सामाजिक सञ्जाल कम्पनी मेटाले सन् २०२४ मा आफ्नो बग बाउन्टी कार्यक्रममा विश्वभरका अनुसन्धानकर्तालाई २.३ मिलियन डलरभन्दा बढी पुरस्कार प्रदान गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, बग बाउन्टीमार्फत पुरस्कार जित्ने शीर्ष तीन देशमा नेपाल परेको छ ।
मेटाले सन् २०११ देखि बग बाउन्टी कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत अहिलेसम्म अनुसन्धानकर्तालाई २० मिलियन डलरभन्दा बढी पुरस्कार दिइसकेको छ । सन् २०२४ मा मात्रै मेटाले करिब १०,००० बग रिपोर्ट प्राप्त गरेको थियो, जसमध्ये ६०० रिपोर्टहरू वैध ठहरिएका थिए ।
यसरी सन् २०२४ मा बग बाउन्टीमार्फत पुरस्कार पाउनेमा भारत, नेपाल र अमेरिका शीर्ष तीन देशको सूचीमा परेका छन् । नेपालका साइबर सुरक्षासम्बन्धी अनुसन्धानकर्ताले मेटाका विभिन्न प्लेटफर्महरूमा कमजोरी पहिचान गरी कम्पनीलाई जानकारी गराएका थिए ।
कम्पनीका अनुसार समग्रमा २०२४ मा ४५ भन्दा बढी देशका करिब २०० अनुसन्धानकर्ताले मेटाबाट पुरस्कार प्राप्त गरेका छन् । मेटाले जेनेरेटिभ एआई, एआर भीआर, एड्भर्टाइजिङ टुललगायतका क्षेत्रमा सुरक्षा अनुसन्धानकर्तासँग सहकार्य गरिरहेको छ ।
त्यसका साथै मेटाले आफ्नो वार्षिक बग बाउन्टी समिट तथा अन्य उद्योगसम्बन्धी कार्यक्रमहरूमा सुरक्षा अनुसन्धानकर्ताहरूको योगदानलाई सम्मान गर्दै आएको छ । कम्पनीले सन् २०२५ का लागि पनि अनुसन्धानकर्ताहरूसँगको सहकार्यलाई जारी राख्ने जनाएको छ ।
बग बाउन्टी एउटा यस्तो कार्यक्रम हो, जहाँ कम्पनीहरूले आफ्नो सिस्टममा कमजोरी (बग) पत्ता लगाउने व्यक्ति (अनुसन्धानकर्ता)लाई इनाम दिन्छन् । यसले कम्पनीलाई सुरक्षा राम्रो बनाउन मद्दत पुर्याउने विश्वास उनीहरूको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१ १५:१८