नेपाली सेनाले काठमाडौं—तराई मधेस द्रुतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक बोर्ड सदस्यलाई कारबाही गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरूप द्रुतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आयोजनाका तत्कालीन प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड र तत्कालीन समयमा इन्जिनियरिङ विभागमा रहेका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठसहित आयोजनाको मूल्यांकन समितिमा रहेकाहरूलाई कारबाहीस्वरूप सचेत गराइएको बताए ।
तत्कालीन समयमा इन्जिनियरिङ विभागमा रहेका श्रेष्ठ उजुरीमा छानबिन हुनुअघि आयोजना प्रमुख बनेका थिए ।
डीपीआर तयार नहुँदै द्रुतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो ।
द्रुत मार्गमा परामर्शदाता कम्पनी छनोट गर्दा डीपीआर आउनुअघि नै छनोट गरिएको र सो विषयमा अनियमितता भएको भन्दै जंगीअड्डामा उजुरी परेको विषयमा समाचार प्रकाशन गरेको थियो ।
जंगीअड्डाले बुधबार एक विज्ञप्ति जारी गर्दै द्रुतमार्गको सुपरिवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोट गर्ने कार्यमा मूल्यांकन मापदण्डको ड्राफ्ट चुहावट भएको पुष्टि गरेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६ ०७:०१