लायन्स क्लबले अन्तर्राष्ट्रियस्तरमा १०७औँ र नेपालमा ५३औँ वर्ष पूरा भएको अवसरमा पोखरामा अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कोर्टमा आगामी वैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा विदेशीसहित कुल छ टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने छन् भने इरान र भारतको टोलीसँग समन्वय भइरहेको छ ।
'पाकिस्तान र नेपालको गरी पाँच वटा टोलीको सहभागिता निश्चित भएको छ । बाँकी एक टोलीका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै टुङ्गो हुन्छ,' उनले भने । प्रतियोगिताको विजेता टोलीले चार लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ४४ हजार ४००, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । तृतीय हुने टोलीले एक लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ ०७:३६