पछिल्लो समय काठमाडाैंमा रहेको किङ्ग्स कलेजले ‘सामाजिक नवप्रवर्तन फेलोसिप–२०२५’ सञ्चालन गरिरहेको छ । हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने उद्देश्य बोकेर कलेजले अभियान सुरु गरेको हो। सिन्धुपाल्चोकको हेलम्बु, काभ्रेको पाँचखाल र धनुषाको जनकपुरमा हुने यो कार्यक्रममा विद्यार्थीले क्रमिक रूपमा तीन स्थानमा दुई–दुई हप्ता बिताउनेछन् । प्रत्येक स्थानमा विद्यार्थीहरूले स्थानीय मौलिकता र भौगोलिक विशेषतालाई आधार बनाएर सूचना प्रविधि, उद्यमशीलता र समाजशास्त्र विषयको अध्ययन गर्नेछन् । र, कार्यक्रमको अन्तिम सत्रको प्रस्तुति काठमाडौंमा गरिनेछ । झट्ट सुन्दा नौलो र नेपालको शिक्षा प्रणालीमा देखिएको भन्दा पृथक शैलीको यो अभियान खासमा के हो त ? शिलापत्रकर्मी काैशल काफ्लेले किङ्ग्स कलेजका प्रेसिडेन्ट तथा शिक्षाविद् नरोत्तम अर्यालसँग कुरा गरेका छन् । प्रस्तुत छ, अर्यालसँगको कुराकानीको सम्पादित अंश ।
तपाईंलाई जता सुन्छौँ, भेट्छौँ, शिक्षाकै चिन्ता लिइरहेको देख्छौँ । शिक्षण पेसामा लामो समयदेखि कार्यरत नै हुनुहुन्छ । शिक्षा क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
ठ्याक्कै २५ वर्षजति भयो, शिक्षा क्षेत्रमा काम गरेको । त्रिभुवन विश्वविद्यालयमा पढ्दापढ्दै पढाउन थालेँ । त्यसपछि म नर्वे पढ्न गएँ । पढाउनको सट्टा २ वर्ष कर्पोरेट क्षेत्रमा काम पनि गरेँ । त्यसपछि किंग्स कलेजसँग आबद्ध भएर काम गर्न थालेको हुँ ।
पहिला शिक्षामै आउँछु, यही क्षेत्रमा केही गर्छु भनेर आएको हैन । पढाउँदा पढाउँदै सबैले पढाउन नै उत्प्रेरित गर्नुभयो, म पनि उत्साहित भइरहेँ, उत्प्रेरित भइरहेँ । त्यसरी काम गर्दै जाँदा नेपालको शिक्षामा न्याय भइरहेको छैन भनेर महसुस भयो । नेपालमा शिक्षालाई हेर्ने नजर कस्तो छ भनेर हेर्यौं भने– पब्लिक संस्था यस्तो छ, जहाँ राजनीतिक ट्रयापले गाँजेको छ । अर्कोखाले, निजीक्षेत्र यस्तो छ, जहाँ कमर्सियल ट्रयाप छ । यी दुवैमा समस्या छ भनेपछि यसको समाधानमा केही गरौँ भन्ने रहर हामीलाई पनि लाग्यो ।
अर्कोतर्फ, नेपालमा नभइरहेको ९९ प्रतिशत हेरेर फ्रस्टेट हुने कि भएको एक प्रतिशत हेरेर, यहाँ केही गर्न सकिन्छ भनेर उत्साही हुने भन्ने प्रश्न पनि रह्यो । त्यसकारण म चाहिँ भएको एक प्रतिशत हेरेर उत्साही हुनुपर्छ भन्ने ठान्छु । अनि,व्यक्तिगत रूपमा सुरेशराज शर्माबाट प्रभावित छु । किनभने उहाँ एक जनाले सोच्दाखेरी त्यत्रो काठमाडौं विश्वविद्यालय बन्यो । त्यसैगरी हामी पनि शिक्षा क्षेत्रमा केही त इँटा थपौँ भन्ने लाग्यो । र, निरन्तर सक्रिय छु ।
त्यसैको प्रतिफल हो, कम्युनिभर्सिटीको अवधारणा ? खासमा यो भनेको के हो ?
