मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई पराजित गरेको छ ।
आइतबार बिहान भएको खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेस्सी र रोबर्ट टेलरले समान एक-एक गोल गरे । फिलाडेल्फियाका लागि डेनियल ग्याडेगले सान्त्वना गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता इन्टर मियामीले नै लिएको थियो । खेलको २३औँ मिनेटमा रोबर्ट टेलरले गोल गर्दै इन्टर मियामीलाई सुरुवाती अग्रता दिलाए । टेलरकै गोलमा इन्टर मियामीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लियोनेल मेस्सीले खेलको ५७औँ मिनेटमा गोल गर्दै इन्टर मियामीको अग्रता दोब्बर पारे । मेस्सीले लुइस सुआरेजको पासमा गोल गरे । मेस्सी रोबर्ट टेलरलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए ।
त्यसपछि खेलको ८०औँ मिनेटमा फिलाडेल्फिया युनियनका लागि डेनियल ग्याडेगले गोल गरे पनि टिमको हार भने टार्न सकेनन् । जितसँगै इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को इस्टर्न कन्फरेन्सको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ ०९:३०