तत्कालै फाइदाको लोभमा परी व्हाट्सएपहुँदै टेलिग्राम ग्रुपसम्म पुगेर ठगिने नेपालीहरूमा शिक्षक, डाक्टर, नर्स, चाटर्ड एकाण्टेण्टदेखि नेतासम्म रहेको पाइएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले साउनयता आएका १३ सयभन्दा बढी उजुरीकर्तामध्ये केही समाजमा गनेमानेकै मान्छे रहेको बताए । ‘प्रतिव्यक्ति एक करोड रुपैयाँभन्दा बढी ठगिएको पनि पाइएको छ’, एसपी अवस्थीले शिलापत्रसित भने, ‘प्राय: सबै उमेर समूहका मान्छे ठगिएका छन्, डाक्टर, स्टाफ नर्स, चार्टर्ड एकाण्टेण्टदेखि राजनीतिक नेतासम्म पीडित हुनुहुन्छ ।’
उनका अनुसार, ६ महिनामै अनलाइनमार्फत नेपालीको करिब ५१ करोड रुपैयाँ ठगी भएको देखिन्छ । इन्स्टाग्राम पोस्टमा लाइक गरेकै आधारमा पैसा दिने प्रलोभन देखाएर व्हाट्सएपहुँदै टेलिग्राम ग्रुपसम्म पुर्याएर भएको ठगी रकम सबैभन्दा बढी छ । यस्तो स्क्याममा नेपालीले ६ महिनाभित्र ३३ करोडभन्दा बढी रकम गुमाएका छन् । धक मानेर, डराएर उजुरी गर्न नआउनेको पीडितको संख्या पनि ठूलै रहेको आशंका गरिन्छ । 'ठगिएर उजुरी गर्न नआउनेहरू पनि आफूलाई समाजमा प्रतिष्ठित ठान्नेहरू बढी हुन सक्छन्', ब्युरोका अर्का एक अधिकारी भन्छन्, 'उजुरी गर्न जाँदा प्रतिष्ठामा आँच आउने चिन्ता उनीहरूलाई हुन्छ । त्यसैले ठगिएको रकम माया मारेर बसेका पनि हुन सक्छन् ।'
गत साता शिलापत्रलेटेलिग्राममार्फत ठूलो समूहमा नेपालीहरू ठगिइरहेको विषयमा रिपोर्ट प्रकाशित गरेको थियो । यस्तो प्रकृतिको स्क्याममा देशबाहिरबाट अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको ब्युरोका ती अधिकारीले बताए । यद्यपि, पैसाको कारोबार भने नेपाली बैंक खातामार्फत नै भइरहेको देखिन्छ । ‘अहिलेसम्मका घटना हेर्दा एक नेपालीले अर्को नेपालीलाई सुरुमा रकम पठाएको भेटिएको छ । खासमा दुवै पक्ष प्रलोभनमा परेका हुन्छन्’, उनले भने, ‘निश्चित प्रतिशत रकमको प्रलोभनमा परी आफ्नो बैंक खाता ठगीमा प्रयोग हुने दिनेहरू पक्राउ पर्ने गरेका छन् ।’
विदेश बसेर स्क्याम धन्धा चलाइरहेको गिरोहले नेपालबाट ठूलो रकम ठगी गरी लैजाने गरेको उनको भनाइ छ । ती अधिकारीका अनुसार, पीडितको पैसा बुझिलिने बैंक खातावाल पनि सबै नेपाली छन्, तीमध्ये अधिकांश स्वयम् स्क्यामरको ‘मोहरा’ बनेका हुन् । केही पैसा पाइने लोभमा उनीहरूले आफ्नो खाता प्रयोग गर्न दिइरहेका छन् । तर, कानुनको नजरमा उनीहरू दोषी नै रहेको ब्युरोले जनाएको छ ।
‘नेपाली खातावालालाई पक्राउ गरेपछि पीडितको रकम उसैबाट तिराउने गरेका छौँ’, ब्युरोका प्रवक्ता एपसी अवस्थीले भने, ‘खासमा त्यो मान्छेले पनि निश्चित प्रतिशत राखेर धेरै पैसा गिरोहलाई पठाइसकेको हुन्छ ।’
गिरोहसम्म पुग्न मुस्किल
अहिलेकै अवस्थामा साइबर ब्युरो अर्कै देशमा बसेर टेलिग्राममार्फत धन्धा चलाइरहेको गिरोहसम्म पुग्न नसक्ने देखिन्छ । किनकि, नेपालको प्रहरीले फेसबुक, भाइबर, इन्स्टाग्रामजस्तो टेलिग्रामको आधिकारिक टिमसँग ठगी नियन्त्रणका लागि सहकार्य स्थापित गरेको छैन । त्यसैले हाललाई ब्युरोले गर्न सक्ने भनेको ठगीमा प्रयोग भएको स्वदेशी बैंक खातावालाई पक्रेर रकम तिराउने मात्र हो ।
अर्थात्, अनुसन्धानपछि पीडितले पैसा हालिदिएको नेपाली बैंक खातावाल समातिन्छ । ठगी मुद्दाबाट जोगिने हो भने पीडितले पठाएको सबै रकम खातावालले तिनुपर्ने हुन्छ । यसबाहेक अर्को उपाय अहिलेलाई छैन भन्दा हुन्छ । त्यसैले मुख्य गिरोहले पूर्ण आत्मविश्वासका साथ धन्धा चलाइरहेको छ । ‘टेलिग्रामको आधिकारिक टिमसँग सहकार्य गर्ने तयारी गरेका छौं’, एसपी अवस्थीले भने, ‘यसो भन्दै गर्दा हामीले बारम्बार आग्रह गर्दै आएका छौं, जुनसुकै ठगीबाट जोगिने मुख्य उपाय भनेको नै आफू सचेत हुनु हो ।’
अन्तर्राष्ट्रिय गिरोहले फोन नम्बर कसरी पाउँछ ?
यो प्रश्नको ठ्याक्कै जवाफ नेपालका जिम्मेवार निकायसँग पनि छैन । तर, सर्वसाधारणको नम्बर कसैले बेचिरहेको आशंका गरिन्छ । आम प्रयोगकर्ताले सित्तैमा चलाउने एप्लिकेसनहरूबाट समेत फोन नम्बरहरू लिक भएको हुनसक्ने जानकारहरू बताउँछन् । जस्तो कि, सित्तैमा पाइयो भनेर धेरैले ‘ट्रु कलर’ नामको एप चलाइरहेका छन् । यो एपले नयाँ नम्बर कसको नामबाट चलिरहेको छ भन्ने कुराको जानकारी दिन्छ । यद्यपि, यसले दिने जानकारी सही नै हुन्छ भन्ने छैन । किनकि, ट्रु कलरमा प्रयोगकर्ताले आफूले चाहेको नाम आफैं ‘सेट’ गर्न मिल्छ ।
ट्रु कलरले सित्तैको पहुँच दिएर प्रयोगकर्ताको सबै कन्ट्याक्ट लिस्टको पहुँचमा पुगिरहेको हुन्छ । यसरी नम्बरहरू स्क्यामर गिरोहसम्म पुग्न सक्छ । ट्रु कलर मात्र होइन, सित्तैका एप्लिकेसनमार्फत पनि नम्बर लिक भइरहेको हुन्छ । विभिन्न अनाधिकृत लिंकमा क्लिक गर्दा इमेल ह्याक भएर पनि हाम्रो कन्ट्याक्ट लिस्ट लिक हुने साइबर सुरक्षाका जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १८:३४