२०२५ जनवरी ३ को द न्युयोर्क टाइम्समा क्रिस्टिना क्यारोन र डाना जी. स्मिथ प्रश्न गर्छन्, ‘के नयाँ वर्ष (२०२५) मा तपाईंहरू आफ्नो मुड ठीक राख्न मानसिक रुपमा तयार हुनुहुन्छ ?
तपाईंका उत्तर जेसुकै होऊन्, तपाईंले आफूलाई वर्षभरि तीक्ष्ण, जीवन्त र ठीकठाक राख्न विगत वर्षका केही राम्रा र अभ्यस्त तथा सत्य बानी व्यहोराले तपाईंलाई पक्कै मद्दत गर्न सक्छ । हामी पत्रकारहरू जो लगातार विज्ञहरूसँग मानिसका व्यवहार, अवस्था र शारीरिक सौन्दर्य जसले मानसिक र आत्मिक स्वास्थ्यको बारेमा जान्न सकिन्छ, त्यसबारे सोधखोज गरिरहन्छौँ । तपाईं विगतका अनुभवका आधारमा शान्त, सौम्य र सन्तुलनको धरातलमा उभिएर नयाँवर्षमा गर्नुपर्ने कामका प्राथमिकताहरूनिर्धारण गर्नुस् । त्यसका लागि क्यारोन र स्मिथले दिएका केही ‘टिप्स’हरू तपाईं, हाम्रा लागि उपयोगी हुन सक्छन् ।
शरीरलाई सक्रिय तुल्याइराख्नुस्
तपाईंले यो भनाइ एकचोटि होइन, हजारचोटि सुन्नुभएको हुनुपर्छः तपाईं आफ्नो दिमागलाई ठीक राखिराख्न चाहनुहुन्छ भने तपाईंका लागि शारीरिक व्यायाम एकमात्र उत्तम उपाय हो ।
भर्खर–भर्खर कामबाट अवकाश पाएकाहरूको भनाइमा तिनीहरू सक्रियतासाथ जीवन भोगाइका आफ्ना अनुभवहरूलाई बाँकी जीवन खुशीसाथ निरोगी भएर जिउन उपयोग गर्नेछन् । जो निरन्तर शारीरिक व्यायामा गर्छन् तिनले अवकाशपूर्ण जीवन बिताएको महसुस नै गर्दैनन्, तिनीहरूलाई डिप्रेसन र डिमेन्सियाजस्ता मनोरोगका खतरा पनि कम हुने गर्छ । विज्ञहरूका अनुसार शरीरलाई सक्रिय तुल्याइराख्नु नै दिमागलाई सघाउनु हो । त्यसैले निष्क्रिय नहुनुस्, शरीरलाई चलायमान तुल्याउनुस् । नयाँ वर्ष स्वस्थ भएर जिउनुस् ।
चिन्तालाई सम्बोधन गर्नुस्
चिन्ता हटाउने धेरै तरिकाहरू हुन सक्छन् । तर तपाईंलाई धेरै सताउने भनेको ‘भोलि के हुने हो’ भन्ने भयले नै हो । त्यसैले मनबाट त्यस्तो भय हटाउन प्रयत्न गर्नुस् । आफ्ना राम्रा बानीको तारिफ गर्ने गर्नुस्, विगतमा गरेका राम्रा कार्यहरूको मनमनै समीक्षा गरेर आँफै दंग पर्नुस्–अनि सक्नुहुन्छ भने आफ्ना ती आनन्ददायी क्षणहरू आफ्नो समुदायका सदस्यहरूसित पनि सेयर गर्नुस्, यसले तपाईंलाई छुट्टै मजा दिनेछ । आफूले आफैँलाई पश्न सोध्नुस्ः ‘के मैले चिन्ता गरेर फाइदा छ ?’ छैन भने आफैँलाई भित्रभित्रै जलाएर सखाप पार्ने चिन्ता किन पाल्ने ? यदि यस्तो निचोड निकाल्नुभयो भने तपाईं आफूलाई सक्रिय तुल्याइराख्न हमेसा लागिरहनुहुनेछ । जसले तपाईंको मुड फ्रेस गराइराख्छ ।
शारीरिक मात्र होइन, दिमागी अभ्यास पनि गर्नुस्
दिमागलाई पुरै निष्क्रिय हुन नदिन र डिमेन्सियाजस्ता घातक समस्याबाट बच्न फुर्सदमा झोक्राएर बस्ने होइन कि क्रसवर्ड पजल र दिमागलाई तालिम दिने खालका खेलहरू खेल्ने गर्नुस् ताकि तपाईंका दिमाग विगतमा जस्तै प्रश्न गर्न, बहसमा सहभागी हुन र सक्रिय बन्न पाओस् । यसबाहेक पनि विज्ञहरूले दिमागलाई क्रियाशील राख्न नयाँनयाँ किताब पढ्ने, केही लेख्ने, आफ्ना जीवनका अनुभव उतार्ने, समाचारहरू सुन्ने, हेर्ने र पढ्ने गर्नाले पनि दिमाग स्वस्थ रहन्छ भनेका छन् । दिमाग स्वस्थ हुनु भनेकै लगभग शरीर स्वस्थ हुनु हो ।
मज्जाले सुत्नुस्
धेरै मानिस आजकल अनिदो रात बिताउनुपर्दा भयाक्रान्त छन् । अमेरिकाका अधिकांश प्रौढहरू हरेक रात कम निदाउने उल्लेख गर्छन् । जब मानिसलाई निद्रा लाग्न समस्या हुन्छ त्यसले उसलाई चिन्ता, उद्विग्नता र नकारात्मक सोचतिर डोर्याउन सक्छ । यस्ता मानिसहरू तनाव नियन्त्रण गर्न र मनमा उर्लने नकारात्मक भावहरू नियन्त्रण गर्न असफल हुन्छन् । यस्तो बेला निद्रा लाग्ने ट्याब्लेट्स खानुभन्दा मन शान्ति हुने अभ्यासहरू गर्नु उत्तम हुन्छ । यदि तपाईंलाई पनि रातमा निद्रा नलाग्ने समस्या छ भने एकचोटि कोलिन ई. कार्नी र राचेल म्याम्बरको ‘क्वाइट योर माइन्ड एण्ड गेट टु स्लिप’ डाउनलोड गरेर पढ्नुहुन्छ कि ?
