नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्री केपी केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद चल्ने नदिने भएका छन् ।
आइतबार सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठकमा विपक्षी दलहरूले घिसिङका विषयमा प्रधानमन्त्री ओलीले संसदमा जवाफ नदिएसम्म बैठक अघि बढ्न नसकेको बताएका हुन् ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठकको काम कारबाही अघि बढ्न नसक्ने बताए । 'प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न सक्दैन । हामी हाम्रो मागमा अडिक छौँ,' उनले भने ।
बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओलीले १८ चैतको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए । उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको जानकारी दिए ।
बैठकमा सभामुख घिमिरेले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेले बताएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १२:०४