म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पूर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से ब्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवतजावत गर्ने पदमार्गको मुख्य नाका हो ।
यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सुर्यास्तको दृष्य अवलोकन गर्न सकिने धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । विशाल फाँट रहेको रुघाचौरको खर्कमा बर्खा याममा धवलागिरि गाउँपालिकाको मुना, दर, लुलाङ, लमसुङ र खोरीयाका बासिन्दाले गाईभैसी र भेडाबाख्राको गोठ लैजान्छन् । अन्य समय रुघाचौर सुनसान हुन्छ ।
'परापूर्वकालमा गोठालाहरूले ढोरपाटन–रुघाचौर–गुर्जा आउजाउ गर्न प्रयोग गरेको बाटो पहिचान गरेर गुर्जादेखि रुघाचौरसम्म पदमार्ग पनि बनाएका छौँ,' उनले भने, 'ढोरपाटन आउने पर्यटकलाई रुघाचौरको बाटो भएर गुर्जा ल्याउन र गुर्जा आउने पर्यटकलाई ढोरपाटन लैजाने योजनाका लागि पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ खोजेका छौँ ।'
रुघाचौर क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान पनि भएको वडा अध्यक्ष छन्त्यालले बताए । गुर्जादेखि चार घण्टा पैदलयात्रा गरेपछि रुघाचौर पुगिन्छ । रुघाचौरमा होटल र रेष्टुरेन्ट छैन । खानेपानीको अभाव छ ।
गुर्जादेखि रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन घुमेर फर्किएका धवलागिरी गाउँपालिका–७, धारापानीका आस्विन खत्रीले रुघाचौर प्राकृतिक सौन्दर्यको खानी भएको बताए । आँखैअगाडि देखिने हिमाल, खर्कमा भेटिने वन्यजन्तु, पन्छीहरू अवलोकन गर्न पाउँदा दंग परेको उनले बताए ।
रुघाचौरमा अस्थायी भए पनि खानेबस्ने सुविधा र पदमार्गमा चिह्न बनाउनुपर्ने खत्रीले बताए । रुघाचौरलाई ‘भर्जिन’ गन्तव्य बनाउन सकिने सम्भावना छ । रुघाचौरलाई ढोरपाटनको सहायक गन्तव्यका रूपमा विकास गर्नुपर्ने वडाध्यक्ष छन्त्यालले बताए ।
गुर्जाको दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा १५ लाख रुपैयाँ बजेटबाट तीन किलोमिटर ६ सय मिटर पदमार्ग निर्माण गरिएको पनि उनले बताए । यो पदमार्ग भएर गुर्जा र ढोरपाटनको गुर्जाघाट एकै दिनमा पुग्न सकिन्छ । हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र वन्यजन्तु यो पदमार्गको आकर्षण हो । रासस
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १३:०७