यौन दुर्व्यहारको गम्भीर आरोप लागेर अन्तर्राष्ट्रिय समुदायमा विवादमा तानिएका आरोही निर्मल पुर्जालाई काठमाडौंको मेरियट होटलमा आइतबार सम्मान गरिएको छ । विवादित पुर्जाको सम्मानको प्रवर्द्धनको काम भने नेपाल पर्यटन बोर्डले गरेको छ ।
विश्वका १४ वटा ८ हजार मिटर अग्ला सबै हिमालहरू विना अक्सिजन आराेहण गरेपछि उनलाई सम्मान गरिएको हो ।
विवादित व्यक्तिकाे बाेर्डले नै प्रर्वद्धन गरेको भन्ने प्रश्नमा पर्यटन बोर्डले भने पर्यटनसँग सम्बन्धित कार्यक्रहरूकाे बोर्डले पर्वद्धन गर्ने चलन रहेको बताएको छ । बाेर्डकी वरिष्ठ निर्देशक नन्दनी थापाले पुर्जालाई सम्मान गर्ने कार्यक्रम बोर्डले आयोजना नगरेको तर प्रचलनअनुसार प्रर्वद्धन गरेको बताएकी छिन् ।
यौन दुर्व्यहारको आरोपले अन्तर्राष्ट्रिय समुदायमा बदनामी कमाएका पुर्जा नेपालमा अन्य प्रकरणमा विवादित छन् । गत जेठमा सगरमाथा आरोहणको समयमा सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको भन्दै अफवाह फैलाउनेदेखि अनधिकृत रूपमा हेलिकोप्टर उडानमा समेत उनी विवादमा तानिएका थिए । एकै सिजनमा उनीमाथि यस्तो गम्भीर आरोप लागेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तगर्तको पर्यटन विभागले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा पुर्जासँग पटकपटक बयान लिएको थियो । र, दोषी देखिएको निष्कर्ष निकालेको थियो । दोषी देखिएका कारण कारबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पठाएको थियो । विभागका तत्कालीन महानिर्देशक रुद्र पण्डितले प्रतिवेदन मन्त्रालयमा पठाए पनि सचिव गणेशप्रसाद पाण्डेयले कारबाही गर्नुको सट्टा फिर्ता पठाइदिएका थिए । कारबाहीबाट बच्न पुर्जाले एमाले, कांग्रेस र माओवादीको शीर्ष तहमा पुगेर याचना नै गरेका थिए ।

विभिन्न दर्जन घटनामा विवादमा तानिएर सरकारी निकायले नै दोषी भनेको व्यक्तिको सम्मानको प्रवर्द्धनमा बोर्डको हतारोले भने गम्भीर प्रश्न उठाएको छ । पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्ट्साले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यो विषयमा अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले लामो स्टोरी प्रकाशित गरेको छ । काठमाडौंको मेरियट होटलमा व्यापारिक छलफलका क्रममा पुर्जाले आफूलाई किस गरेको, होटलको कोठासम्म तानेर लगेको र कपडा खोलेको लोट्टा हिन्ट्साले न्युयोर्क टाइम्सलाई बताएकी छिन् ।
हिन्ट्सा पनि एक पर्वतारोही हुन् । उनले आफ्नो साथीसँग मिलेर लेखेको एक पुस्तकमा यो घटना उल्लेख गरेकी छिन् । तर, त्यसमा पुर्जाको नाम उल्लेख नगरिएको तर, न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले पुर्जाको नाम लिएको न्युयोर्क टाइम्सले लेखेको छ ।
