आज नेपालसहित विश्वका विभिन्न देशमा मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु अलैहे वसलमको १४९९औँ जन्मजयन्ती मनाउँदै छन् । हजरत मोहम्मदको जन्मजयन्ती अर्थात् मोहम्मद डे पाक(शुभ) अवसरमा नेपाल सरकारले मुस्लिम सामुदायका लागि सोमबार सार्वजनिक बिदा दिएका छन् भने मधेश प्रदेश सरकारले मधेश प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
इसापूर्व ५७०, इस्लामिक महिना रवि उल अब्बलको १२ तारिखमा साउदीको मक्का शहरमा बसोबास गर्ने सु–सभ्य र आदर्श परिवारमा पैगम्बर मोहम्मदको जन्म भएको थियो । पैगम्बर मोहम्मदका वालिद (बुबा)को नाम अब्दुल्लाह बिन अब्दुल र वालिदा (आमा)को नाम आमना हो ।
हजरत पैगम्बर अल्लाहको अन्तिम दूत रहेको भन्दै संसारभरिका मुस्लिम सामुदायले बडो हर्षोल्लासका साथ मोहम्मद डे मनाउँदै आएका छन् । पैगम्बर मोहम्मद दुई महिनाको गर्भमै हुँदा वालिद अब्दुलाह बिन अब्दुलको देहावसान भयो र जन्मको केही वर्षमै वालिदाको पनि देहावसान भयो । उनको पालनपोषण काका अबु तालिबले गरे ।
अल्लाहले यस संसारमा सबैभन्दा पहिले पैगम्बर आदम अलैहिस्सलामको जन्म स्वर्गमा गराए । पैगम्बर आदम अलैहिस्सलाम अल्लाहको पहिलो नवी हुन् । आदम अलैहिस्सलामलाई स्वर्गमा एक्लोपन महसुस भयो । फलस्वरूप अल्लाहको आदेशअनुसार जिबरिल अलैहिस्सलाम आदम अलैहिस्सलामेको हाडबाट बीबी हौवा अलैहिस्सलामको जन्म भयो । त्यसपछि दुवै जना स्वर्गमा एकआपसमा मेलमिलाप तथा प्रेम सम्बन्धमा बस्न थाले । यी दुवैको आपसी प्रेमले नै आजको मानव अस्तित्व कायम भयो ।
हजरत मोहम्मदको जन्म हुनुभन्दा अघि नै अल्लाहले यो पृथ्वीमा कमोबेस (मोटमोटी) १ लाख २४ हजार नबी पठाएको इस्लाम धर्मका महत्त्वपूर्ण धर्मग्रन्थ कुरान सरिफमा उल्लेख छ । मोहम्मद पैगम्बर अल्लाहको अन्तिम नवी हुन् । मोहम्मदको जन्म हुनुभन्दा पूर्व अरबको अवस्था दयनीय थियो । शराबखोरी, हत्या हिंसा, वेश्यावृत्ति, गरिबी र पछौटेपन व्यापक थियो । मान्छेहरू धर्ममा विश्वास राख्दैनथे, धेरैजसो व्यक्ति नास्तिक थिए ।
अरब समाजमा रुढिवादी परम्परा, अन्धविश्वास र कुसंस्कारले जरा गाडेको थियो । विधवा महिलालाई अपमान, घृणा र तिरष्कार गरिन्थ्यो । जिउँदै छोरीलाई चिहानमा गाडिन्थ्यो । समाजमा महिलाको कुनै अस्तित्व थिएन । महिलाले दासको जीवन बिताउनुपर्थ्यो । अर्थात् गाईवस्तुजस्तो महिला खरिदबिक्री हुन्थे । महिलाको नाक, कान पनि काट्ने गरिन्थ्यो ।
बुबाको मृत्युपछि आमासित बिहे गर्ने चलनसमेत थियो । आपसमा झैझगडा, जातपात धनी–गरिब, छुवाछुत तीव्र थियो । विभिन्न देवी–देवताको मूर्ति बनाएर पूजा गरिन्थ्यो र तिनै मूर्तिलाई ईश्वर मान्ने चलन थियो । यस्तो सामाजिक अस्तव्यस्ताबीच रुढिवादी परम्परा र अन्धविश्वासले भरिएको समाजमा मोहम्मदको जन्म भयो ।
बाल्यकालदेखि अल्लाहको भक्तिमा लिन रहने हजरत मोहम्मदले आफ्नो समाजमा रहेको विकृतिहरूलाई सदाका लागि हटाउनपुर्छ भन्ने सोच बनाए । बाल्यकालमै मोहम्मद घरबाट हप्तौँसम्म गायब भएर पहाडको शिखरमा पुगेर अल्लाहको इबात (भक्ति) गर्थे ।
तत्कालीन समयमा पनि अरबका दुईस्थल मक्का र मदिना प्रसिद्ध थिए । सिरियासँगको व्यापारिक सम्बन्धका कारण मक्का र मदिना चर्चित थिए । अर्कातर्फ मक्का धार्मिक दृष्टिकोणले पनि चर्चित थियो । मक्काको कावामा इवादतको घर थियो । सो घरमा रहेको कालो प्रस्तरलाई पूजा गर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्थे । सो प्रस्तर स्वर्गबाट आदमसँगै पृथ्वीमा ल्याइएको हो भन्ने जनविश्वास थियो ।
