मेरो प्रारब्धमा त्यही लेखेको थियो, सायद । सुदूरपूर्वमा जन्मेको म पश्चिममा जागिर खान पुगेँ । दुई दशक नेपालगञ्जलाई कर्मभूमि बनाइसकेको थिएँ । नेपालगञ्जमै रहेका कारण एउटा पारिवारिक दुर्घटनाको म साक्षी बन्न पुगेँ । हरि दाइ परिवारमै सफल छोरा गनिनुहुन्थ्यो । बेलायतमा ठूलै कम्पनीमा हेड एरोनोटिकल इन्जिनियरको जागिर थियो । जर्मनीमा घर, बेलायतमा घर र नेपालका सबै ठूला नेतासँग उठबस । जर्मनी र बेलायत जाँदा नेपाली थुप्रै नेतालाई घुमाउने उहाँ नै हुनुहुन्थ्यो ।
विदेशमा रहे पनि उहाँलाई देशको धेरै चिन्ता थियो । आफन्त, परिवार र गाउँबस्तीका लागि धेरै सहयोग गर्नुहुन्थ्यो । उबेला परिवार र जिल्लामै उहाँको ठूलो चर्चा थियो । पछि उहाँलाई पेटको क्यान्सर भएछ । बेलायत र जर्मनीका अस्पतालबाट निको नभएपछि आर्युवेदको झिनो आशा लिएर उहाँ भारत आउनुभयो । लावान्ये आयुर्वेदिक अस्पताल लखनउमा भर्ना गरेर अन्तिम समयमा उपचार थालियो । तर, आर्युवेदले पनि उहाँलाई बचाउन सकेन । अन्ततः लखनउमै उपचारका क्रममा उहाँको दुःखद निधन भयो ।
म नेपालगञ्ज बस्ने हुनाले उहाँको उपचारलगायत हेरचाहमा संलग्न थिएँ । प्रारब्धकै कारण भनाैँ, बेलायत बस्ने दाइ त्यहीँनजिक भारतमा उपचार गर्न आइपुग्नुभो र मैले भाइको नाताले दाजुको लखनउमा अन्तिम संस्कारमा सहभागी हुन सकेँ ।
अस्पतालमा हुँदा उहाँसँग धेरै कुरा भएका थिए । राति धेरै समय बस्ने, खानपानमा ध्यान नदिनाले मलाई यस्तो भो भनेर उहाँले मलाई सुनाउनुहुन्थ्यो । अन्तिम अवस्थामा उहाँले मलाई भन्नुभएको थियो, 'तिमीचाहिँ यो गल्ती नगर्नू ।' अनि, मैले दाइको वचनलाई गुरुमन्त्र मानेर शाहाकारी हुने निश्चय गरेँ ।
त्यतिबेला म हरेक हिसाबले ठीकठाकै थिएँ । नाम चलेको गैरसरकारी संस्थामा केरो अधिकृतस्तरको जागिर थियो । पेपेको जिन्स र टिसर्ट, एडिडासको जुत्ता दरबारमार्गको शोरुमबाट खरिद गरेर लगाउँथेँ । खान लगाउन अनि घुम्ने कुरामा त्यतिबेला म निकै सोखिन थिए । अन्तिमपटक नेपालगञ्जको ट्राभल भिलेज रिसोर्टमा सुरुमा दुई पेग अनि तेस्रो पेग साथी बिबी रानाका लागि पिएको याद छ ।
'तपाईंको शान्त तरिकाले रक्सी खाने बानी साह्रै राम्रो लाग्छ,' चुरोट तान्दै रानाजीले भनेको याद छ । 'सबै जनालाई रक्सीले उत्तेजित बनाउँछ तर तपाईं चाहि शान्त किन हो ?,' प्रश्न गरेको पनि याद छ । म रक्सी लागेपछि कि गीत गाउँथेँ, कि शान्त भएर बस्थेँ ।
दसैँसँगै शाकाहारी र मांसहारीको बर्सेनि दोहोरी सुरु हुन्छ । वर्षभरि चुप रहने शाकाहारीहरू बलिको विरोध गर्छन् । मांसहारी त खानलाई सबै हतकन्डा अपनाउने नै भए । खुसी हुँदा नि खाने, पिरमा नि खाने नै भए ।