संयोगले त्यही होटलमा पुर्जालाई सम्मान गरिएको छ । पुर्जाले पछिल्ला दिन आफ्नो बिग्रँदो छवि सुधारका लागि काठमाडौंमा निजी खर्च बढाइरहेका छन् ।
विवादित विगत
सगरमाथा आरोहण सिजनमा निर्मल पुर्जाले १३ जेठ २०८१ मा आरोहणका लागि टाँगिएका डोरी काटिएको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गरेका थिए । बाल्कोनी र साउथ कोलबीचको भागको डोरी काटिएको भन्दै पुर्जाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । त्यतिबेला पुर्जाले पिक प्रमोसन प्रालिका बाबु शेर्पासँग रेडियो सेटमा कुराकानी गर्दै गरेको भिडियो सन्देश बनाएर सार्वजनिक गरेका थिए ।
पुर्जाले १३ जेठमा उक्त सन्देश विश्वभर फैलाएलगत्तै पर्यटन विभाग र पर्वतारोहण सञ्चालक संघले छुट्टाछुट्टै अध्ययन गरेको थियो । विभाग र संघले डोरी काटिएको नपाइएको भन्दै १४ जेठमा विज्ञप्ति निकालेर पुर्जाको गतिविधिको आलोचना गरेका थिए । संघले पर्यटन ऐनअनुसार पुर्जामाथि कारबाही गर्न माग पनि गरेको थियो ।
पुर्जाको विषयमा उक्त विवाद चर्किएपछि विभागले अनुसन्धान गरेको थियो । डोरी प्रकरणसम्बन्धी अन्तिम प्रतिवेदन र कारबाही सिफारिस प्रतिवेदन विभागले मन्त्रालयमा बुझाएको थियो । अनुसन्धानका क्रममा विभागले यसअघि पुर्जासँग दुईपटक बयान लिएको थियो । त्यसमा दोषी देखिएका पुर्जाले अनुसन्धानकै क्रममा भिडियो डिलिट गरेका थिए । त्यसबीचमा कारबाहीबाट बच्न पुर्जा एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालसम्म पुगेका थिए । यती समूहसहितका केही व्यवसायी पनि सक्रिय भएका थिए ।
डोरी काटिएको गलत अफवाह फैलाउने पुर्जाले ६ जेठ २०८१ मा सगरमाथाको निषेधित क्षेत्रमा हेलिकोप्टर ल्यान्ड गराएका थिए । सगरमाथाको क्याम्प २ मा बिहान साढे ११ बजे पुर्जाले प्रभु हेलिकोप्टर अवतरण गराएको विषय पनि विवादमा थियो । प्रभुको ९ एन–एएनएल कलसाइनको ए३५० बीथ्री हेलिकोप्टर लुक्ला विमानस्थलबाट सीधै क्याम्प २ मा अवतरण गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमविपरीत पुर्जाले हेलिकोप्टर अवतरण गराएको विषय विवादमा आएपछि प्राधिकरणले पुर्जालाई त कारबाही गर्न सक्ने अवस्था थिएन, तर पुर्जालाई लिएर गएको हेलिकोप्टरका पाइलटलाई भने कारबाही गर्यो । प्रभु हेलिकोप्टरका वरिष्ठ पाइलट सोवित गौचन ६ जेठपछि ग्राउन्डेड भएका थिए ।
विदेशमा बदनाम
यौन दुर्व्यहारको आरोप लागेपछि विश्वप्रसिद्ध कम्पनीहरू जसले पुर्जासँग सहकार्य गर्ने सहमति गरेका थिए, ती कम्पनीले सम्झौता तोड्ने निर्णय लिएका थिए । उनीमाथि संसारभर प्रश्न उठ्न थालेकै बेला नेपालमा भने राजनीतिक पहुँचका आधारमा अनधिकृत फाइदा लिइरहेका थिए । बेलायती नागरिकता र राहदानीवाहक पुर्जाले नेपाली नागरिकता दुरुपयोग गरेको आरोप त्यही बेला लागेको थियो । अर्थात्, अन्तर्राष्ट्रिय समुदायले यौन दुर्व्यहारको आरोप खेपेर अन्तर्राष्ट्रिय कम्पनीहरूले सम्झौता भङ्ग गरिरहेको बेलामा नेपालमा अधिक सुविधा लिइरहेका थिए ।
