रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएपछि कुर्स्कमा पुटिनको यो पहिलाे भ्रमण हो । अमेरिकासँग भएको वार्तामा युक्रेन एकमहिने युद्धविरामका लागि सहमत भएसँगै पुटिनले युद्धग्रस्त कुर्स्कको अप्रत्याशित भ्रमण गरेका हुन् । उनी सैन्य पोशाकमा देखिएका छन् ।
रुसका प्रमुख जनरल स्टाफले यस क्षेत्रको १ हजार १ सय वर्ग किलोमिटर भूमि युक्रेनी कब्जाबाट मुक्त भएको बताएका छन् । रुसी मिडियाका अनुसार भ्रमणका क्रममा पुटिनले आफ्नो सेनालाई कुर्स्क क्षेत्रलाई 'पूर्ण रूपमा मुक्त' गर्न आग्रह गरेका छन् ।
युक्रेनले अगस्ट २०२४ मा रुसको कुर्स्क क्षेत्र कब्जा गरेको थियो । त्यसपछि रुसले त्यहाँबाट हजारौँ मानिसलाई बाहिर निकालेको थियो ।
हालै रुसले कुर्स्क क्षेत्रमा आफ्नो भूमि फिर्ता लिइरहेका रिपोर्टहरू बाहिर आएका छन् । पुटिनले कुर्स्कबाट युक्रेनी सेनालाई धपाउने रुसको अभियान अन्तिम चरणमा प्रवेश गरेको रुसको सरकारी समाचार संस्था तासले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १६:०७