लाइब्रेरीमा किताब छन्, ती किताब कसैले लेखिदिएका छन् । त्यो पनि कोही बाहिरका लेखकले लेखिदिनुभयो । जसमा के लेखिएको छ भन्ने थाहा पाएर म विद्वान भएँ (शिक्षकको रूपमा), अब मैले त्यही कुरा लगेर कक्षामा भन्छु । विद्यार्थीले पनि मैले भनेको सुनेर वा किताबकै पढेर परीक्षामा लेख्यो । र, राम्रो ग्रेड ल्याएर उत्तीर्ण भयो । नेपालमा हामीले शिक्षालाई यसरी लिएका छौँ । त्यसको सबैभन्दा ठूलो समस्या हाम्रो समाजसँग कुनै लेनादेना भएन ।
यसले के देखाउँछ भने, हाम्रो समाज एकातिर छ, वास्तविकता अर्कातिर छ । स्रोत, साधन, चुनौती, समस्या एकातिर, हाम्रो पढाइ अर्कातिर भयो । जसले न ‘थिङ्किङ’लाई बनायो, न ‘डुइङ’लाई बनायो । केबल पढ्ने र लेख्नेमै सीमित गरायो । यसले हाम्रो शिक्षण सिकाइ नै पूर्ण हुन सकेन । यसबाट विद्यार्थीले न व्यावहारिक अनुभव लिन पायो, न पढेका कुरा कतै अभ्यास गर्न पायो । जस्तो, उद्यमशीलता पढेर मात्र भएन नि, उद्यमशीलता गर्नु पनि पर्यो ।
यिनै कुराको अभाव महसुस भएपछि हामीले ‘कम्युनिटी’ र ‘युनिभर्सिटी’सँगै आउनुपर्यो भनेको हो । त्यसैले ‘कम्युनिभर्सिटी’को अवधारणामा अहिले काम गरिरहेका छौँ ।
हाम्रो पुर्खादेखिको वास्तुकला, औषधि, प्रविधिजस्ता विभिन्न क्षेत्रमा गरेका विभिन्न कामहरू छन् । तर, यसबारे हामीले आजसम्म सिक्न सकेनौँ, किनभने यो पाठ्यक्रममै आएन, चाहे पाटनको दरबार होस् या काठमाडौंको हिटी प्रणाली । कसरी त्यसबेला यस्तो राम्रो काम भयो भनेर हाम्रोमा पढाइ नै भएन । मिडियातिर आए पनि खरर् जान्नलाई पढ्यौँ, तर शिक्षा प्रणालीभित्र चाहिँ यस्ता कुरालाई कहिले पनि रेकोग्नाइज गरेनौँ । त्यसैले पहिला त यी सबै कुरा जान्नुपर्छ, अनि मात्र हामीले हाम्रो समाज बुझ्न सक्छौँ । समाधानका उपायबारे सोच्न सक्छौँ । तर, हामीले न हाम्रै सामाजिक बस्तुस्थितिबारे सिक्न सक्यौँ, न यता सिकेको भनेका कुराले हाम्रो सामाजिक आर्थिक परिवर्तनमा सघाउ पुर्यायो । जब बागमतीको प्लास्टिक नकुहिएर त्यहीँ नै छ भने हाम्रो माइक्रोबायोलोजी वा बायोटेक्नोलोजी पढेको काम नै भएन । त्यस्तै, वातावरण विज्ञान जति नै पढे पनि काठमाडौंको हावा सुध्रिएन भने के फाइदा ?
त्यसैले अबको समयमा कम्युनिटी(समाज) र युनिभर्सिटी (विश्वविद्यालय) ले हातेमालो गरेर काम गर्नुपर्छ भन्ने लाग्छ । समाजबाट पनि सिक्नुपर्यो, विश्वविद्यालयमा सिकेका कुराले समाजलाई फाइदा पुग्नुपर्यो । कम्युनिभर्सिटीको खास अवधारणा नै यही हो ।
यसको सुरुवात कसरी भयो ?
