नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्रमा सोमबार कुर्सी हानाहान भएपछि नेतृत्य चयन अन्याैलमा परेको छ । कीर्तिपुरमा जारी बन्दसत्रमा नयाँ नेतृत्व चयनमा उमेरहदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा विवाद भएपछि दुई समूहबीच कुर्सी हानाहान भएको हो । एक प्रतिनिधिले भने, ‘बन्दसत्रमा उमेरहदका विषयमा मतदान गर्ने कि नगर्ने भन्दा पनि उमेरहदको विपक्षमा मतदान गर्न अध्यक्षका आकांक्षीले दबाब दिएपछि प्रतिनिधिले नाराजुलुस गरेका थिए । त्यसैमा विवाद हुँदा कुर्सी हानाहान भयो । नाराजुलुस अझै पनि जारी छ ।’
अखिल क्रान्तिकारीको १० असोजबाट सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत राजनीतिक प्रतिवेदन र विधानमाथि छलफल हुँदा उमेरहदको विषयले प्रवेश पाएको हो । आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा बहुमत नेताहरूले उमेरहद लगाउनुपर्ने धारणा राखेको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीले उमेरहद लगाउनुपर्ने धारणा राख्नुभयो । अध्यक्षले पनि उमेरहद राखेर सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो । त्यही भएर आज विद्यार्थी नेताहरूले अध्यक्षसँग छलफल गर्नुभएको हो ।’
बैठकमा उपमहासचिव जनार्दन शर्माले 'पहिला नै उमेरहद लगाएर जाऊँ, बरु सम्मेलन अलिक ढिला गरौँला' भन्दा नमानेको एक पदाधिकारीले बताए । उनले शर्माको भनाइ भन्दै भने, ‘मैले ६ महिना पहिला नै उमेरहद लगाएर जाऊँ न भन्दा कसैले मान्नुभएन । अहिले सम्मेलनको हलबाट उमेरहद लगाऊँ भन्दा अप्ठेरो हुन्छ होला । विद्यार्थी एक किसिमको तयारी गरेर आएका छन् । लगाउने भए लगाऔँ । मैले भनेको समयमा नै यो कुरा भनेको भए ठीक हुन्थ्यो ।’
माओवादी पदाधिकारीमा छलफल भएपछि उमेरहद क्रान्तिकारीको सम्मेलनसम्म पुगेको छ । सम्मेलन हलमा आइतबारदेखि नै पक्ष र विपक्षमा नाराजुलुस सुरु भएका छन् । क्रान्तिकारीमा यही सम्मेलनबाट उमेरहद लगाएर जानुपर्छ भन्नेहरूको मत बलियो रहेको एक प्रतिनिधिले बताए । ती प्रतिनिधिले भने, ‘अधिकांश ३२ वर्षमुनिकाहरू उमेरहदको पक्षमा छन् । त्योभन्दा माथिका उमेरहद लगाउनु हुन्न भन्ने पक्षमा छन् । आजै मतदान गरेर टुंग्याउने तयारी छ । उमेरहदमा पनि तीन क्याटगोरी छन् । २८, ३० र ३२ मा उमेरहद लगाउने भन्ने छ । मतदानबाट जे परिणाम आउँछ, त्यही लागू हुन्छ ।’
३२ वर्षभन्दा कम उमेरका विद्यार्थीहरू आइतबारदेखि उमेरहदको पक्षमा एक मत नै देखिन्छन् । विद्यार्थी प्रतिनिधि पुजा कँडेलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘क्षमता हुनेले पार्टीमा गएर पार्टी बनाए पनि त हुन्छ नि ! के विद्यार्थीमा बसेर उमेरहद लागू गर्नु हुँदैन भन्दै सिँघौरी खेल्या होलान् । पार्टीमा ३२ सिट, विद्यार्थीमा ३२ वर्षे उमेरहद । अब केही होलाजस्तो छ ।’
क्रान्तिकारीभित्र केही पदाधिकारीले पहिलादेखि नै उमेरहद लागू गरेर जानुपर्ने धारणा राख्दै आएका थिए । त्यसमध्येमा पर्छन् तत्कालीन उपाध्यक्ष क्षितिज सापकोटा । सापकोटाले केही दिनपहिला पेरिसडाँडामा भएको बैठकमा पनि आफूले उमेरहदको कुरा राखेको बताए । उनले भने, ‘मेरो धारणा सुरुबाटै विद्यार्थीको नेतृत्व विद्यार्थीले गर्नुपर्छ, न कि अंकल आन्टीहरूले । अहिले सम्मेलनमा बहसको विषय मात्र होइन, मतदान हुने अवस्था छ । हेरौँ, के हुन्छ मतदानबाट ।’
अब क्रान्तिकारीमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्नेबारे पनि मतदान हुने प्रतिनिधि मदन भुलले बताए । उनले भने, ‘आज उमेरहदका विषयमा मतदान हुन्छ । अनि मात्र नेतृत्व चयनका लागि मतदान हुन्छ । उमेदहदका बारेमा के निर्णय आउँछ, त्यसपछि मात्र अरु को–को उम्मेदवार हुन पाउने भन्ने विषयमा छलफल हुनेछ । उमेरहद नलगाउनेमा निर्णय भए पनि पार्टीले मान्ने भनेको छ ।’