जीवनको एउटा आयाममा मलाई पनि दसैँ सम्झनेबित्तिकै मासु र नयाँ लुगाको सम्झनाले शरीरमा तरङ्ग छाउँथ्यो । उबेला म जन्मिएको संखुवासवाको गाउँमा मीठो खाना भन्नासाथ मासु कि सखर (गुण, भेली) नै हुन्थ्यो । गाउँमा चाडपर्वबाहेक मासु खाने चलन हुन्थेन । अहिलेजस्तो ब्रोइलर कुखुरा गाउँ पुगेका थिएनन् । त्यसमा पनि क्षेत्री बाहुनले कुखुरा खाँदैनथे । साना व्रतबन्ध नगरेकालाई भने खान छुट थियो । महिनौँअघिदेखि खुवाइ पोसाएर दसैँका लागि बुवाआमाले खसीबोका पालेर राख्नुहुन्थ्यो । सुदूर पूर्वको त्यो सानो गाउँमा शरद ऋतुसँगै दसैँको चटारो सुरु हुन्थ्यो । घरमा रातो माटो र कमेरोले पोत्ने, बर्खाले झाडी भएको आँगन सफा गर्ने कार्य हुन्थ्यो । कतै पिङ पनि लगाउँथे ।
रेडिमेड कपडाको लुगा जमिनदार, व्यापारी, सरकारी कर्मचारी, पुलिस आर्मीबाहेक आममानिसको हैसियतबाहिर थिए । सबैले थान कपडा किनेर परम्परागत दमाईं दाइलाई घरमै बोलाएर सिलाउने चलन थियो । एउटै थान कपडाको लुगा लगाउने भएपछि घरअनुसारको ड्रेस कोड हुने । कसको बच्चा भन्ने पनि टाढैबाट चिनिने । पछि बिस्तारै रेडिमेड कपडाले स्थान पायो ।
प्रायः घरमा द्वन्द्व छ । डिप्रेसन, एन्जाइटीले मानिसलाई बिथोलेको छ, परिवारमा शान्ति छैन । तर, मानिसहरू मीठा परिकारका नाममा मासु र महँगा रक्सीले लट्ठ छन् । महँगा रक्सीले क्षणिक आनन्द दिए पनि दीर्घकालसम्म फाइदा गर्दैन ।
घटस्थापनाको दिन पुरोहित सीताराम खनाललाई बोलाएर दुर्गा सप्तसती चण्डी पाठ गराएर जमरा राख्ने चनल थियो । बाँकी दिन धुप बत्ती बाल्ने र जमरामा पानी हाल्ने काम हुन्थ्यो । अस्टमीको दिन आँगन गोबर र रातो माटोले लिपेर कुभिन्डो, घिरौँला, केराको खुट्टा लगाएर पशु बनाउने, घरभित्र दुर्गाको थान स्थापना गरेर बोकालाई तिम्रो परम गती होस् र यो पशु योनीबाट पार होस् भन्दै पर्साएर कुभिन्डो घिरौलासहित बोकालाई काट्ने, कुललाई धुप हाल्ने र बोकाको टाउको दुर्गाको थानमा चढाउने चलन थियो । अनि रगतले घरको भित्तामा पाँच औँलाको छाप लगाउने चलन थियो । कति सत्य हो, राणा सरकारको पालामा यो छाप हेर्न आउने र नलगाउनेलाई कारबाहीसमेत गर्थे रे ।
तर, म शाकाहारी भएँ । हरिदाइलाई दिएको वचनले पनि त्यसमा काम गरेको छ । मेरो घरको म पहिलो शाकाहारी हुँ । खाने, रमाउने अनि घुम्ने २४ वर्षको उमेरमा मलाई शाकाहारी बन्ने इच्छा भयो । दुइ दशकदेखि मैले शाकाहारी जीवन अपनाएको छु । मैले मेरो जीवनलाई रुपान्तरण गरेँ, त्यसैले यसैमा आनन्द लाग्छ । जीवनको उद्देश्य खोज्न लागेँ, ध्यान जप पूजापाठतिर लागेँ । शाकाहारी जीवनको अनुसरण गरेँ ।
नेपालगञ्जका रैथाने धेरै बासिन्दा शाकाहारी छन्, जो दसैँ फरक तरिकाले मनाउने गर्छन । मलाई नि त्यो कुरा मन पर्यो । नवरात्रको नाै दिन पूरै व्रत बस्ने, जागरण भजन गर्ने र जप पूजा गर्ने आदि चलन छ । जीवनको पछिल्लो चरणमा मैले यो आचरण अनुसरण गरेँ । शाकाहारी जीवन स्वास्थ्यको दृष्टिकोणबाट पनि राम्रो हो । सरल खानाले कहिल्यै मन उत्तेजित बनाउँदैन । मनलाई शान्त राख्न खानाको पनि महत्त्व हुने रहेछ । सधैँ प्रसन्न खुसी रहने बानीको विकास हुँदो रहेछ ।
