महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रीडी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक पहिलो भएको बैंकको दाबी छ ।
यस सुविधा थप गरेसँगै ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ, जसले गर्दा ग्राहकहरूको आफ्नो कार्डको विवरण अनधिकृत रूपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबारसमेत प्रमाणीकरण हुनेछ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नका निमित्त इमेल वा म्यासेजमार्फत एकपटक मात्र प्रयोग हुने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।
यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास बैंकले लिएको छ ।
भिसा थ्रीडी सुविधाका यस्ता छन् फाइदा
- यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकाले ग्राहकहरू अनलाइनमार्फत हुने ठगीबाट बच्न सकिने ।
- ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनधिकृत पहुँचबाट सुरक्षित हुने भएकाले ढुक्कसँग कारोबार गर्न सकिने ।
- रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने ।
- विश्वभर रहेका हजारौँ ई–कमर्स वेबसाइटहरूले भिसा थ्रीडी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकाले ग्राहकहरूले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सकिने ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १८:११