एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका चौकाबापत २ हजार ६ सयभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । कम्पनीले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरुप उक्त परिमाणका शैक्षिक सामग्री वितरण गर्न लागेको हो ।
एनसेलका अनुसार ती सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिनेछ । शनिबार सम्पन्न ऐतिहासिक क्रिकेट प्रतियोगिता एनपीएलमा कुल ६५३ चौका हानिएका थिए । त्यसबापत एनसेल फाउन्डेसनले घोषणा गरेबमोजिम कुल २ हजार ६ सय १२ वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्नेछ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
एनसेलका अनुसार, विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै; स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ भने विद्यार्थीहरूको पठनपाठनमा पनि योगदान गर्नेछ ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्ट्सका खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित गरेका छन् । त्यस्तै, दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए, जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले २६ चौकाबापत १०४ शैक्षिक सामग्रीको वितरण गर्ने पक्का गरेका छन् ।
त्यसैगरी, चितवन राइनोजका रवीन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १८:३४