यही ११ र १२ असोजमा देशभर परेको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ । फाउन्डेसनले गोदावरी नगरपालिकामा बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३) का करिब २ सय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।
'संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, 'विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितहरूलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौँ । अब हामीले पुनर्स्थापनामा काम गर्नुपर्नेछ ।'
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडाहरू, हाइजिन किट, कम्बल र म्याटलगायतका सामानहरू छन् । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमै पुगेर पीडित परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
खड्काले राहत सहयोगका बारेमा थप प्रकाश पार्दै भनिन्, 'एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पुर्याउँदै आएको छ र भविष्यमा पनि आपत् विपद्मा सहयोग पुर्याउन तत्पर छौँ । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ ।'
एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरोपीडितहरूका लागि ठूलो सहयोग सावित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।
एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्त्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ १६:३०