यो अवधारणामा काम गर्ने भइसकेपछि, सुरुमा त कुनै कम्युनिटी अर्थात् समुदाय चहियो । विभिन्न विकल्पबारे सोच्दा काठमाडौंबाट नजिक अनि शान्त ठाउँ भनेर काभ्रेको पाँचखाललाई रोज्यौँ । यो चार वर्षअघिको कुरा हो ।
त्यसपछि पाँचखाल नगरपालिकासँगको सहकार्यमा हामीले यो अवधारणालाई अगाडि बढाउन थाल्यौँ । हाम्रो पहिलो कार्यक्रमचाहिँ दुई महिने ‘बर्षे कार्यक्रम’ भनेर सुरु गर्याैँ । पाँचखालबाट सात जना विद्यार्थी र बाहिरबाट १२ जना विद्यार्थी गरेर १९ जना विद्यार्थीबाट सुरु गर्याैँ । त्यतिबेला पनि तीनवटा कोर्स उद्यमशीलता, तथ्यांक विज्ञान र सामाज विज्ञान पर्थ्यो ।
हाम्रोमा समस्या मल्टीडीसीप्लिनरी हुन्छ, विषय चाहिँ ‘युनिडीसीप्लिनरी’ पढ्छौँ । तर, यसलाई चाहिँ हामीले ‘प्रोजेक्ट बेस्ड’ वा ‘प्रब्लम बेस्ड’ सिकाइ भन्छौँ । कुनै एउटा समस्या समायो, अनि त्यसको आधारमा विभिन्न सिद्धान्तमा टेकेर पढायो । यसले हामीलाई समाधानमुखी बाटोमा लैजान्छ ।
पाँचखालमा एउटा खानेपानीको समस्या थियो । अर्को, किटनाशक विषादीको अत्याधिक प्रयोगको समस्या रहेछ । यसको समाधान गर्ने उपाय के होला ? भनेर सुरुमा हामीले अनुसन्धान गर्छौं । यो गर्दैगर्दा विद्यार्थीले त्यहाँको समुदायसँग भिज्ने मौका पाउँछ । यी कुराको अध्ययन गर्दैगर्दा उसले समाज विज्ञान पनि बुझ्छ, उद्यमशीलता पनि बुझ्छ र तथ्यांकसँग खेल्दाखेल्दै तथ्यांक विज्ञान पनि बुझ्छ । यसरी दुई महिना काम गरेपछि ती विद्यार्थीले विभिन्न समाधानका उपाय प्रस्तुत गरेका थिए ।
यसरी पहिलो कार्यक्रम राम्रो भएपछि पाँचखालमै हामीले ‘हिउँदे कार्यक्रम’ पनि गर्याैँ । त्यसरी सुरु भएको कार्यक्रम अहिले तेस्रो संस्करणसम्म आइपुगेका छौँ । हाम्रो मोडलमा नै समुदाय, स्थानीय तह (सरकार), उद्योग र प्राज्ञिकबीचको सहकार्यमा काम गर्ने हो । यी चार क्षेत्र मिलेर काम गरे समाधान निस्कन्छ भन्ने विश्वास पनि हो । र, त्यसैगरी सफलतापूवर्क अघि बढिरहेका छौँ ।
तपाईंले धेरै ठाउँमा उद्यमशील सोच बोकेको युवा चाहियो भनिरहनुभएको सुन्छौँ । खासमा कस्तो व्यक्ति खोजिरहनुभएको हो ?
हो, मैले उद्यमशील सोच बोकेको मान्छे चाहिन्छ भनिरहेको हुन्छु । अब नेपालमा किन उद्यमशील सोच भएको मान्छे चाहियो त भन्दा, यहाँ जताततै समस्या सुनिन्छन् । तर, हामीलाई समस्यालाई पहिचान गर्नेमात्र होइन, समाधानमुखी सोच भएको मान्छे चाहिएको छ । जस्तो, एकथरी यहाँ विषादी (उदाहरणको रूपमा भन्दा) धेरै भयो भनेर लेख्ने बोल्ने मान्छे छौँ । अर्को, त्यसलाई पूर्णतया बेवास्ता गर्ने जमात पनि छ । अर्कोथरी टुलुटुलु हेरेर बस्न बाध्य छ । तर, यहाँ यी तीनैथरी भएर काम भइरहेको छैन ।
त्यसैले हामीले चाहिँ, विषादी छ भन्ने कुरा स्वीकारेर वा बुझेर त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर ‘लिड’ लिने मान्छे चाहियो भनेका हौँ । त्यसैलाई उद्यमशील सोच अर्थात् ‘आन्टरप्रेनरियल माइन्डसेट’ भन्छौँ । नेपालको हकमा पनि यस्तै ‘एक्सन ड्रिभन’ मान्छे चाहियो भनेर प्रयोगात्मक शिक्षालाई अलि बढी जोड दिएको हो । समुदायलाई चिनेर समुदायमै काम गरेर समुदायको समस्या हल गर्नुपर्छ भन्नेमा जोड दिनलाई नै कम्युनिभर्सिटी प्रोजेक्ट सञ्चालन गरिरहेका हौँ ।
यसरी समुदायमा विद्यार्थीहरू पठाउँदा कसरी छान्नुहुन्छ ? कस्तो तयारी गराएर फिल्डमा पठाउनुहुन्छ ?
