‘गञ्जी लगाउँदिनँ है आमा !,’ हरितले भन्यो ।
‘लगा न लगा, लगाउनुपर्छ,’ हरितकी आमाले कर गरिन् ।
‘खोइ उल्टो र सुल्टो नै चिनिनँ,’ हरितले गञ्जी ओल्टाउँदैपल्टाउँदै भन्यो ।
‘म भ्याउँदिनँ ।... यो उमेरसम्म पनि उल्टोसुल्टो चिन्दैनस् भने के गरूँ त !,’ हरितकी आमाले घुर्की लगाइन् । अनि फेरि थपिन्, ‘भित्र लगाउने न हो, चिन्दैनस् भने जसरी लगाए पनि लगा ।’
हरितले गञ्जी लगायो ।
दहमा पौडी खेल्न सबैले कपडा खोले । उसले पनि खोल्यो ।
‘लौ हेर, यसले त उल्टो गञ्जी पो लगाउँदो रहेछ । हा...! हा..!!,’ साथीहरू हाँसे ।
उसले ‘आमाले असहयोग गर्नुभो’ भन्न खोज्यो; तर भन्न सकेन । उसले ‘आमाले उल्टोसुल्टो जसरी लगाए पनि हुन्छ भन्नुभो’ भन्न खोज्यो; भन्न सकेन । उसले ‘गञ्जीको उल्टोसुल्टो म जान्दिनँ’ भन्न खोज्यो, भन्न सकेन । साथीहरूको गिल्लामा ऊ हाँसूँ कि रोऊँको अवस्थामा देखियो ।
घरमा पुगेपछि हरितले आमासँग गुनासो गर्छ कि भन्ने धेरैलाई लागेको थियो; गरेन । यही दिनदेखि हो– हरितले गञ्जीको उल्टोसुल्टो स्पष्ट चिनेको । त्यसपछि गञ्जीलाई इस्यु बनाएर हरितका साथीहरूले ऊमाथि हाँस्नु परेको छैन ।
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१ ०९:५५