दिपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच संचारकर्मी समिरको पहिलो साहित्यिक कृति ‘मुना मदनको डिभोर्स पार्टी’ को लोकार्पण गरिएको हो ।

साहित्यकार तथा नेपाल टेलिभिजनका पूर्वमहापब्रन्धक फूलमान वल तामाङले ‘मुना मदनको डिभोर्स पार्टी’को लोकार्पण समारोहमा बिगतको समाजमा अड्किरहेको वर्तमान नेपाली साहित्यको अवस्था रहेकोमा ‘मुना मदनको डिभोर्स पार्टी’ले आजका पुस्ताका लागि समाजको हिजो, आज र भोलिसमेत एक साथ पस्किएको बताए ।
आफूले समिरको लेखकीयमा समकालीन साहित्यको अति यथार्थवाद र स्वकल्पनशैली भेटेको तामाङको भनाइ थियो । आजको समाजका बिसंगत पाटालाई ‘मुना मदनको डिभोर्स पार्टी’ काे मुल कथाले बोलेको र समिर कुमार नगरकोटीको क्लासका लेखक रहेको उनको भनाइ थियो ।
‘हाम्रो समाज सबैभन्दा ठूलो बिखण्डन र बिसंगतको चपेटामा छ । हाम्रो समाज र परिवारको बिखण्डन आज हाम्रो सबैभन्दा ठूलो चिन्ता र चासोको बिसय हो,’ तामाङले थपे, ‘तर त्यसको दोस न हाम्रो समाजको हो, न त हाम्रो । आजको खुल्ला अर्थतन्त्र नै हाम्रो समाजको बिखण्डनको मुल कारक हो ।’
‘मुना मदनको डिभोर्स पार्टी’ को संग्रहित कथा ‘बलत्कारीलाई चिठ्ठीले पाठकलाई फरक ढङ्गले सोच्न बाध्य बनाउने उनको भनाइ थियो ।
तामाङले लेखकका हरेक कथामा कथानक विषयको कमी रहेता पनि कथाको उत्प्रेरक शैली लेखकको सबैभन्दा सबल पक्ष रहेको बताए ।
‘मुना मदनको डिभोर्स पार्टी’ पढ्दै गर्दा लेखकको शब्दसँग नभएर व्यक्तिको व्यवहारसँग हाम्रो आपत्ति हुनुपर्ने आभास भएको लेखक तथा समालोचक डा. गीता त्रिपाठीले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दे त्रिपाठीले स्वकल्पना बिना पनि कथा लेख्न सकिए पनि स्वकल्पनाले कथालाई कसरी आकर्षक र पठनीय बनाउँछ भन्ने कुरा ‘मुना मदनको डिभोर्स पार्टी’ ले बुझाएको बताइन्।
उनले ‘मुना मदनको डिभोर्स पार्टी’ मा रहेका सबै जसो कथाले हाम्रो समाजमा विध्यमान समस्या र बिकृति खुल्ला अर्थतन्त्र र बजारीकरण निम्त्याएको र त्यससँग कसरी जुध्ने भन्ने विषय समिरका कथाले उठान गरेको त्रिपाठीको भनाइ थियो।
‘मुना मदनको डिभोर्स पार्टी’ मा संग्रहित १४ वटा कथा पढ्दै गर्दा आख्यान कति हो र यथार्थ कति हो भनेर छुट्याउनै मुस्किल हुने भएकाले पनि यो संग्रह पढेपछि आफूलाई लेखकप्रति गर्व महसुस भएको उनको धाराणा थियो ।
‘एकरात प्रेतसँग’ मार्फत लेखक क्षणभरमै नेदरल्याड्स पुगेको प्रशंग स्मरण गर्दै उनले हाम्रो संस्कृति र पश्चिमा समाजको संस्कृतिबीचको फरक बुझ्न पाठकका लागि यो पुस्तक सहयोगी बन्न सक्ने उनले बताइन् ।
‘मुना मदनको डिभोर्स पार्टी’ पाठक सामु ल्याउनुअघि आफू धेरै डराएको र अन्तिममा रिक्स लिएरै सो पुस्तक पाठकसामु लिएर आएको लेखक दिपक समिरले बताए । पहिलो पुस्तक भएकाले ‘मुना मदनको डिभोर्स पार्टी’ मा भएका गल्तिप्रति माफी माग्ने छुट आफूसँग रहेको उनको भनाइ थियो ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै समिरले भने, ‘मुना मदनको डिभोर्स पार्टी’ भन्दा ब्यापक आलोचना हुन्छ भन्ने डर थियो । तर कथा वस्तुमा पस्किन खोजेको विषयका कारण धेरैले आँट गर्न हौसला दिएका कारण मैले यो पुस्तक पाठक सामु पस्किएको हुँ ।’
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ २०:१६