म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा बुधबार पुर्ख्यौली नाच प्रतियोगिता गरिएको हो ।
विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका– ३ को मुना पुर्ख्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका– ८ को काफलडाँडा पुर्ख्यौली समूह द्वितीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेतालाई नगद ३५ हजार १ सय र उपविजेतालाई नगद २० हजार १ सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा सहभागी बिम पुर्ख्यौली समूह, ओखोरबोट पुर्ख्यौली समूह, निस्कोट पुर्ख्यौली समूह, पाखापानी पुर्ख्यौली समूह, चिमखोला पुर्ख्यौली समूह र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको पुर्ख्यौली समूहलाई ८ हजारको दरले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।
लोक संस्कृतिको उर्वर भूमिका रुपमा परिचित म्याग्दीमा केही वर्षअघिसम्म प्रत्यक्ष दोहोरी ओझेलमा पर्दै आए पनि यसपटकको महोत्सवमा भने सहभागीको सङ्ख्या बढेको छ भने लोकदोहोरीको रौनक बढेको छ । महोत्सवमा विभिन्न १६ समूहले प्रत्यक्ष लोकदोहोरी प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्लाभित्रका साथै बाहिरबाट समेत प्रत्यक्ष दोहोरीका लागि कलाकारको समूह महोत्सवमा आइपुगेका छन् । पुरानो संस्कृतिको रूपमा रहेको प्रत्यक्ष दोहोरीले महोत्सवमा आउने दर्शकको आकर्षण बढाएको छ । प्रत्यक्ष दोहोरीमा कलाकारको घम्साघम्सीले बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाको ध्यान तानेको छ ।
परम्परागत मेला जात्राको मुख्य मनोरञ्जनको माध्यम बनेको प्रत्यक्ष दोहोरीलाई जोगाउन र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताए । 'लोकदोहोरी गीत प्रतियोगिता महोत्सवकै मुख्य प्रतियोगिताको रुपमा रहेको छ । आयोजकले कलाकारलाई खाली हात फर्कन नपर्ने गरी पुरस्कारको व्यवस्था गरेका कारण पनि टाढाटाढाबाट सहभागी हुन कलाकार आउनुभएको छ,' उनले भने ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख १ हजार १ सय, द्वितीय हुनेलाई नगद ६१ हजार १ सय, तृतीय हुनेलाई नगद ३० हजार १ सय र सान्त्वना हुनेलाई नगद १५ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी, गायक/गायिकालाई नगद २ हजार ५ सय नगद पुरस्कारका साथै कलाकारलाई भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएका छन् । चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलाई समावेश गरिएको महोत्सवमा भजन, रत्यौलीलगायतका प्रतियोगिता पनि समावेश गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ ०९:५७