अन्तरिक्षको महत्त्वपूर्ण परियोजनामा काम गरिरहेको स्पेसएक्स कम्पनीका मालिक एलन मस्कको स्टारसिप रकेटको पछिल्लो परीक्षणको चर्चा अहिले संसारभर चलिरहेको छ । खासमा उक्त परीक्षणका क्रममा स्टारसिप रकेटलाई लन्च प्याडमा सुरक्षित उतारियो । र, स्पेसएक्स यसमा सफल हुने पहिलो कम्पनी बन्न पुगेको छ ।
पाँचौँ परीक्षण उडानमा स्पेसएक्सको अन्तरिक्ष यानलाई आधा बाटोमा सुस्त गरियो र बुस्टरलाई जहाँबाट छोडिएको थियो, त्यही लन्च टावरमा फेरि उतार्नमा सफलता मिल्यो । यो परीक्षणपछि तीव्र रूपले अझै पुनः प्रयोग गर्ने रकेट बनाउने आफ्नो महत्त्वाकांक्षी परियोजनामा स्पेसएक्स महत्त्वपूर्ण चरणमा पुगेको छ । बुस्टर सुरक्षित रूपले फिर्ता आउनुलाई स्पेस एक्सका इन्जिनियरले ऐतिहासिक दिन भनेका छन् ।
सुपर हेभी बुस्टर भनिने रकेटको तल्लो भागलाई लन्चिङ प्याडमा उतार्ने प्रक्रिया निकै कठिन थियो । तर, त्यसलाई सहजै उतारियो । लन्चभन्दा अगाडि स्पेसएक्स टिम यो मिसन असफल हुन सक्नेमा सशंकित थियो । बुस्टर लन्च प्याडको ठाउँमा मेक्सिकोको खाडीमा खस्यो भने आफूहरू चकित नहुने टिमको भनाइ थियो ।
पछिल्ला दुई परीक्षणमा मिलेको उपलब्धिपछि अब स्पेसएक्सले केही असाधारण उपलब्धिमाथि ध्यान केन्द्रित गर्न सक्छ । स्पेसएक्सले असफल परीक्षणको १८ महिनाभित्र सफलता हासिल गरेको हो । त्यो बेला लन्चिङको केही समयपछि नै रकेटमा विस्फोट भएको थियो । पाँचौँ परीक्षणको सुरुवाती चरण पनि गत परीक्षणजस्तै थियो । अर्थात् जमिनबाट उठेको २.७५ मिनेटमा यानबाट बुस्टर अलग भयो । यसपछि बुस्टर टेक्सासमा रहेको लन्च प्याडतिर फर्केर आउन थाल्यो ।
अवतरणका लागि दुई मिनेटको समय थियो । टिमले अन्तिम निरीक्षण गर्दासम्म आफ्नो कोसिस सफल हुन्छ कि हुँदैन भन्ने निश्चित थिएन । फ्लाइट डाइरेक्टरले संकेत दिएपछि मिसन कन्ट्रोलमा रहेका स्पेसएक्स कर्मचारीमा खुसी फैलियो । यो कोसिसका लागि हजारौँ प्रक्रिया पालना गर्नुपर्ने कम्पनीले बताएको थियो । सुपर हेभी बुस्टर पृथ्वीको वातावरणमा फर्केपछि यसको र्याफ्टर इन्जिनले यसलाई सुस्त पार्ने काम गर्यो । त्यो समय यसको रफ्तार केही हजार माइल प्रतिघण्टा थियो ।
बुस्टर १ सय ४६ मिटर उचाइमा रहेको ल्याण्डिङ टावरको नजिकै पुगेर करिब हावामा स्थिर भएको थियो । बुस्टरको तल्लो हिस्साबाट बैगुनी लपका उठिरहेको थियो । यसपछि बिस्तारै बुस्टर मेकानिकल आर्ममा आएर फिट भयो । यो रकेटको अन्तरिक्ष यानवाला भाग पहिल्यै अलग भएको थियो । यसमा स्वतन्त्र इन्जिन चालु भएको थियो । यो त्यही मोड्युल हो, जसमा भविष्यका अभियानमा अन्तरिक्ष यात्री बसेर जानेछन् ।