आज विश्वभर नै मानसिक शान्तिको लहर छाएको छ । हरेक मानिस शान्तिका लागि योगा ध्यान सिक्नेको भिड छ । प्रायः घरमा द्वन्द्व छ । डिप्रेसन, एन्जाइटीले मानिसलाई बिथोलेको छ, परिवारमा शान्ति छैन । तर, मानिसहरू मीठा परिकारका नाममा मासु र महँगा रक्सीले लट्ठ छन् । महँगा रक्सीले क्षणिक आनन्द दिए पनि दीर्घकालसम्म फाइदा गर्दैन । सधैँ खुसी रहन मद्यपान छाड्ने र शाकाहारले मद्दत गर्छ । यसैमा अध्यात्म जोडिदिने हो भने सुनमा सुगन्ध हुन्छ ।
आजको समय सबै विशाक्त छ । एउटा ब्रोइलर कुखुरालाई मासु बन्नुअघि १३ वटासम्म खोप दिने गरिएको छ । त्यसको साइड इफेक्टबारे हामीले सोचेका छाैँ ? अण्डा पनि सोचेजस्तो स्वस्थकर छैन । यसले मानव जीवनमा प्रत्यक्ष असर पारेको छ । खसीबोकामा पनि छिटो बढ्ने हर्मोन औषधि प्रयोग गर्न थालिएको छ । यी सबै विषादियुक्त खानाबाट मुक्त हुने एउटै बाटो शाकाहारी जीवन अनुसरण नै हो ।
नेपालमा हिन्दु ८१ प्रतिशत छन् तर शाकाहारी ७ प्रतिशत मात्र छन् । कतिपय जातजाति परम्परादेखि नै देव पितृ कार्यमा समेत मासु चढाउने चलन छ । हिन्दुभित्र नै शाकाहारी र मांसहारीबीच विवाद छ । तर, यो धर्मसँगै जीवन शैलीको विषय हो । खानाकै कारण शरीरमा आलस्यता आउँछ । गह्रौँ खाना खाँदा निद्रा र आलस्य बढी हुने हुनाले विद्यार्थी र बुढापाकालाई शाहाकार राम्रो हो ।
यसपालि दसैँको मुखमा नेपालमा बिपत आयो । अर्थतन्त्रमा थलिएको देशमा धेरै मानिस बेरोजगार छन र ब्यापार घाटामा छ । त्यसै पनि दिल खोलेर पर्ब मनाउन सक्ने अवस्थामा धेरै मानिस छैनन ।
'न मुछे आमा दहीमा टीका न छरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिनँ फर्केर ।'
दसैँको मुखमा आएको बाढीपहिरोले लक्ष्मण रायमाझीको यो गीतको सम्झना गराएको छ । जन्मघरबाट टाढा बसेकाहरूलाई सधैँ दसैँमा यो गीतले रुवाउँछ । यसपालि त् झन् विपद् नै आइलाग्यो । लामो छुट्टीको समय मिलाएर जन्मस्थान फर्कन चाहनेलाई यस वर्षको बेमाैसमी अति वर्षाले अप्ठ्यारोमा पार्यो । हिन्दु सनातनीहरूको महान् चाड दसैँलाई पीडादायी बनाएको छ । एक दिन भए पनि परिवार आफन्तसँग भेट गराउने र सँगै बसेर खाने पर्व निरस बन्न पुगेको छ । वर्षभरिको काम थकाइ र तनाव आफन्तसँग बिताएका सुखमय पलले बिर्साउने र नयाँ ऊर्जा लिएर गाउँबाट फर्कनेहरूले अब अर्को वर्ष पर्खनुपर्नेछ । सम्भव हुनेले सजिलोसँग दसैँ मनाऔँैं ।
फेरि पनि, शिलापत्रमार्फत सबैलाई माता दुर्गाले रक्षा गरून् । विजया दशमीको शुभकामना ।
'या देवी सर्व भूतेसु शक्ति रुपेन सस्थिता
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम: ।'
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ १८:१२