प्रधानमन्त्री केपी शर्मा ओली तीन दिन ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा व्यस्त रहे, जहाँ २१–२३ पुसमा केन्द्रीय कमिटी बैठक थियो । एमालेका अघिल्ला बैठकभन्दा यसपटक अध्यक्ष ओली भिन्न ढङ्गले प्रस्तुत भए । सुरुदेखि अन्त्यसम्मै समय दिएर उनले केन्द्रीय सदस्यहरूको विचार सुनेका छन् ।
सोमबार अपराह्न केही समय वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेललाई बैठक चलाउन लगाएर निस्किएबाहेक ओली पूरै समय हलमै बसे । आफूलक्षित आलोचना र टिकाटिप्पणीलाई पनि सुनेर शालीनतापूर्वक जवाफ दिएको बैठकका सहभागीले बताएका छन् ।
‘एमालेमा नेतृत्वले तल्लो तहका नेताका कुरै सुन्दैन । असन्तुष्टिले पार्टीमा उकुसमुकुस छ भन्ने भाष्य निर्माण गर्न खोजियो । मिडियाले त्यही एकोहोरो भनिरहेका थिए,’ एमालेका एक स्थायी कमिटी सदस्यले शिलापत्रसँग भने, ‘यसपटक अध्यक्ष कमरेडले नै खुला छलफल सुन्न चाहनुभयो । उहाँकै इच्छाले केन्द्रीय सदस्यलाई खुलस्त विचार राख्न दिइएको हो ।’
यसअघिका केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल गर्ने र समूह नेताले निष्कर्ष सुनाउने अभ्यास थियो । नेतृत्व निरंकुश हुँदै गएको भन्दै पार्टीभित्र र बाहिर आलोचना हुन थालेपछि यसपटक अध्यक्ष ओली सबै सदस्यलाई सुन्ने मुडमा देखिए । सोहीअनुसार सचिवालयले सबैले बोल्ने विधि तय गरेको थियो । हरेक सदस्यलाई तीन–तीन मिनेटको समय दिइएको थियो, जसका कारण दुई दिनका लागि तय गरिएकाे बैठक तीन दिनसम्म लम्बिएकाे थियाे ।
छलफल खुला गरिए पनि बैठकमा सबै केन्द्रीय सदस्यहरूले भने बोलेनन् । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन र सरकारलाई प्रभावकारी बनाउने, पार्टी परिचालन र मिसन–२०८४, पार्टीमा बढ्दै गएको गुटबन्दी, संगठन विस्तारमा अधिकांश सदस्यहरूको विचार मिल्दोजुल्दो थियो । केहीले पार्टी सचिवालयबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गर्ने निर्णय पुनर्विचार गर्नुपर्ने माग राखेका थिए । सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, ठाकुर गैरे, रचना खड्कालगायतका नेताहरूले कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपट रावलले पूर्वउपाध्यक्ष रावललाई निष्कासन गर्दा सुदूरपश्चिमको तल्लो तहमा त्यसको प्रभाव पर्ने भन्दै कारबाही फिर्ता लिन माग गरेका थिए । केही केन्द्रीय सदस्यले व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय राख्न उपलब्ध गराउने जग्गा र भवनको विषयले राम्रो सन्देश नगएको टिप्पणी गरे । ‘व्यापारीसँग जग्गा र भवन लिने निर्णय जनताले मन पराएका छैनन्,’ पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले भने ।
