रुपन्देहीको भैरहवास्थित मटिहानी मठका तत्कालीन महन्त जगन्नाथ दास वैष्णवले व्यक्तिगत बनाएका तथा बिक्री गरेका गुठीका जग्गा धमाधम फिर्ता ल्याउन थालिएको छ ।
मटिहानी मठका मठाधीश जगन्नाथ दास बैष्णवले आफूखुसी गुठीको जग्गा व्यक्तिगत नाममा बिक्री गरेको पाइएपछि गुठी संस्थानले छानबिन गरी गुठीकै नाममा जग्गा फिर्ता गर्न थालेको हो ।
यसैक्रममा संस्थानले रूपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–६ रामजानकी मठगुठीको जग्गाको सम्बन्धमा फैसला गरी फिर्ता गरेको छ । वैष्णवले गुठीको निजी नाममा नामसारी गरी व्यक्ति विशेषलाई बिक्रीवितरण गर्दै आएको समाचार आएपछि संस्थानले वैष्णवमाथि कारबाही थालेको थियो ।
संस्थानका जग्गा शाखाका प्रमुख जयप्रसाद रेग्मीले वैष्णवले व्यक्तिगत बनाई बिक्री गरेको जानकारीपछि संस्थानले वैष्णवलाई निलम्बन गरी कारबाही थालिएको बताए ।
‘छानबिन क्रममा वैष्णवले गुठीको जग्गा हिनामिना गरेको ठहर भयो । तत्पश्चात् वैष्णवलाई निलम्बन गरी रैकर दर्ता एवं बिक्री बदर गरी गुठीकै नाममा दर्ता गर्ने क्रममा छौं,’ रेग्मीले भने ।
उनले धेरै स्थानका जग्गा फिर्ता भएको र अझै छानबिन जारी रहेकाले फिर्ता हुने क्रममा रहेको बताए । संस्थानले मंगलबार फैसला गरी भैरहवास्थित मठको जग्गा रामजानकी गुठीकै नाममा फिर्ता भएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६ ०७:११