पार्टी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ भने उमेरहदको विपक्षमा उभिएका थिए । उनीहरूले तत्काल उमेरहद लगाएर जान नहुने बताएका थिए । क्रान्तिकारीको सम्मेलनबाट माओवादी पार्टीमा पनि आफ्नो पक्षका उम्मेदवार जिताएर संगठन आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा चलेको छ । क्रान्तिकारीमा पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवनिकटहरूबीच प्रतिस्पर्धा हुने तयारी थियो । उमेरहद लगाउने पक्षमा मतपरिणाम आएमा अहिले क्रान्तिकारीमा तेस्रो तहका नेताहरूबीच प्रतिपस्पर्धा हुनेछ । पार्टी नेतृत्वमा पनि चार जना नेताहरूबीच कसको दबदबा रहने भन्ने प्रतिस्पर्धा पनि छ ।
उमेरहद लागू भएमा उपाध्यक्ष, महासचिव र उपमहासचिवसम्म बिदा हुनेछन् । ३२ वर्ष उमेरहदमा सचिवभन्दा तलका र विधान नै संशोधन गरेर प्रदेशका अध्यक्षका लागि पनि केन्द्रीय अध्यक्षका लागि बाटो खुल्ला गर्ने तयारी भएको एक पूर्वउपाध्यक्ष बताउँछन् । ती पूर्वउपाध्यक्षले भने, ‘उमेरहद लागेमा केन्द्रीय सचिव र प्रदेश अध्यक्षहरूबाट नेतृत्वमा आउने सम्भावना बढी रहन्छ । उमेरहदको विषयले सम्मेलन नै नहोला भन्ने पनि छ ।’
अन्तिम समयमा आएर उमेरहद
राष्ट्रिय सम्मेलन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधि र प्रक्रिया पूरा गरी जो नेतृत्वमा आए पनि स्वीकार्य हुने बताएका थिए । सम्मेलन उद्घाटन गर्दै उनले प्रतिनिधिहरूलाई नेतृत्व चयन गर्न खुल्ला रहेको बताएका थिए । तर, आइतबार पदाधिकारी बैठकबाट विद्यार्थीमा उमेरहद लागू गर्ने भनिए पनि उनले उमेर कति हुने भन्ने निर्णय विद्यार्थीले मतदानबाट गर्न निर्देशन दिए ।
विद्यार्थीमा गुटको प्रभाव बढी नै छ । माओवादीमा प्रचण्डबाहेकका चार गुट छन् । त्यसमध्ये उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनका शक्तिशाली दुई गुट छन् । अन्य दुई गुट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङका छन् । पार्टी र भ्रातृ संगठनमा यी गुटहरूको बाहुल्य कम छ ।
त्यही भएर पनि विद्यार्थीमा उपमहासचिवद्वयको दबदबा छ । तर, विद्यार्थीमा श्रेष्ठ र गुरुङको पनि राम्रो छ । उमेरहद लगाएर प्रचण्डले आफूअनुकूल नेतृत्व ल्याउन चाहेको नेतृत्वको आकांक्षी बताउँछन् । एक जना नेतृत्वका आकांक्षीले भने, ‘उमेरमा पनि मतदान गर्ने भएपछि विवाद हुन्छ र विवाद भएपछि समेम्मेलनलाई विधान सम्मेलन बनाएर आफूअनुकूल नतृत्व ल्याउने रणनीति अध्यक्षको रहेको देखिन्छ । होइन भने अन्तिम समयमा आएर उमेरहद लगाउन किन भन्नुभयो ? केही न केही गडबड त छ ।’
अहिलेका नेतृत्वका आकांक्षी सबैका धुरी प्रचण्ड भए पनि उनीकेन्द्रित कोही पनि आकांक्षी थिएनन् । सबै नेतृत्वका दाबेदारहरू दोस्रो तहका नेताहरूमा केन्द्रित रहेको माओवादीका एक केन्द्रीय सदस्यले बताए । उनी भन्छन्, ‘यो सम्मेलनबाट विद्यार्थीको नेतृत्वमा आउन चाहनेहरू सबै दोस्रो तहका नेताहरूसँग बढी नजिक भएकाहरू छन्, जसका कारण दोस्रो तहका नेताहरूबीच आआफ्नो गुटकालाई जिताउन प्रतिस्पर्धा थियो । अध्यक्षको आफ्नै यो हो है अध्यक्ष हुने भन्ने नै भइदिएनन् । जनार्दन, वर्षमान, नारायणकाजी र देव गुरुङमा विद्यार्थीहरू केन्द्रित भए । अन्तिममा आएर सम्मेलन नै स्थगित गरेर आफूकेन्द्रित गर्न खोजेको देखियो ।’
उमेरहद लगाएर नेतृत्वका लागि निर्वाचन हुने अवस्था आएमा शर्मा समूहले अध्यक्ष र महासचिवका लागि तेस्रो तहका विद्यार्थी तयार गरेका छन् । श्रेष्ठ समूहबाट पनि अध्यक्षका लागि तेस्रो तहका विद्यार्थीलाई तयार गरिएको छ । पुन समूहले पनि सचिवबाट अध्यक्षको उम्मेदवार बनाउने तयारी थालेका छन् । तर, अहिलेका आकांक्षीले नै उमेरहदको विपक्षमा मतदान गराउने कोसिस गरेपछि सम्मेलन नै बिथोलिएको छ । अहिले प्रहरीले सम्मेलन हल घेराउ गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १६:१९