धनुषामा श्रीमान्ले लौरौ प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–५ उमाप्रेमपुरका ३३ वर्षीय देवलाल ठाकुरले २९ वर्षीया श्रीमती संगिता ठाकुरको हत्या गरेका हुन् ।
श्रीमान्–श्रीमतीबीच सामान्य विवाद सुरु भएपछि देवलालले आक्रोशमा आएर संगिताको टाउकोमा लौरो प्रहार गरेको बताइएको छ । लौरो प्रहारबाट संगीताको गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बरुण सिंहले जानकारी दिए ।
धनुषाधाम प्रहरी घटनास्थलमा पुगेर देवलाल ठाकुरलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अगाडि बढाएको उनले बताए । मृतकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ २०:०३