ब्रेकअपको हल्लाबीच गत वैशाखमा विवाह बन्धनमा बाँधिएकी एलिना चौहान हाल नेपालमा छिन् । उनका श्रीमान् विष्णु सापकोटा अस्ट्रेलियामा छन् । बिहेपछि केही महिना श्रीमान्सँगै अस्ट्रेलियामै बसेकी एलिना तिजको मेसोमा नेपाल आएपछि फर्किएकी छैनन् ।
केही समयअघि ओशो ध्यानमा समेत देखिएपछि भने उनको सम्बन्ध बिग्रिएको त होइन भन्ने हल्ला राम्रैसँग चल्यो । ‘अब हाँस्छ अमेरिका, अब सुन्छ अमेरिका र अब नाच्छ अमेरिका’ नामक कार्यक्रमको पत्रकार सम्मेलनमा आइपुगेकी एलिनालाई पत्रकारहरूले वैवाहिक सम्बन्धका विषयमा प्रश्न सोधे, ‘तपाईं किन श्रीमान्सँग हुनुहुन्न ?’
प्रश्नको जवाफ दिँदै एलिनाले भनिन्, 'उहाँको बिजनेस अस्ट्रेलियामा छ, मेरो नेपालमा छ । आ-आफ्नो बिजनेस गरिरहेका छौँ हामीहरूले । कमाउने समय सधैँ आउँदैन । पहिला-पहिला मेरै ममी-बाबा १८-१९ वर्षसम्म टाढा रहनुभयो । अहिले सँगै हुनुहुन्छ । २-४ महिना टाढा भइयो भन्दैमा त्यति धेरै न्युज बनाउनुपर्ने, सोच्नुपर्ने छैन ।’
एलिनालाई ओशोमा ध्यान गर्न गएपछि सम्बन्ध बिग्रिएको हल्ला चलेको विषयमा पनि प्रश्न सोधियो । जवाफमा उनले आफ्नो मनको शान्तिका लागि त्यहाँ गएको स्पष्ट पार्दै श्रीमान्सँग कुनै खटपट नभएको दाबी गरिन् । ‘म आफ्नो खुसीका लागि ओशो गएको हो । दुनियाँले के भन्छन् मलाई थाहा छैन । सबैको मुख बन्द गर्न पनि म सक्दिनँ,’ उनले भनिन् ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १७:१८