मेरो कोठाको झ्याल खुल्लै छ । झ्यालबाट देखिने आरुका बोटहरू आँगनमै छन् । आज यसो चियाएर हेरेँ । तिमीहरू आइपुगेका रहेनछौ । झ्यालका खापामा चोरऔँला धसेर आँखासामु पुर्याएर पनि हेरेँ । अहँ, तिमीहरूको कुनै संकेत छैन ।
सन् २०२५ को फेब्रुअरी सकिएको छ । मार्चले अस्ति नै मचक्क पाइला टेकिसकेको छ । अबको यो पूरै महिना मार्च महिनाको 'मार्च' हेर्नुपर्नेछ । मार्चले 'मार्च' गर्दै वसन्तलाई बोलाउनेछ । दक्षिण कोरियाको यस भूमिमा फेरि तीन महिना वसन्त छाउनेछ र फूलहरू फुल्नेछन् । मौसम फेरि न्यानो हुनेछ । फेरि सिरसिर बतास चल्नेछ र तिमीहरू पनि यसैबीच आइपुग्नेछौ ।
मलाई सम्झना छ । एक दिन मैले तिमीहरूका बारेमा लेख्नेछु भनेको सुनेर मेरो साथी खितखितायो । 'धत् ! धूलोका बारेमा पनि कसैले लेख्छ ?'
उसको आँखाले शंका व्यक्त गर्यो । 'अनि धूलोका बारेमा कसले पढ्छ ?' उसको हाँसोले सोध्यो । उसले खितखिताएको मात्रै थियो । मुखले केही बोलेको थिएन । तर, कुरा प्रस्टै थियो कि उसलाई म पागल लागेको थिएँ, विल्कुलै बेवकुफ ।
तिमीहरूलाई थाहा छ ? यहाँ लेखकहरूलाई एकोहोरो गहिरो लेख्नु, सधैँ गहिरो लेख्नु मात्रै भनिन्छ । कति गहिरो ? कहाँसम्मको गहिरो ? उसो भए सतहको किस्साचाहिँ कसले लेख्छ ? मलाई थाहा छैन । कुनै दिन स्नायुहरूको भर्याङ ओर्लंदै हातमा अदृश्य जादुयी फित्ता लिएर पस्ने मन छ कुनै नामचिन लेखकको मस्तिष्कको इनारमा र नाप्ने मन छ त्यहाँको गहिराइ । जान्ने मन छ कति रिङ गहिराइबाट उसले आफ्नो सिर्जना उघाएर ल्याएको हुँदो रहेछ । तर म तिमीहरूलाई कुनै गहिराइको पिँधबाट होइन, हावाको मैदानबाट लेख्नेछु । मलाई खोज्नु छ बुकी फूल भने म शैलुङको डाँडा नचढेर धादिङको गहिरा खोँचतिर किन जाऊँ ? मलाई अचम्म लाग्छ । जिन्दगी न गहिरैगहिरो हो, जिन्दगी न थुम्कैथुम्का हो । यो त अग्लो, होचो र समतलको कथा पो हुँदो हो ।
मेरो तिमीहरूसँगको पहिलो चिनारी निकै रोचक रह्यो । सन् २०१७ को कुनै एक आइतबारको कुनै एक बिहान म अबेला ब्युँझिएको थिएँ । परदेशमा छुट्टीको दिनमा अक्सर अबेर सुतेर ढिला उठिन्छ । तल आँगनमा ओर्लिएको मात्र के थिएँ, तब देख्छु कि सल्फर पाउडर पूरै भर्याङको अन्तिम खुड्किलोदेखि लिएर परपर सडकसम्मै छरिएको छ । सल्फर पाउडर हाम्रो कम्पनीले रबर उत्पादनमा प्रयोग गर्ने एक महँगो र अत्यावश्यक धूलो हो । यो पाउडरबिना कुनै पनि रबरजन्य वस्तुको उत्पादन असम्भव हुन्छ ।
म अत्तालिएँ– ला...! कसले सल्फर पाउडर यसरी छरेछ भुईंभरि ? हत्तपत्त फेरि कोठामै उक्लिएर कम्पनीको पुरानो स्टाफलाई भनेँ, 'दाजु, कसले हो कुन्नि आँगनमा त सल्फर छरेर पहेँलै छ त ! बर्बाद भो ।'
उनी पनि अत्तालिँदै 'हो र ? हन कसले छरेछ त ?' भन्दै मेरो पछिपछि लागे । जब हामीले आँगनमा टेक्यौँ, दाजु जोड जोडले हाँस्न पो थाल्नुभो । दाजु हाँसेको देखेर म ट्वाल्ल परेँ । मलाई हलुका धाप मार्दै भन्नुभो, 'यो ह्वाङ्सा हो के भाइ ! यो सिजनमा हावामा उडेर आउँछ ।'
मेरो अलमल देखेर उहाँले थप प्रस्ट्याउँदै भन्नुभो, 'चाइनातिरबाट यो सिजनमा पहेँलो धुलो उडेर आउँछ । यसलाई ह्वाङ्सा भनिन्छ । भाइले पनि हँसायो गाँठे !'
