नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई अहिले राजा भन्ने गरेकोमा आपत्ति जनाएका छन् । नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्रलाई ‘राजा’ भन्नु गैरसंवैधानिक भएको बताएका छन् ।
राप्रपा सांसदहरूले संसदमा ज्ञानेन्द्रलाई राजा भन्ने गरेको प्रति लक्षित गर्दै उनले भने, ‘कसैकसैले अहिले ज्ञानेन्द्रलाई राजा पनि भनिरहेका छन् । यो संवैधानिक रूपमा भन्न मिल्ने होइन, गैरसंवैधानिक कुरा हो । पूर्वराजा भन्न सकिएला । त्यो पनि अवैध तरिकाले राजा भएका न हुन् ।’
राजाको सन्तान फेरि राजा हुने वंशीय शासन नेपालमा मात्रै नभएर दुनियाँमा कहीँ नटिकेको बताए । त्यही भएर राजतन्त्र फेरि फर्केर आउँछ भन्नु मसानघाटमा मान्छेलाई सेलाएर दाह संस्कार गरेर फर्केपछि फेरि त्यो मान्छे पछिपछि आयो भन्नुजस्तै भएको बताए ।
उनले शिलापत्रको कार्यक्रम द प्वाइन्ट अफ भ्युमा भने, ‘क्रान्ति र संघर्षबाटै राजतन्त्रको दाहसंस्कार भइसक्यो ।’
इतिहासको पाङ्ग्रा कहिल्यै घुमेर नआउने भन्दै राजतन्त्र पनि इतिहास भएकाले फेरि नफर्किने बताए । तर, गणतन्त्रवादीहरू भने सच्चिनुको विकल्प नभएको बताए ।
‘गणतन्त्रमा पनि कुशासन हुने, बेरोजगारी हुने, भ्रष्टाचार बढ्ने, जहीँतहीँ घुस बुझाउनुपर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हुनेजस्ता कुराले जनता आक्रोशित छन्,’ उनले भने, ‘यस्तो हुँदा प्रश्न उठेको छ । त्यही भएर गणतन्त्रवादी पनि सच्चिनुपर्छ । यो अवसर हो ।’
उनले राजतन्त्र गणतन्त्रको विकल्प कहिल्यै हुन नसक्ने पनि बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ २१:३९