अहिले हामीले देशभरिबाटै खुल्ला आह्वान गरेर विद्यार्थी छानेका हौँ । मेचीदेखि महाकालीसम्मकै विद्यार्थी हुनुहुन्छ । जनकपुर, विराटनगर, बुटवललगायतका ठाउँबाट जोडिनुभएको छ । तर, यसमा आवेदन भर्नेहरूमध्येबाट हामीले केही विद्यार्थी मात्र छानेका हुन्छौँ । छनौटको मापदण्ड बनाएका छौँ । अलि विविध देखियोस् भनेर विषयगत हिसाबमा विभिन्न क्षेत्रका विद्यार्थी समेट्छौँ । समाजशास्त्र, कला, प्रविधि, बिजनेस, राजनीतिशास्त्र, सामाजिक कार्यजस्ता विभिन्न विषयगत अध्ययन गरेका विद्यार्थी छान्छौँ ।
दोस्रो, कम्तीमा स्नातक पास भएको वा स्नातक चौथो वर्ष पढिरहेको विद्यार्थी चाहियो । त्यो चाहिँ अलिकति पठनमा लगाब भएकै विद्यार्थी आओस् भनेर मापदण्डमा राखेका हौँ । जबकि यसअघि चाहिँ कक्षा १२ वा ए लेभल सकाएको विद्यार्थीलाई छान्थ्यौँ । तर, अब चाहिँ आउँदो वर्ष स्नातकोत्तर तह सञ्चालन गर्ने तयारी रहेकोले स्नातकलाई प्राथमिकता दिएका हौँ ।
यसरी कुनै कार्यक्रम गर्दा आर्थिक पाटो पनि जोडिन्छ । आर्थिक व्यवस्थापन कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
आर्थिक पाटोचाहिँ साह्रै महँगो हुने रहेछ । यो आवासीय हुने भयो । यातायातदेखि खाने बस्नेसम्मको खर्च आउने भयो । त्यसैले हामीले विद्यार्थीबाटै शुल्क उठाएका छौँ । तर, नसक्नेहरूलाई छात्रवृत्ति दिएका छौँ । हामी केही सदस्यले आफैँले पनि एक/एक लाख रुपैयाँ उठाएर सहयोग गरेका छौँ । औद्योगिक सहकार्य पनि गरेका छौँ । त्यसबाहेक हामीले अमेरिकामा गैरनाफामूलक संस्था दर्ता गरेका छौँ, नेपाल टी फाउण्डेसन भनेर । जुन माध्यमबाट त्यहाँको डायस्पोराबाट फण्ड संकलन गरिरहेका छौँ । यसरी नै व्यवस्थापन गरेर सञ्चालन गरिरहेका छौँ ।
पछि गएर यसलाई स्नातकोत्तर तह नै सञ्चालन गर्ने भन्नुभयो । त्यसको लागि विश्वविद्यालयसँग कसरी काम भइरहेको छ ?
