रुस-युक्रेन युद्धमा अमेरिकाको पछिल्लो भूमिकालाई लिएर आलोचना भइरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो निकटतालाई लिएर उनी आलोचनाको केन्द्रमा छन् ।
कतिपय अमेरिकी विश्लेषकहरू अमेरिकालाई रुससँग खतरा रहेको र रुससँग सतर्क रहन आवश्यक रहेको बताउँछन् । तर, यसमा ट्रम्पको भने फरक मत छ । उनी अमेरिकाका लागि रुस र पुटिनभन्दा बढी खतरा प्रवासीहरूको घुसपैठलाई मान्छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘हामीले पुटिनका बारेमा भन्दा हाम्रो देशमा घुस्ने आप्रवासी, आपराधिक गिरोह, ड्रग माफियालगायतका व्यक्तिबारे बढी चिन्ता गर्नु आवश्यक छ ।’
उनले यसलाई अमेरिका दोस्रो युरोप हुनबाट जोगाउने उपाय भएकोसमेत दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनको अभियानदेखि नै आफू राष्ट्रपति भए रुस-युक्रेन युद्ध अन्त्य गर्ने बाचा गरेका ट्रम्पले रुससँग वार्ता गर्न युक्रेनमाथि दबाब बढाइरहेका छन् । उनले जो बाइडेनको ठाउँमा आफू राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध नै हुँदैन थियो भन्ने गरेका छन् ।
ह्वाइट हाउसमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि मिडियाका सामुन्ने गरेको व्यवहारको पनि आलोचना भइरहेको छ । ट्रम्पसँग विवाद गरेर लण्डन पुगेका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युरोपले गरेको न्यानो स्वागतका कारण ठूलो राहतको महसुस गरेका छन् ।
यद्यपि, युरोप र युक्रेन दुवै रुसलाई रोक्न अमेरिकी सहयोगलाई अपरिहार्य रहेकोमा सहमत छन् । त्यसैले युरोपेली नेताहरूले युक्रेनसँग मिलेर शान्तिका लागि बनाएको प्रस्ताव अमेरिकासमक्ष प्रस्तुत गर्ने बताउँदै आएका छन् ।
तर, जेलेन्स्कीसँग सम्बन्ध चिसिएको अवस्थामा ट्रम्पले युरोपको प्रस्ताव स्वीकार गर्ने या नगर्ने निश्चित छैन । गत शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा भएको कडा विवादपछि चिसिएको सम्बन्धमा जेलेन्स्कीको पछिल्लो अभिव्यक्ति र त्यसमा ट्रम्पको प्रतिक्रियाले सम्बन्ध थप चिसिएको देखाउँछ ।
जेलेन्स्कीले युद्ध समाप्त हुन अझै केही समय लाग्ने बताएका थिए । उनले अमेरिकी सहयोगबारेमा पनि प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, 'मलाई लाग्छ अमेरिकासँग हाम्रो सम्बन्ध जारी रहन्छ । किनकि यो कहिलेकाहीँ हुने सम्बन्धभन्दा बढी छ ।’
जवाफमा ट्रम्पले भने सबैभन्दा खराब अभिव्यक्ति भएको भन्दै जेलेन्स्कीको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘म यही कुरा भनिरहेको थिएँ । अमेरिकाको समर्थन पाउन्जेलसम्म शान्तिको पक्षमा उभिने छैनन् ।’
चिसिँदो सम्बन्धकै कारण अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । ब्लुमबर्गका अनुसार युक्रेन नपुगेका सबै सैन्य सहायता पनि रोकिनेछन् । ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘जबसम्म युक्रेनका नेताहरूले शान्तिका लागि सद्भावनापूर्ण प्रतिबद्धता प्रदर्शन गर्दैनन् तबसम्म अमेरिकाले युक्रेनमा दिइँदै आएको सबै सैन्य सहायता रोक्नेछ ।’
यद्यपि, ब्लुमबर्गको यो रिपोर्टबारे अमेरिकी रक्षा विभागले कुनै प्रतिक्रिया भने दिइसकेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस विषयमा कुनै प्रतिक्रिया दिइनसकेको बीबीसीले जनाएको छ ।
ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपति बाइडेनको युक्रेनलाई सहयोग गर्ने निर्णयलाई मुर्खतापूर्ण भनेका छन् । ट्रम्पले भनेका छन्, ‘बाइडेनले मुर्खतापूर्ण निर्णय गर्दै एक देशलाई लड्नका लागि ३५० बिलयन डलर दिए, यसको बदलामा अमेरिकाले केही पनि पाएन । हामी ३५० बिलियन डलरले अमेरिकी नौसेनाको पुनर्निर्माण गर्न सक्ने थियौँ ।’
युक्रेनलाई युरोपले भन्दा अमेरिकाले निकै बढी सहयोग गरेको उल्लेख गर्दै ट्रम्पले त्यसका लागि जेलेन्स्की अमेरिकासँग आभारी हुनुपर्ने बताएका छन् । अमेरिका र युरोपले युक्रेनमा बराबर सहायता गर्नुपर्नेमा युरोपले निकै कम सहयोग गरेको र त्यो पनि ऋणका रूपमा दिएको भन्दै ट्रम्पले बाइडेनभन्दा युरोप निकै चलाख रहेको बताए ।
ट्रम्पले युरोपले रुससँगको व्यापार नरोकेको भन्दै युरोपले युक्रेनको रक्षाका लागि गरेको खर्चभन्दा बढी पैसा रुसी तेल तथा ग्यास किन्न खर्चिएको आरोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १३:४३