यो अन्तरिक्ष यान ४० मिनेटपछि हिन्द महासागरमा आएर खस्यो । स्पेसएक्सका सीईओ एलन मस्कले एक्समा लेखेका छन्, ‘अन्तरिक्ष यान सटिक क्षेत्रमा उत्रियो । दुई लक्ष्यमध्ये दोस्रो पूरा भयो ।’ अन्तरिक्ष यान सटिक तरिकाले अवतरण मात्र गरेन, स्पेसएक्सले यानको हार्डवेयरका केही भागलाई सुरक्षित बचाउनमा समेत सफलता हासिल गर्यो ।
लन्च प्याडमै बुस्टरलाई पुनः उतारिनुले यस खालको मिसनमा जटिलता कम हुनेछ । र, तीव्रताका साथ अन्तरिक्ष यानलाई मिसनमा पठाउन मद्दत मिल्ने छ । रकेट सिस्टमबाट एक दिन मान्छेलाई चन्द्रमामा उतार्ने गरी एलन मस्क र स्पेसएक्सले सुरु गरेको एक ठूलो परियोजना छ । यसले मानवजातिलाई बहुग्रहीय बनाउने छ ।
यो सफलताबाट अमेरिकी अन्तरिक्ष एजेन्सी नासा पनि खुसी छ । सन् २०२६ सम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीलाई लैजाने स्पेससिप ल्याण्डको विकास गर्न नासाले स्पेसएक्ससँग २.८ अर्ब डलरको करार गरेको छ । अन्तरिक्षको सन्दर्भमा यो दिन धेरै टाढा छैन । त्यसैले मस्कको टिम रकेटलाई रिलन्च गर्न हतारिएको छ ।
तर, अमेरिकाको सरकारी विभाग संघीय उड्डयन प्रशासन (एफएए) ले नोभेम्बरभन्दा अगाडि कुनै पनि लन्च नहुने प्रस्ट पारिसकेको छ । कम्पनीको परमिटबारे समीक्षा गर्नुपर्ने एफएएको भनाइ छ । सबै उडानका लागि एफएएको स्वीकृति चाहिन्छ । एफएए र मस्कबीच पनि विवाद छ । लाइसेन्सका सर्तहरू पूरा गर्नमा असफलता र पहिलेका उडानका लागि पनि परमिट नलिएको भन्दै संस्थाले मस्कको कम्पनी स्पेसएक्सलाई ६.३३ लाख डलरको जरिवाना तिराएको थियो ।
लाइसेन्स जारी गर्नुभन्दा अगाडि एफएएले उडानको समीक्षा गर्छ । खासगरी पर्यावरणमा यसको असर के-कति हुन्छ भन्ने विषयमा । उक्त फाइनको जवाफमा मस्कले एजेन्सविरुद्ध मुद्दा हाल्ने धम्की दिएका थिए । स्पेसएक्सले पनि एक सार्वजनिक पोस्टमा गलत रिपोर्टिङको आरोप लगाउँदै आलोचना गरेको थियो ।
अहिले एफएएले उत्सर्जनको व्यापक प्रभावको साटो, रकेट लन्चबाट पर्यावरणमा पर्ने तत्कालीन असरको मात्रै आकलन गर्छ । युनिभर्सिटी कलेज लण्डनमा एटमस्फेरिक केमिस्ट्री र एयर क्वालिटी पढाउने प्रोफेसर डा. एलाइस मरैसका अनुसार, परिवहनका अन्य माध्यमको तुलनामा रकेटबाट हुने कार्बन उत्सर्जन कम हो तर ग्रहको तापक्रम बढाउने अन्य प्रदूषणमा ध्यान दिइएको छैन ।
उनी भन्छिन्, ‘कालो कार्बन सबैभन्दा ठूलो चिन्ताको विषय हो । स्टारसिप रकेटमा तरल मिथेन प्रयोग गरिँदै छ । यो अपेक्षाकृत नयाँ इन्धन हो । यसबाट हुने उत्सर्जनलाई लिएर हामीसँग निकै कम आँकडा छ ।’ डा. मरैसका अनुसार, रकेटबाट निस्कने कालो कार्बनलाई लिएर ठूलो चिन्ता किन पनि छ भने यो विमानभन्दा धेरै माथि उड्छ, जहाँ यसको असर लामो समयसम्म रहन सक्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१ १५:२०