पुर्जामाथि आरोप लागेलगत्तै विश्वप्रसिद्ध स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ले पुर्जामाथि गम्भीर प्रश्न उठाएर अवार्डको विषयमा जवाफ दिएको थियो । सन् २०२३ मा पुर्जालाई ‘आईएसपीओ कप २०२१’ अवार्ड दिएको थियो । २९ जेठमा विज्ञप्ति निकालेर आईएसपीओले पुर्जामाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई गम्भीर रूपमा लिएको उल्लेख गरेको थियो । उसले भनेको थियो, ‘यो अवस्था आएकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौँ र पीडित सबैलाई हाम्रो समर्थन र सहानुभूति प्रदान गर्दछौँ, भर्खरै, हामीले निर्मल पुर्जाले दुई महिला आरोहीमाथि जबर्जस्ती र यौन उत्पीडन गरेका रिपोर्ट र आरोपहरू प्राप्त गरेका छौँ । हामी यी आरोपहरूबाट विचलित भएका छौँ । खेलकुदभन्दा बाहिरको इमानदारी, सम्मान र निष्पक्षताको प्रवर्द्धन हाम्रा लागि केन्द्रीय चिन्ता हो । हामी यो स्पष्ट गर्न चाहन्छौँ कि यौन उत्पीडन र कुनै पनि प्रकारको शारीरिक वा मानसिक दुर्व्यवहारलाई हाम्रो श्रेणीमा कुनै स्थान छैन र सहने छैन ।’

१८ जेठ २०८० मा द न्युयोर्क टाइम्सले पुर्जामाथि यौन दुर्व्यहारको आरोपसहितको लामो स्टोरी प्रकाशित गरेपछि पुर्जासँग जोडिएका कम्पनीहरू सतर्क बन्न थालेका हुन् । पुर्जालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेका कम्पनीहरूमध्ये केहीले सम्बन्ध तोड्न थालेका थिए ।
२३ जेठमा स्कार्पा कम्पनीले पुर्जासँगको सम्बन्ध तोडेको घोषणा गरेको थियो । विज्ञप्ति प्रकाशित गरेर स्कार्पाले पुर्जामाथि लागेको यौन दुर्व्यहारको आरोप गम्भीर भएको र त्यसमा कम्पनी संवेदनशील भएकाले तत्कालका लागि पुर्जासँग जोडिएर अनलाइन र अफलाइनमार्फत भइरहेका बजारीकरण र प्रवर्द्धनका कार्यहरू रोक्ने निर्णय गरेको उल्लेख गरेको छ ।
स्पार्का विश्वप्रसिद्ध बुट उत्पादक कम्पनी हो, जसले हिमाल आरोहण तथा स्कीका क्रममा उपयोग गरिने बुटहरू उत्पादन गर्दछ । पुर्जाले ८ हजार अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेपछि स्कार्पाले ब्रान्ड एम्बास्डरको रूपमा सहकार्य थालेको थियो ।
स्पार्का मात्र होइन, पदयात्रा तथा आरोहणका क्रममा प्रयोग हुने झोला उत्पादन गर्ने अमेरिकन आउट डोर ब्याकप्याक कम्पनीले पनि पुर्जासँगको सहकार्य तोडेको उल्लेख गरेको छ । ‘ओस्प्रे प्याक्स’ नामक उक्त कम्पनीले यौन दुर्व्यवहारसम्बन्धी खबरबारे सचेत रहेकाले पुर्जासँगको सहकार्य रद्द गरेको उल्लेख गरेको थियो । कम्पनीले आफ्नो इन्स्टाग्रामको प्रोफाइलमार्फत पनि उक्त सन्देश प्रवाह गरेको छ ।