धेरै नतात्नुस्
ग्रीष्मका उखरमाउला दिन र प्रचण्ड तापले मानिसलाई बढी आक्रामक, चिट्चिच्याहटयुक्त र उत्तेजित तुल्याउँछ । तपाईंले गर्मीका यी दिनहरूमा आफूलाई ठण्डा वातावरणमा राख्न सक्नुपर्ने वासिङ्टन स्टेट युनिभर्सिटीका मनोविज्ञानका सहायक प्राध्यापक किम्बर्ली मेडेनवरको सुझाव छ ।
तपाईं आफ्नो अन्तर–आलोचनालाई शान्त राख्नुस्
तपाईंका विचारहरू उपयोगी नै भए पनि कहिलेकाहीँ आफूलाई त्यसबाट परै राख्नु उचित हुने तर्क गर्छन् मिचिगन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक इथन क्रस । भन्छन्, ‘जब मानिसहरू तिमी भन्ने शब्द प्रयोग गर्छन् तथा जब तिनले अन्तर्राष्ट्रिय परिदृश्यमा आफूलाई तिमीको सट्टा म भन्ने शब्द प्रयोग भएको पाउँछन् तब त्यसबेला आफूलाई पहिले भन्दा बढी रचनात्मक भएको महसुस गर्छन् ।
शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुस्
मानसिक र आत्मिक दुवै अवस्थालाई ठीकठाक राख्नका लागि शारीरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न सुझाउँछन् विज्ञहरू। त्यसो भयो भने मात्र डिमेन्सिया, डिप्रेसन र स्ट्रोकजस्ता जटिलताबाट बच्न सकिने उल्लेख गर्छन् ।
नयाँ साथी बनाउनुस्
एक्लोपनका कारण दिक्दारी र विछोडिएको सोच बनाउनुभयो भने त्यसले शारीरिक र मानसिक दुवै रुपमा हानी पुर्याउँछ । र, यसले हाम्रो सोचाइमा समेत असर गर्न सक्छ । एक्लोपन र अल्जाइमर रोगबीच सम्बन्ध रहेको कुरा पनि अध्ययनहरूले देखाएका छन् ।
जीवनमा अनुभूत गरिने एक्लोपनबाट मुक्तिका लागि साथी तथा परिवारका सदस्यहरू माझ रमाउने कोसिस गर्नुस् । यदि तपाईं नयाँनयाँ साथी बनाउन चाहनुहुन्छ भने क्लबमा सहभागी हुन सक्नुहुन्छ, सहयोगी समूहहरूको जमघट हुने स्थान उपयुक्त थलो हुनसक्छ । क्यालिफोर्निया सान डियागो विश्वविद्यालयकी मानसिक विभागकी सहप्राध्यापक डा. एलेन लीका अनुसार नयाँ साथीहरू बनाउनका लागि तपाईं उस्तै पहिचान भएका मानिसहरू भएको ठाउँ जान सक्नुहुन्छ । उदाहरणका लागि एकल महिला भए एकल महिलाकै समूहमा जानुस्, आमाहरूले आमा समूहमा जान सक्नुहुन्छ । अरुहरूले पनि आफूजस्तै समूहको छनोट गरेर साथी बनाउन सक्नुहुन्छ ।
माफी दिनुस्
कसैले पनि सामान्य गल्ती गरेको छ भने त्यसका लागि माफी दिनु उत्तम हुने कुरा सर्वत्र सुनिन्छ । ‘माफी दिनु भनेको कुनै पनि गल्तीको अन्त्यभन्दा पनि भावनात्मक शैली मात्र हो’, ‘यु डन्ट निड टु फर्गिभः ट्रमा रिकभरी अन योर ओन टर्म्स’ पुस्तकका समेत लेखक रहेका एमाण्डा ग्रेगरीका अनुसार यस्तो शैलीले तपाईंलाई जीवनमा नकारात्मक सोच र भावनाबाट जोगिने अवसर मिल्न सक्छ जसले तपाईंप्रति नराम्रै गरेको किन नहोस् । त्यसैले ग्रेगरी भन्छिन्, ‘तपाईंप्रति नराम्रो गर्नेलाई माफी दिने या नदिने तपाईंको विचार हो । यो कसैको करकापमा हुनसक्ने कुरा होइन । यदि तपाईंले आफ्नो कुभलो चिताउनेलाई पनि माफी दिनु भयो भने त्यसले तपाईंको जीवनमा लामो समयसम्म आत्मसन्तोष दिन सक्छ ।’
-२०२५ जनवरी ३ को द न्युयोर्क टाइम्समा प्रकाशित क्रिस्टिना क्यारोन र डाना जी. स्मिथको लेखको सम्पादित अंश ।)
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १४:३६