गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा रोड रेस प्रतियोगिता -२०८१’ गर्ने भएको छ ।
बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले ८ मंसिरमा ‘गरिमा रोड रेस’ प्रतियोगिता आयोजना गर्न लागेको नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको ‘रोड रेस’ हुनेछ ।
दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुलातर्फको १० किलोमिटर ‘रोड रेस’ प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेटतर्फको ५ किलोमिटरमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारीहरूले मात्र सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको महिला र पुरुषतर्फका चारवटै प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्नेलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गरिने नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहनेले ५ मंसिरसम्म विकास बैंकको आधिकारिक वेबसाइट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।
७ मंसिरमा १८औँ वार्षिकोत्सव मनाउन लागेको विकास बैंकले काठमाडौंमा ‘गरिमा रोड रेस’ प्रतियोगितासहित देशभर १८ वटा फरक–फरक कार्यक्रमसमेत आयोजना गर्दै छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौंं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ ११:४४