केन्द्रीय सदस्यहरूका विचार अध्यक्ष ओलीले चासोपूर्वक सुने । छलफलमा उठेका सरोकार, आलोचना र टिप्पणीलाई उनले सविस्तार सम्बोधन गरेका थिए । ‘भीम रावल एमालेमा भए पनि नभएसरह नै हुनुहुन्थ्यो । उहाँ नहुँदा पार्टीलाई कुनै क्षति पुग्दैन,’ रावलबारे ओलीको भनाइ थियो, ‘रावललाई केही दिन माओवादी र नेकपा एसले उचाले, अब केही दिन दुर्गा प्रसाईंले उचाल्छन् । अनि, सकिन्छ ।’
स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई सचेत मात्र गर्दा पुग्नेमा निलम्बन गरिएको प्रति केन्द्रीय सदस्यहरूले टिप्पणी गरेका थिए । सल्लाहकार परिषद् अध्यक्ष बोहराले कारबाही ‘मरिचलाई हान्न बन्चरो’ भएको टिप्पणी गरेका थिए । जवाफमा अध्यक्ष ओलीले पार्टीका निर्णयविरुद्ध कमिटीबाहिर प्रतिक्रिया दिँदै हिँड्नु गलत भएको बताए ।
पाण्डे र तिम्सिना एउटै स्टाटसका कारण निलम्बनमा नपरेको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘कारबाही फिर्ता हुने पनि छ । पहिले त सच्चिन तयार हुनुपर्यो । गल्ती महसुस हुनुपर्यो । त्यत्तिकै फिर्ता भन्ने हुँदैन ।’ निलम्बनको निर्णयपछि पनि गल्ती महसुस गर्नुको सट्टा मिडियामा बोल्न नछोडेकाले फिर्ता लिन नमिल्ने ओलीले बताएका थिए ।
एमालेमा भित्रभित्रै विभिन्न समूह छन् । ओलीको परम्परागत गुट, विद्या भण्डारी समूह, पूर्वमाओवादी र १० बुँदे सहमतिपछि एमालेमै रहेको तत्कालीन माधव नेपाल समूहले एमालेमा भावनात्मक एकता बिथोलिरहेको छ । ती समूहका आआफ्नै स्कुलिङ र इतिहास छन् । त्यसप्रति टिप्पणी गर्दै ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्वसमूहहरू खोज्नतिर नलाग्न आग्रह गरे ।
'एमालेमा अब कुनै पनि पूर्वसमूहहरू छैनन् । हामीले पूर्वसमूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ,' अध्यक्ष ओलीले भने, 'हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’
लामो समापन मन्तव्य दिएका ओलीले बैठकमा उठाइएका सबैखाले प्रश्नको जवाफ दिने कोसिस गरे । साथै, पार्टीभित्रको उकुसमुकुस कम गर्ने कोसिस पनि गरेको सहभागी नेताहरूले बताएका छन् ।
त्यसो त, पार्टीभित्र र बाहिर पनि आफ्नो लोकप्रियता घट्दै गएको महसुस ओलीले गरेको देखिन्छ । संविधान निर्माणताका भारतीय नाकाबन्दीविरुद्ध अडान लिएर वाहवाही कमाएका ओलीको लोकप्रियता २०७४ को आमचुनावदेखि एमाले–माओवादी केन्द्र एकतासम्म उकालो ग्राफमा थियो । नेकपामा विवाद बढ्दै गएर दुई–दुईपटक संसद विघटन, नेकपा विभाजन र अन्ततः एमाले विभाजनसम्म आइपुग्दा उनको लोकप्रियताको ग्राफ निकै ओरालो लागिसकेको छ ।
केन्द्रीय कमिटी बैठकमा खुला छलफल गराएर ओलीले पार्टीभित्रको उकुसमुकुस घटाउन खोजेको प्रस्टै बुझिन्छ । उनी लोकप्रियताको ओरालो ग्राफ कम्तीमा पार्टीभित्रैबाट सम्हाल्न चाहन्छन् । ‘यसपटक अध्यक्ष कमरेड विगतमा भन्दा भिन्नै ढङ्गले प्रस्तुत हुनुभयो । अध्यक्षले कार्यशैली सुधार गर्न खोजेको आभास भयो,’ एक केन्द्रीय सदस्यले भने, ‘नेतृत्वले सबैका कुरा सुनिदिँदा छुट्टै उत्साह र ऊर्जा प्राप्त भएको महसुस भएको छ ।’
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १९:४९