अहिले चाहिँ यो परीक्षणकाल भयो । अर्को वर्षबाट स्नातकोत्तर तह चलाउने भनेर भनिहालेँ । त्यसमा चाहिँ एकएक सेमेस्टर पहाड र मधेशमा, अनि एक सेमेस्टर चाहिँ काठमाडौंमै बसेर काम गर्ने भनेर योजना बनाएका छौँ । जसको लागि केही विश्वविद्यालयसँग कुरा भइरहेको छ ।
यसको पढाइ चाहिँ कसरी हुन्छ त ? भन्ने लाग्न सक्छ । पहिलो त, विषय शिक्षक भइहाल्नुभयो । त्यसबाहेक दुई जना सहजकर्ताको रूपमा हुनुहुन्छ, जसले हरेक कुरामा शिक्षक, विद्यार्थीलाई निर्देश गर्नुहुन्छ । त्यस्तै, एउटा टिममा एउटा कोच हुनुहुन्छ । त्यसबाहेक मेन्टर भनेर हुनुहुन्छ, जो विशेषगरी बाहिर रहेका नेपाली डायस्पोरामा कुनै विश्वविद्यालय वा कर्पोरेटमा काम गरिरहनुभएको व्यक्ति हुनुहुन्छ । उहाँहरूले एक वर्षसम्म ‘एक विद्यार्थी एक मेन्टर’को रूपमा विद्यार्थीलाई मार्गनिर्देश गर्नुहुन्छ, त्यो पनि महिनाको एक घण्टा ।
समुदायसँग काम गर्ने भन्नुभयो । पाँचखालको उदाहरण पनि सुनिहाल्यौँ । तर, तपाईंहरू त्यसरी कुनै समुदायमा गएर काम गर्दा सुरुमा त्यहाँको रेस्पोन्स कस्तो आयो ? बुझाई कस्तो पाउनुभयो ? कति गाह्रो भयो ?
एकदमै सही प्रश्न गर्नुभयो । पाँचखालमा काम गर्दा पनि समुदायसँग करिब ३ वर्ष गृहकार्य गरेपछि मात्र यसलाई त्यहाँ सञ्चालन गर्न सकेका थियौँ । कारण, सुरुमा त समुदायको विश्वास जित्नुपर्ने हुन्छ । किन आयो ? कसरी आयो ? हामीले के पाउछौँ ? भन्नेजस्ता जिज्ञासा देखिए । जसलाई चिर्न नै समय लाग्छ ।
त्यसैले गर्दा हामीले ‘कम्युनिटी पार्टनर’सँगै काम गर्छौं । हामी अब जनकपुर जाँदा त्यहाँ राजर्शी जनक विश्वविद्यालयमा सहकार्य गर्छौं । त्यसैगरी स्थानविशेष त्यहाँका स्थानीय संस्थासँग महिनौँसम्म जोडिएरै काम गर्नुपर्छ । अब जनकपुर गएपछि त्यहाँका १० जना जति विद्यार्थी हामीसँगै जोडिएर काम गर्छन् । हेलम्बुमा गएपछि पाँच जनाजति विद्यार्थी हुनुहुन्छ । उहाँहरूसहित स्थानीयको सहयोग र सहकार्यमा काम गर्छौं । यसरी समुदायसँग काम गर्दा अगाडि नै योजनाबद्ध तरिकाले नै गर्नुपर्छ, नत्र तपाईंले भनेजस्तो सहज पक्कै हुँदैन ।
तपाईंहरूले आह्वान गर्नुहुन्छ, विद्यार्थीहरूले आ–आफ्नो रुचिअनुसार आवदेन गर्छन् भन्नुभयो । त्यसरी आवेदन गर्दा पछिल्लो पुस्ताका विद्यार्थीहरूको रुचिचाहिँ कस्तो कुरामा देख्नुभयो ? नयाँ पुस्ताले यस्ता कुरालाई कसरी लिने रहेछन् ?
यहाँ वर्षौंदेखि एउटा तरिकाले पढाइएको छ । बच्चाले सोच्ने तरिका नै एकखाले बनिसक्यो । तै पनि यसमा आवेदन खुलाउँदा आवेदन गर्नेमा ६ सयभन्दा धेरै थिए । जुन एकदमै राम्रो संख्या हो । जबकि हामीले १५ जनामात्र लिने भनेका थियौँ ।

तर, विदेश जाने प्रवृत्तिले सबैलाई छोएको छ । अब छोराछोरी जनकपुर जाँदै छ भन्दा बाआमा खुसी होलान् कि जापान जाँदैछ भन्दा ? समाजमा जुन हावा चलेको छ, अधिकांशलाई छोएकै देख्छु । त्यसैले यस्ता सोच तोड्न नै ठूलो चुनौती छ । यसका बाबजुद कतिपय विद्यार्थी चाहिँ एकदुई महिना यसरी काम गर्दा पछि काम लाग्छ, यो सीप मैले जहाँ पनि प्रयोगमा ल्याउन सक्छु, भविष्यको लागि सम्पत्ति हो भनेर सोच्ने पायौँ । आवेदन दिने अधिकांश यही सोच बोकेका युवा विद्यार्थी नै रहेको पायौँ । जुन खुसीको कुरा हो ।
तपाईंको कुरा सुनेपछि के अनुभूति भयो भने, वि.स. २०२८ सालभन्दा अगाडि नेपालको विद्यालय शिक्षा सामुदायिक थियो । तर, ०२८ सालको शिक्षा नीति आएपछि ती सबै सरकारीकरण भए । त्यो सरकारीकरणको नाममा भित्र्याएको पाठ्यक्रम गर्दा हाम्रा छोराछोरी अमेरिका, अस्ट्रेलिया जाँदा प्रतिष्ठाको विषय बनिरहेको छ । यो सबै हेर्दा हामीले अब हाम्रो पाठ्यक्रमदेखि शिक्षा प्रणालीलाई नै एकपटक रिभ्यू गर्ने बेला भयो भन्न खोज्नुभएको हो ?