त्यसैगरी, अर्को कम्पनी ग्रिभेलले पनि सहकार्य तोडेको सन्देश दिएको छ । पुर्जाको विषयमा प्रकाशित समाचार गम्भीर भएकाले उनीसँगको सहकार्य निलम्बनमा परेको उल्लेख गरेको छ । ग्रिभेल कम्पनीचाहिँ हिमाल आरोहणका लागि आवश्यक पर्ने फलामे सामग्री उत्पादन गर्ने कम्पनी हो ।
सार्वजनिक रूपमा पुर्जाको चरित्रमाथि प्रश्न उठेको विषयमा अन्तर्राष्ट्रिय कम्पनीले सहकार्य तोड्ने निर्णय लिएसँगै उनको व्यवसायमाथि पनि प्रश्न उठेको थियो । जसरी पुर्जामाथि यौन दुर्व्यहारको प्रश्न उठ्यो, त्यसभन्दा बाहिर दर्जन विवादित कर्म गरिरहेका थिए । नेपालका हिमाल आरोहण गर्ने र गराउने क्रममा पुर्जाले शक्तिको दुरुपयोग गरी गैरकानुनी कदमबाट उन्मुक्ति पाइरहेका थिए ।
आमादब्लम हिमालमा कुवेतको झण्डा फहराएको विषय पनि विवादमा छ । सरकारको स्वीकृतबिना आर्थिक लाभका लागि पुर्जाले कुवेती झण्डा हिमालमा फहराएको विषयमा गम्भीर प्रश्न मात्र उठेको थिएन, कारबाहीको दायरामा समेत तानिएका थिए । कुवेत सरकारबाट आर्थिक सहयोग लिएर पुर्जाले उक्त धन्दा गरेको आरोप लागेको थियो । त्यतिबेला पुर्जा आबद्ध कम्पनीले कारबाहीस्वपरुप जरिवान तिरेको भए पनि पुर्जाचाहिँ कारबाहीबाट बचेका थिए । पर्यटन विभागले त्यतिबेला कारबाहीका लागि पुर्जाको नाम पनि अगाडि सारेको थियो, राजनीतिक पहुँचकै आधारमा पुर्जा उक्त कारबाहीबाट बचेका थिए ।
त्यसो त, पुर्जाले नेपालको हिमाल आरोहण गर्दा होस् वा माउन्टेन गाइडको काम गर्दा, नेपाली नागरिकता प्रयोग गरिरहेका छन्, जुन अनधिकृत हो । उनी बेलायती नागरिक हुन् र नेपालको गैरआवासीय नागरिकता म्याग्दी जिल्लाबाट लिएका छन् । विदेशी नागरिकले नेपालको नागरिकता दुरुपयोग गरी कर छलीको धन्दामा सक्रिय छन् । विदेशी नागरिकका लागि हिमाल आरोहण गर्न करिब ५० लाख रुपैयाँभन्दा बढी लाग्छ भने नेपाली नागरिकलाई करिब ११ लाख भए पुग्छ । त्यसै कारण पुर्जाले नेपाली नागरिकता प्रयोग गर्ने गरेका छन् ।
र थप यो पनि...
निर्मल पुर्जामाथि आरोहणदेखि नेपाल प्रवेशमै हुन सक्छ प्रतिबन्ध, कारबाहीबाट बच्न प्रधानमन्त्रीका छोरीबुहारीसम्म लविङ
निर्मल पुर्जाका छलछामको रामकहानी, कारबाहीको डरले अन्तिममा रोके दोहोरो राहदानी प्रयोग
विवादास्पद निर्मल पुर्जाको सगरमाथामा अर्को हर्कतः पर्यटन व्यवसायीद्वारा कारबाही माग
पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप
सगरमाथामा आरोहणको नाममा विकृति, सम्पर्क अधिकृत र ट्रेक कम्पनीको मनपरीमा सरकार रमिते
विवादास्पद निर्मल पुर्जासँग अन्तर्राष्ट्रिय कम्पनीले सहकार्य तोड्दै, पर्यटन विभाग भने पुर्जाको प्रभावमा
विवादास्पद निर्मल पुर्जामाथिको अनुसन्धान अन्तिम चरणमा, विभागले दुई दिनभित्र कारबाही सिफारिस गर्ने
मन्त्रिपरिषद् लैजानुपर्ने निर्मल पुर्जाको कारबाही सिफारिस सचिव पाण्डेले विभागमै गरे फिर्ता
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १६:४९