट्टराई बोले । उनले संसदमा इतिहासका विभिन्न कालखण्डमा राजासँग भएको सम्झौता भंग गर्ने काम राजाबाटै भएको टिप्णी गरे ।
‘राज्यले तपाईंलाई सेवा सम्मान दिन्छु भनेर दिएको हो । तर, त्यो सम्झौता पनि आज शीतलनिवासमा बसेर ज्ञानेन्द्र शाहले भंग गरेका छन्,’ उनले भने । यहाँनेर भट्टराई चिप्लिए । निर्मलनिवास भन्नुपर्नेमा शीतलनिवास भनेपछि एकैछिन अलमलमा परेका भट्टराईले सच्याएर निर्मलनिवास भने । ‘निर्मलनिवासमा बसेर भंग गरेका छन् । सम्भौता भंग भएपछि उहाँलाई दिइएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन म प्रश्न गर्न चाहन्छु,’ उनले भने ।
शीतलनिवास राष्ट्रपति भवन हो भने निर्मलनिवास पूर्वराजा ज्ञानेन्द्र शाहको निजी निवास हो ।
भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले लफंगालाई जनकमान्डर बनाएर आन्दोलनमा पठाएको बताएका छन् । ‘तपाईंले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनमा ताण्डव नृत्य गर्न पठाउनुभयो । म दशपल्ट भन्छु– निर्मलनिवासबाट लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो । तपाईंसँग गरेको सम्झौता भंग भयो,’ उनले भने । १५ चैतमा भएको प्रदर्शनका लागि राजतन्त्रपक्षधरको तर्फबाट दुर्गा प्रसाईं जनकमान्डर तोकिएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १२:५५