प्रधानमन्त्री केपी शर्मा ओलीले १५ असाेजकाे विशेष पत्रकार सम्मेलनमा अविरल वर्षा, बाढीपहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य सुरु भएको र दुई दिनभित्र खोज र उद्धार कार्य सकिने दाबी गरे । घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि फैलिन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले जानकारी गराए ।
प्रधानमन्त्रीले भनेझैँ दुई दिनमा खोज र उद्धार कार्य सकिएला त ? पर्याप्त पूर्वतयारी नगरेर आलोचनामा परेको सरकारले पीडितलाई समयमै राहत वितरण गर्ला ? दसैँको मुखमा राजधानी काठमाडौंसहित कोशी र बागमती प्रदेशका सडकहरू पहिरोले पुरिएका छन् । यस्तोमा सरकारले द्रुत गतिमा सेवा सुचारु गर्ला ? चौतर्फी चासो छ ।
गत ११ र १२ असोजको भिषण बाढीपहिरोका कारण २४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता र १२८ जना घाइते छन् । बाढीपहिराेमा परेका १३ हजार १ सय २९ जनाको सकुशल उद्धार भएको गृह मन्त्रालयले जनाएकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई दुई दिनभित्र बाटोमा अलपत्र परेकाहरूलाई गन्तव्यमा पुर्याउने बताउँछन् । एक साताभित्र अवरुद्ध सबै सडकहरू खोलिसक्ने दाबी गर्दै उनी भन्छन्, ‘पीडितका लागि राहत वितरणकाे काम पनि सुरु भइसकेको छ । अस्थायी बसोबास नबनाउञ्जेल राहत दिनुपर्ने हुन्छ । काम तीव्र रूपमा भइरहेको छ । १० दिन जतिमा पुनर्स्थापना गर्न सकिन्छ भनेर काम भइरहेको छ ।’
बाढीपहिरोले २१ वटा जिल्लाहरू बढी प्रभावित भएका छन् । गृह मन्त्रालयले सबैभन्दा धेरै प्रभावित ८ वटा जिल्लामा सहसचिवकाे नेतृत्वमा ८ वटा टाेली खटाएकाे छ । यी जिल्लाहरूमा धनजनको क्षति बढी भएको छ । भत्केका सडकहरूको मर्मत गरेर एक सातामा सुचारु गर्ने भौतिक पूर्वाधार मन्त्रालयले आफूहरूको छलफलमा जनाएको प्रवक्ता भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्रीले भनेजस्तै दुई दिनमा खोज कार्य र उद्धार सकिन्छ । राहत वितरण, पुनर्स्थापना, यातायात सुचारु, खानेपानी, विद्युत् सञ्चालन मुख्य प्राथमिकतामा रहेको छ ।’
अहिले बाटोघाटो, सडक यातायात खोल्ने कुरा मुख्य प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले बताइन् । उनले भनिन्, ‘यही मितिमा नै सबै सडक खुलाउन सकिन्छ भन्ने अवस्था छैन । पहिलो प्राथमिकता ब्लकेज हटाउने हो । त्यो काम भइरहेको छ । मर्मतको काम पनि सुरु भएको छ । पहिलाको जसरी सहज रूपमा सडक सुचारु नहुन सक्छन् । अहिलेको प्राथमिकतामा यातायात सहज रूपमा सुचारु हुने गरी सडक मर्मत सम्भार गर्ने हो । कहीँ धेरै क्षति भएको छ । त्यस्तो ठाउँमा अलि समय लाग्न सक्छ । कम क्षति भएको ठाउँमा एक तर्फी रूपमा सडक खुलेका छन् ।’
सडक विभागका सहायक प्रवक्ता अमितकुमार शर्मा सानाठूला गरेर धेरैवटा सडक र राजमार्गहरू अहिले पनि अवरुद्ध रहे पनि बीपी र अरनिको हाइवेबाहेक सबै हाइवे दसैँसम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँछन् । उनले भने, ‘सबैभन्दा अप्ठेरो बीपी हाइवे छ । धेरै ठाउँ भत्केको छ । त्यसलाई सञ्चालन गर्न समय लाग्लाजस्तो छ । त्यस्तै अरनिको हाइवे पनि अप्ठेरो अवस्थामा छ । अरनिको हाइवेमा वैकल्पिक बाटो प्रयोग गर्ने गरी तयारी भएको छ । पृथ्वी र त्रिभुवन हाइवे भने छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउँछ ।’