एकदम । म यसमा तीनवटा कुरा जोड्न चाहन्छु । पहिलो, आखिर अन्त्यमा शिक्षा भनेको के को लागि हो ? दोस्रो, पाठ्यक्रम कस्तो बनाउने ? तेस्रो, कसरी पढाउने र मूल्यांकन गर्ने ? मलाई के लाग्छ भने, यो विश्वव्यापीकरणमा जो मान्छे जहाँ बसे पनि भयो । तर, कारण त चाहियो नि ? म यो कारणले फलानो देश जान्छु भन्न सक्नुपर्यो । सबै गइराछन्, त्यही भएर जान खोजेकोजस्तो तर्क बोकेर हिँड्नुभएन ।
अहिले चाहिँ लहैलहैमा गइरहेको देखिन्छ । जुन गलत हो । यस्ता कुराको समस्याको जरो खोज्दै गयो भने अन्ततः हाम्रो शिक्षामै पुगिन्छ । हाम्रो शिक्षा प्रणालीले कुनै कुरालाई गहिरोसँग बुझेर विश्लेषण गर्न नै सिकाएन । त्यसैले हामीले यी कुरामा पुनर्मूल्यांकन गर्ने र काम गर्ने समय भएको छ ।
आजसम्म आइपुग्दा पुराना पुस्ताबाट जेन–जी पुस्तासम्मलाई पढाउन, काम गर्न भ्याउनुभएको छ । पछिल्लो समय जेन जेड पुस्तालाई केन्द्रमा राखेर विभिन्न बहस पनि हुने गरेको छ । पुरानामा भन्दा यो पुस्तामा तपाईंले अनुभूत गर्नुभएको फरक चाहिँ के छ ?
फरक चाहिँ छ । फरक किन हुँदोरहेछ भनेर हेर्याैँ भने, संसार त गतिशील छ । हिजो हामी पढ्दा जुन समस्या देखेका थियौँ, जस्तो परिस्थितिलाई चुनौतिको रूपमा बुझेका थियौँ । त्यो त आजको तुलानामा विल्कुल फरक छ । त्यसैले हामीले उनीहरूको आँखाबाट यो संसार हेरेर बुझिदिनुपर्छ । हामी आफ्नो आँखाबाट अरुको संसार हेर्न खोज्छौँ नि, त्यो एकदमै गलत छ । अहिले हाम्रो समस्या चाहिँ नयाँले पुरानालाई केही थाहा छैन भनेर नटेर्ने अनि पुराना पुस्ताले नयाँलाई यिनीहरूले के बुझ्छन र भनेर अनदेखा गर्ने । त्यसैले नै हामीले सहकार्य र समन्वात्मक शिक्षा भनेका हौँ । किनकि सहकार्य गरेर काम गर्याैँ भने यी दुई धारबीचको खाडल पनि कम हुन्छ ।
जेन–जी पुस्तासँग के फरक छ भनेर हेर्दा चाहिँ, उनीहरूसँग ‘एक्सेस टु इन्फर्मेसन’ एकदमै धेरै छ । हाम्रो पालामा सूचनाको स्रोत भनेकै त्यही गोरखापत्रलगायतका पत्रिका, कि किताब पढ्यो, कि गुरुलाई सोध्यो । तर, अहिले एकैछिनमा हजारौँ सूचना पाउँछ । ‘इन्फर्मेसन’को ओभरलोड छ, भने पनि हुन्छ । अनि यसरी एकैपटक कैयौँ अवसर र ठाउँ देखेपछि आत्तिने समस्या पनि यो पुस्तामा छ । यसले स्ट्रेस पनि बढाएको पाउँछु ।
अर्को, यो पुस्ताको एटेन्सन स्पान घटिरहेको छ । अनि हरेक कुरा छिटो चाहियो भन्छ । छिट्टै ग्रोथ खोज्छ । सपना देख्ने दायरा पनि बढिरहेको छ । स्मार्ट पनि छन् । तर, कताकता यी कुराको व्यवस्थापन गर्न नसकिरहेको देख्छु ।
