इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिने भएको छ । आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत थिएटर नाटकघरमा र अप्रिल १४ मा टोकियोको नाकानो जेरो हलमा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा नेपाली समाजको पीडा, संघर्ष, विस्थापन, वर्गसंघर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको छ ।
जीवनका विभिन्न क्षणहरूमा पात्रले भोगेका दुःख, विछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले सशक्त रूपमा प्रस्तुत गरेको छ ।
यसअघि ‘आतुरकाल’ नाटक पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौंमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो । प्रत्येक मञ्चनमा दर्शकहरूबाट प्रशंसा पाएको यस नाटकको मूल कथावस्तु एउटा वृद्ध (किरण चापागाई) पात्रको स्मृतिहरू वरिपरि घुमेको छ । जीवनका उत्तरार्धमा जब स्मृतिहरूले तड्पाउन थाल्छन्, तब उनले विगतको सम्झनामा बाँच्नुपर्ने बाध्यता महसुस गर्छन् । नाटकले बाल्यकालका सुखका क्षणदेखि पारिवारिक विछोड, सामाजिक विभेद, विस्थापन, सङ्घर्ष र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई मार्मिक रूपमा उजागर गरेको छ ।
यसअघि जापानमा केदारनाथ पौडेल निर्देशित ‘भ्रुण’ नाटक मञ्चन गरिएको थियो । जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तर्राष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ । यो नाटकले नेपाली प्रवासी दर्शकसहित जापानी रङ्गमञ्चप्रेमीलाई पनि लोभ्याउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ ०९:१५