१५ मंसिरबाट २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा संयुक्त रूपमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबल स्पर्धामा भारत सहभागी नहुने भएको छ ।
भारतीय ओलम्पिक कमिटीले अन्तिम समयमा आएर साग पुरुष फुटबलमा सहभागीता नजनाउने जानकारी दिएको छ । प्रतियोगिताको फिक्स्चर नै सार्वजनिक भइसकेको अवस्थामा भारतले सहभागी नहुने निर्णय गरेको हो । भारतले फुटबलको महिला स्पर्धामा भने सहभागिता जनाउनेछ ।
भारत साग फुटबलको सर्वाधिक सफल टिम हो । पुरुष फुटबलमा भारत श्रीलंका र माल्दिभ्ससँगै समूह ‘बी’मा थियो । समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश रहेका छन् ।
भारत सहभागी नहुने भएपछि अब पुरुष फुटबलमा ५ टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानले यसअघि नै फुटबलमा सहभागी नहुने घोषणा गरिसकेकाले ५ टिमबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । फुटबल १५ देखि २४ मंसिरसम्म दशरथ रंगशालामा आयोजना हुनेछ ।
साग फुटबल फिफाको क्यालेन्डरमा नभएकाले सहभागिता जनाउन नसकिएको भारतीय फुटबल महासंघले जनाएको छ । घरेलु फुटबलमा व्यस्त तालिका रहेकाले खेलाडी उपलब्ध नहुँदा भारतले फुटबलमा सहभागी नहुने निर्णय गरेको हो ।
अहिले भारतमा इन्डियन सुपर लिग चलिरहेको छ भने ३० डिसेम्बरबाट आई लिगपनि सुरु हुँदैछ । लिगका कारण क्लबले खेलाडी नछाड्दा भारत साग फुटबलमा सहभागी हुन नसकेको हो ।
साग फुटबल फिफाको क्यालेन्डरमा नरहेकाले क्लबलाई खेलाडी उपलब्ध गराउने बाध्यता हुँदैन । फिफाको क्यालेन्डरमा उल्लेखित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मात्र क्लबलाई खेलाडी उपलब्ध गराउनुपर्ने बाध्यता हुन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६ १६:१३