मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन गर्दै आएका ४१ वर्षीय सन्तोष पुर्खाको व्यवसाय धान्न पाउँदा खुसी छन् ।
१६ वर्षमै रोजगारीका लागि भारत गएका सन्तोष त्यहाँबाट फर्केर यो पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउँछन् । 'भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ', उनले भने ।
बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्मा आरनको आम्दानीमा सन्तुष्ट छन् । भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको उनको भनाइ छ । 'भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने कम्पनीमा काम गरेँ । १६ घण्टा काम गर्नुपर्दा निकै दुःख थियो । कमाइ खासै थिएन तर काम भने सिकियो, भारतमै केही वर्ष सिल्टेबाट बनेका भाडा बिक्रीको काम पनि गरेँ, व्यवसायमा घाटा भएपछि नेपाल फर्के', उनले भने, 'पुर्खाको पेसा र भारतको सिकाइले मलाई आत्मबल मिल्यो । बालीघरे प्रथाले पहिला गाउँमा खासै आम्दानी थिएन, बागलुङ बजार झरेपछि भने श्रमको मूल्य पाएको छु ।'
साथीभाई वैदेशिक रोजगारी गए पनि भारतबाट फर्केपछि आफूलाई विदेश जान मन नलागेको उनको भनाइ छ । 'यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका पुगेका छन्', उनले भने, 'अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन फेरि फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फस्टाएको छ ।'
सन्तोषले उत्पादन गरेका हसिया, बाउसो, खुकुरीलगायत सामग्रीका लागि बजारको अभाव नभएको बताए । फलाम, तामा र सिल्टेका विभिन्न सामग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको उनको अनुभव छ । आफूले उत्पादन गरेका अधिकांश भाडा तथा हात हतियार आरनबाटै बिक्री हुने गरेको र डाडु, पन्यु, दाब, खुकुरी, बन्चरो, हँसिया बढी मात्रमा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए ।
परम्परागत पेसालाई संरक्षण गर्न र यसतर्फ युवाहरूलाई आकर्षित गर्न सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको र पुस्तान्तरणको अभावमा पेसा लोप हुने अवस्थामा पुगेकामा उनले चिन्ता जनाए ।
'अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुर्ख्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ', उनी भन्छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १०:०७