सडक विभागसँग भएका २६४ वटा इक्विपमेन्टहरूमध्ये धेरै इक्विपमेन्टहरू राजधानीबाहिर जाने हाइवेमा प्रयोग भइरहेको शर्माले बताए । उनले भने, ‘अहिले पुनर्निमाणको काम निरन्तर जारी छ । जनशक्ति र साधनस्रोतहरू राजधानीबाहिरका हाइवेमा पुनर्निमाणमा छन् । छिट्टै सडक सुचारु हुन्छन् । भइपरी आउने समस्याका लागि पनि तयारी अवस्थामा छौँ । दाउन्नेमा भौगोलिक अवस्थाले केही असहज छ । तर, सडक सञ्चालन हुन्छ ।’
सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले नेपालथोकबाट पूर्वतर्फ सडकको अवरोध हटाइसकिएको जानकारी दिए । ‘नेपालथोक–खुर्कोट, खुर्कोट–सिन्धुलीमाडी र सिन्धुलीमाडी–बर्दिबास खण्ड सञ्चालनमा आइसकेका छन्,’ उनले भने, ‘अब प्रमुख र जटिल समस्या नेपालथोकभन्दा पश्चिमतर्फको सडक खण्डमा हो ।’
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले अवरुद्ध सडक खुलाउने प्रयासमा काम भइरहेको बताए । काभ्रेतर्फ पर्ने सडक हेर्ने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले धुलिखेलदेखि चौकीडाँडासम्मको अवरोध हटाइए पनि त्यहाँदेखि पूर्वमा समस्या जटिल रहेको प्रस्ट पारे । उनका अनुसार, चौकीडाँडादेखि पूर्वतिर विभिन्न ११ ठाउँमा दुई किलोमिटरभन्दा बढी सडकको नामोनिसान छैन । ‘कतै सय मिटर, कतै ३ सय मिटरदेखि ५ सय मिटरसम्म सडक बगाएको छ,’ उनले भने, ‘गाडी, मोटरसाइकल त के, मान्छे नै हिँड्न नसक्ने अवस्था छ ।’
यद्यपि, सडक खुलाउने प्रयासमा निरन्तर काम भइरहेको उनले बताए । इन्जिनियर योगेश प्रस्ट छैनन्, क्षत्विक्षत् सडक सञ्चालन हुन सक्ने गरी कहिलेसम्म तयार हुन्छ भनेर । ‘चौकीडाँडामा डाइभर्सन बनाइरहेका छौँ । नेपालथोकतिरबाट खोलामा डाइभर्सन गरिँदै छ,’ उनले भने, ‘बीचमा मंगलटारमा काम गरिरहेका निर्माण साधनका लागि हेलिकोप्टरमार्फत तेल पठाएर काम गराइरहेका छौँ ।’
राजधानीबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा मुग्लिन सडक खण्ड एकतर्फी रूपमा खुलेको र दोहोरै रूपमा खुलाउन काम भइरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । उनले भने, ‘कोशी र बागमतीमा फेरि पानी पर्ने भनिएको छ । यदि पानी पर्यो भने समस्या आउन सक्छ । तर, अहिले बाटो खुलाएका छौँ । पानी पर्दा जोखिम छ नै । कृष्णभिरमा सडक भासिएको छ । भूगर्भविद् बोलाएका छौँ, भोलि आउनुभयो भने भोलि नै के कस्तो अवस्था हो, थाहा हुन्छ । सामान्य हो भने मर्मत गर्छौं । जटिल हो भने त्यही किसिमले निर्माण गर्नुपर्छ ।’
वर्षाका कारण यात्रा भने सचेत तरिकाले गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्याल बताउँछन् । उनले भने, ‘अहिले पनि सुक्खा पहिरो गइरहेका छन् । अलिकति पानी परेमा पहिरोको जोखिम छ । सचेत हुनुपर्ने अवस्था छ । तर, पानी परेन भने दसैँमा सहज रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई भन्छन्, 'सामान्य अवस्थामा फर्काउन अझै समय लाग्ने देखिन्छ । पुनर्स्थापना गर्न भने केही समय अझै लाग्छ ।'
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १९:०३