कहिलेकाहीँ सडकमा निस्किन्छु
यदाकदा छोराछोरीका साथमा निस्किन्छु
यदाकदा आमाको साथमा निस्किन्छु
जता पनि धुलो छ
जहाँ पनि धुवाँ छ
र, सडकमा निस्किँदा धुलो र धुवाँसँग डराइडराइ निस्किन्छु ।
बाहिर निस्किँदा गोजीमा पैसा नभए पनि हुन्छ
एटीएम भए हुन्छ
क्यूआर कोड चलाए हुन्छ
बाहिर निस्किँदा गोजीले मोबाइल त खोज्छ
मोबाइल हुँदा धेरै सजिलो हुन्छ
तर ‘मोबाइल नभई पाइलै सर्दैन’ भन्ने हुँदैन
मोबाइल नभए पनि हुन्छ
अचेल बाहिर निस्किँदा
मास्क भने चाहिन्छ
मास्क नभए पनि काम चल्छजस्तो लाग्दैन
मास्कको विकल्प छजस्तो पनि लाग्दैन ।
पहिले सडकमा धुलो उड्दा
नाक थुनिन्थ्यो
छेउ लागिन्थ्यो
सबैभन्दा ठूलो सुरक्षा
मनमा उम्रिनुपर्ने रहेछ
अहिले बोक्ने मास्क पनि कुन गतिलो होला र !
उही धुलो उड्यो भनेर नाक थुनेर मुखले सास लिएजस्तै त होला !
तर मास्क छ भने ढुक्क हुन्छ
केही न केही छेकिएको छ भन्ने हुन्छ ।
अचेल बाहिर निस्किँदा
नबिर्सिने कुरा भएको छ– मास्क
अचेल बाहिर निस्किँदा
आमाको नाकमा मास्क छ कि छैन; हेर्छु
छोराछोरीले मास्क बोके कि बोकेनन्; ख्याल गर्छु
मास्क नलगाई सडकमा निस्फिक्री हिँडेका
मान्छेको आँट देख्दा जिब्रो टोक्छु
धुलो र धुवाँको मुख्य उत्पादकमाथि
मानिसहरूलाई झोँक नचलेकोमा छक्क पर्छु ।
अचेल बाहिर निस्किँदा
सडकछेउमा उभिइरहेका घरहरूलाई हेर्छु
त्यहाँ केटाकेटी होलान्
वयष्क होलान्
बुढाबुढी होलान्
सुत्केरी होलान्
दमका बिरामी होलान्
अचेल बाहिर निस्किँदा
यी घरहरूलाई ‘तिमीलाई मास्क चाहिँदैन ?’ भनेर सोधौँसोधौँ लाग्छ
अचेल बाहिर निस्किँदा
सडकछेउको मिठाई पसललाई ‘तिम्रो मास्क खोइ ?’ भनेर
सोध्न मन लाग्छ ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १०:०६