तर, पछिल्लो समय जेन–जी पुस्तामाथि बहस हुँदा, यो पुस्तालाई के सिकाउने भन्दा पनि यो पुस्ताले जे खोजिरहेको छ त्यो दिनुपर्छ भनेर लागिरहेको देखिन्छ । जस्तो, तपाईंले एटेन्सन स्पानको कुरा गर्नुभयो, अहिले मिडियादेखि सबैले छोटो अनि हुक क्रियट गर्ने ट्रेण्ड बसाएको देखिन्छ । यस्ता कुराले चाहिँ हामीलाई फेरि कहाँ पुर्याउँछ ?
समाज जता गइरहेको छ त्यतै ढल्किनुपर्छ भन्ने कुरा र समाज जे भए पनि सही के हो भनेर बहस गर्नेबीचको संघर्षचाहिँ सधैँ चल्छ होला । अब सिंगो समाज एकातिर जाँदा हामीले यो पुस्तालाई चेन्ज गराउने कुरा गाह्रो पनि होला । तर, एउटा सत्य के हो भने, विभिन्न खाले ‘डिजिटल फटिग’ आई नै सकेको छ । यी सबै कुराको कारण, मलाई कताकता बिस्तारै हामी फेरि हाम्रै माटो, प्रकृतितिर फर्कन्छौँ कि जस्तो लाग्छ ।
अर्को बिर्सन नहुने कुरा एकातिर एटेन्सन स्पान घट्यो भनेर गफ गरिरहेका छौँ, अर्कोतर्फ नेटफ्लिक्सका दशवटा सिरिज नटुटाइकन हेरिरहेका मानिस एकैपटक किन देखिरहेका छौँ ? त्यसैले यहाँ एटेन्सन भन्दा पनि इन्ट्रेस्टको कुरा पो जोडिन्छ कि । यही भएर यसलाई दुवै कोणबाट हेरिनुपर्छ भन्छु ।
अन्त्यमा, केही जोड्न चाहनुहुन्छ ?
आज हामीले कम्युनिभर्सिटीकै प्रसंगबाट कुरा थालेकोले यसमै जोडेर केही भन्नुपर्छ जस्तो लाग्छ । अहिले हामीले जुन दुई महिने शिक्षण सिकाइको यो विधि अपनाएका छौँ । यसलाई चाहिँ पछि विश्वविद्यालयसम्मै विस्तार गर्ने रहर हो । मतलब, सिंगो विश्वविद्यालय नै यही कन्सेप्टमा रहेर सञ्चालन गर्ने इच्छा छ ।
त्यो किन त भन्ने प्रश्न आउनसक्छ । किनभने अहिले हामीले एउटा कलेजको रूपमा हामीले भनेजस्तै पढाउन मिल्ने अवस्था पनि छैन । अरु विश्वविद्यालयको मोडलमा आफू फिट हुनुपर्यो । जुन हामी चाहदैनौँ । किनभने हामीले यस्तो खाले शिक्षामा जोड दिन खोजिरहेका छौँ । त्यसैले हाम्रो चाहना भनेको, एकदमै राम्रो एजेन्सी होस्, जसले गुणस्तर मापन गरोस्, गैरनाफामूलक होस्, एउटा फ्रेमवर्क बनाओस्, तर गर्न चाहने सानासाना संस्थालाई पनि स्वायत्तता दिनुपर्छ भन्ने हाम्रो बुझाइ हो । यसरी गयौँ भने, हामीजस्ताले ल्याएको नयाँ नयाँ कन्सेप्ट कार्यान्वयनमा सहजता मिलोस् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १७:००