त्यसपछि म जिल्ल परेँ । दाइ फेरि भर्याङबाट कोठातिर उक्लनुभयो । धत् ! हो त । पढेकै कुरो त थियो । वसन्त ऋतुमा कोरिया र जापानका भूभागहरूमा चाइना, मंगोलिया र कजाकिस्तानजस्ता देशहरूबाट यल्लो डस्ट उडेर आउँछ भनेर । तर, जिन्दगीमा पढ्नु र भोग्नु अलग कुरा रहेछ । मैले फूलको पातमा टाँसिएको थोरै ह्वाङ्सा धूलो औँलामा दलेर आँखानजिकै लगेर हेरेँ र सोधेँ, 'ए...तिमीहरू पो हौ ह्वाङ्सा भन्ने ?'
भर्खरै नेपाली सिनियर सहकर्मीकै यातना सहन नसकेर एक नेपाली युवाले आत्महत्या गरेको समाचार दक्षिण कोरियाभरि फैलिएको छ । पोहोर साल नेपालीले आफ्नै नेपाली साथीमाथि चक्कु प्रहार गरेको थियो । अब भन, मानिसको सोच र आवेग खतरापूर्ण कि तिमीहरू ?
जब म तिमीहरूका बारेमा सोच्छु, मलाई अर्को एउटा रमाइलो कुराको पनि सम्झना आउँछ । एक दिन एक जना पूर्वतिरको मित्रले तिमीहरू रुखबाट आउने परागका धुलोहरू हौ, ह्वाङ्सास्वाङ्सा केही होइनौ भनेर एकोहोरो जिद्दी गरेको गर्यै गर्नुभो । हामीहरूले होइन तिमीहरू दूर देशबाट आएका पहेँलो धुलो हौ भनेर उनलाई सम्झाउने कोसिस गर्यौँ । तर अहँ, उहाँ पटक्कै मान्नु भएन । उहाँका अनुसार तिमीहरू रूखका फूल तथा पातबाट आएका एक प्रकारको पिग्मेन्ट हौ । जब उहाँलाई हामीले गुगल गरेर देखायौँ, युट्युबमा भिडियोहरू देखायौँ । उहाँले गुगल र युट्युबको कुरालाई समेत आफूले विश्वास नगर्ने भन्दै अडिग हुनुभो ।
हुन त उहाँ बियर पिएर निकै मातिसक्नुभएको थियो । यद्यपि गुगललाई नै नमान्ने भएपछि हामीले पनि बहस बन्द गरिदिएका थियौँ । अर्को दिन बिहानै मित्रले जुरुक्क उठ्नासाथ वरपर हामीलाई हेर्दै बिछ्यौनाबाटै भन्नुभो कि 'होइन हो साथी हो, त्यो चाइनिज धुलो नै रै'छ । मैले मानेँ ।'
त्यसपछि हामी सबै जना रमाइलो मानेर एक हरफ गलल हाँसेका थियौँ ।
तिमीहरू मानिसको स्वास्थ्यका लागि हानिकारक छौ भन्छन् डाक्टरहरू । मलाई लाग्छ– तिमीहरू बिनासित्ती बदनाम भएका छौ । दिनरात बम बारुद बनाइरहेका भट्टीहरू, रक्सी चुरोटका ठूल्ठूला कारखानाहरू अथवा विषादी उत्पादनका फ्याक्ट्रीहरू हानिकारक कि तिमीहरू हानिकारक छौ ? तिमीहरूले त यत्तिकै अपजस पाएका छौ । मानिसले आफ्नो आयु छोटो गर्न यहाँ आफैँ प्रशस्त बन्दोबस्त गरिराखेका छन् । मानव जातिमा जति विष तिमीहरूमा के हुन्थ्यो ? मान्छेजत्तिको खराब चीज तिमीहरू के हुन्थ्यौ ?
तिमीहरू त वर्षमा एक सिजन देखा पर्ने चीज न हौ । वर्षैभरि मान्छेहरू जो नकारात्मकता फैलाउँछन्, के त्यो विषाक्त होइन ? तिमीहरूलाई थाहा छ ? भर्खरै नेपाली सिनियर सहकर्मीकै यातना सहन नसकेर एक नेपाली युवाले आत्महत्या गरेको समाचार दक्षिण कोरियाभरि फैलिएको छ । पोहोर साल नेपालीले आफ्नै नेपाली साथीमाथि चक्कु प्रहार गरेको थियो । अब भन, मानिसको सोच र आवेग खतरापूर्ण कि तिमीहरू ?
अब तिमीहरूको यात्राको थोरै कुरा गरौँ । तिमीहरू जब मरुभूमीकरणबाट ग्रसित उत्तरी चाइनाको सुक्खा बन्जर जमिनबाट उठ्छौ, तब त्यो बेला तिमीहरूको सपना के हुँदो हो ? कहाँ पुग्ने भन्ने हुँदो हो ? तिमीहरू तुफानी बतासको वेगसँगै सोहोरिँदै र ढुनमुनिदै उड्न थाल्छौ । तिमीहरूमध्ये थुप्रै यो उडानमा कतै झाडीहरूमा अल्झिन्छौ त कतै पर्खालहरूमा ठोक्किन्छौ । कोसौँकोसको यो दौडमा तिमीहरू कैयौँपटक एकअर्कासँग भेट्टिन्छौ, छुट्छौ ।
त्यति विशाल चाइनाको सीमा काटेर तिमीहरू उत्तर कोरिया आइपुग्छौ । ठूलो परिमाणमा तिमीहरू उतै रोकिन्छौ । उत्तर कोरियाको सिमाना नाघेर दक्षिण कोरियातिर उड्दै आइपुगेकाहरू राजधानी सियोलमा धेरैभन्दा धेरै अलमलिन्छौ । त्यहाँ कंक्रिटका जंगलहरूबीचमा तिमीहरूको उडानको ठूलो हिस्सा मत्थर हुन जान्छ र जो थोरबहुत बाँकी रहन्छौ, उम्केर म बसेको शहर ह्वासङसम्म आइपुग्छौ । यसरी कुनै एउटा बिहान कुनै एउटा परदेशी उसको आँगनभरि सल्फर पाउडर हो कि भनेर झुक्किन पुग्छ । तसर्थ तिमीहरू यति लामो दौड जितेर मसम्म आइपुगेका छौ भने म तिमीहरूको स्वागत किन नगरूँ ?
संसारमा यात्रा रोकियो भने के हुन्छ ? तिमीहरूले बोकेको कथाको मूल मर्म के हुन्छ ? तिमीहरूको सन्देश के हुन्छ ? के जिन्दगी एक कण, एक धूलो हो ? कि जिन्दगी एक योजनाविहीन यात्रा हो ? के जिन्दगी एक स्थानमा बन्नु र अर्को स्थानमा भत्किनु हो ? तिमीहरूभित्र म जिन्दगीका अनेक छाया प्रश्नहरू खोज्ने गर्छु ।
अन्त्यमा यदि यो वसन्तमा म छुट्टी गएँ भने हाम्रो भेट नहुन पनि सक्छ । त्यसैले तिमीहरू समयमै आइपुग्नू । फेरि पनि मेरो कोठाको झ्याल खुल्लै छ । झ्यालबाट देखिने आरुका बोटहरू पनि आँगनमै छन् । म बेलाबेला चियाउँदै गर्नेछु । आऊ ! बेस्सरी थाकेर जो आइपुगेका छौ, थोरै आरूका बोटहरूमा बिसाऊ, थोरै मेरो झ्यालको खापामा सुस्ताऊ, थोरै सल्लाका पातहरूमा निदाऊ । बरू भन, के तिमीहरू उताबाट बाटो लागिसक्यौ त ?
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ ०८:०२