त्यतिबेला अरबका मानिस फरक–फरक धार्मिक मूल्य–मान्यता र देवी देउतामा विश्वास गर्थे । मोहम्मदले अरबका सबै मानिसलाई एउटै धर्ममा समाहित गराउने विचार गरे । जुन समाजमा विधवालाई अपमान, घृणा, गाली दिने गरिन्थ्यो, त्यो अरबको समाजमा मोहम्मदले विधवा स्त्री खादिजासँग बिहे गरे ।
बाल्यकालदेखि नै अल्लाहको इबादत गर्दै आएका हजरत मोहम्मद ४० वर्षको हुँदा उनलाई अल्लाहको सन्देश प्राप्त भयो– ‘यो सबै संसार मैले बनाएको हो, सूर्य, चन्द्रमा, आकाश, जमिन, हावा, पानी सबै मैले बनाएको हो । मलाई सदैव याद (सम्झ) गर । म केवल म हुँ । मबाहेक कोही छैन पूजनीय । सबैलाई सम्झाऊ ।’
हजरत मोहम्मदले अल्लाहको यो सन्देश पहिलोपटक आफ्नी श्रीमतीलाई सुनाए । पछि गाउँ समाजका मन्छेहरूलाई सुनाउन थाले । हजरत मोहम्मदले सुनाएको धर्मलाई नै इस्लाम धर्म भनिन्छ । इस्लाम धर्मको मूल मन्त्र हो– ला इलाहा इल्लला रसुलल्लाह मोहम्मदिन रसुलल्लाह, जसलाई पहिलो कलमा भनिन्छ । यसको अर्थ हुन्छ– अल्लाह एक हो । अल्लाहबाहेक कोही पूजनीय होइन । अल्लाहका सच्चा रसुल मोहम्मद हो ।
इसापूर्व सातौँ शताब्दीदेखि इस्लाम धर्मको सुरुवात साउदी अरबबाट भएको पाइन्छ । हजरत मोहम्मदद्वारा यस धर्मको सुरुवात भएको हो । इस्लामको शाब्दिक अर्थ ईश्वरमा समर्पित हुनु वा ईश्वरमा विलीन हुनु हो । इस्लाम र मुस्लिम भन्ने शब्दले शान्तिलाई जनाउँछन् ।
गरिब, दुःखीलाई माया गर्नु, उदार भावना हुनु, संसारका मानिससँग मित्रताको व्यवहार गर्नु, आफ्ना छिमेकी र बन्धुबान्धवसँग उचित व्यवहार गर्नु, देशप्रेमको भावना राख्नुजस्ता सन्देश मोहम्मदले दिएका थिए । अल्लाहको सन्देश जिबरिल अलैहिसलाममार्फत मोहम्मदलाई प्राप्त भएको हो भन्ने जनविश्वास रहिआएको छ । कुरान इस्लाम धर्मको सबैभन्दा पवित्र धार्मिक ग्रन्थ हो । यसमा अल्लाहले व्यक्त गरेका पवित्र धार्मिक वचन, जसलाई अल्लाहको सन्देशवाहक पैगम्बर मोहम्मदले प्रस्तुत गरेका हुन् भन्ने विश्वास पाइन्छ ।
मोहम्मदले आफूलाई ईश्वरबाट (अल्लाह) एकपछि अर्को गरी विभिन्न सन्देश आएको भन्दै त्यसलाई जनसमक्ष प्रस्तुत गरे । तर, सुरुमा उनका सन्देश वा प्रवचन सुन्नेमा उनकी श्रीमती खादिजा, धर्मपुत्र अली, मित्र अबुवकर तथा दास हजरतै जैइद मात्र थिए । पछि गएर मोहम्मदको प्रवचन सुन्ने उनका शिष्यको संख्या बढ्दै गयो ।
मोहम्मदको त्यस किसिमको गतिविधिले मक्काका धार्मिक नेता र अन्य शासक क्रोधित बने । उनीहरूले मोहम्मदका अनुयायीलाई दुःखकष्ट र शारीरिक तथा सामाजिक यातना दिन थाले । त्यसै समयमा मोहम्मद ६२२ इसापूर्वमा मदिनातर्फ लागे । यस घटनालाई इस्लाम धर्ममा (हिज्री) भनिन्छ । मदिनामा मोहम्मदको स्वागत हर्षाेल्लासका साथ भयो । त्यहाँका बासिन्दाले तुरुन्तै मोहम्मदको धर्मलाई स्वीकार गरे र मोहम्मदलाई दुःख दिएको निहुँमा मक्कामाथि आक्रमण गरे ।
इसापूर्व ६१९ मा मोहम्मदले मक्कामाथि पूर्ण विजय प्राप्त गरे । उनको शक्ति बढ्दै गयो । मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य सामाजिक सुधार र व्यावहारिक धर्म प्रचारमा केन्द्रित गरेका थिए । उनले एक अल्लाह वा ईश्वरको अवधारणा अगाडि सारेर मूर्तिपूजामा रोक लगाएका थिए । उनी पुनर्जन्ममा विश्वास गर्दैनथे । मानिसको कर्मको फल यसै संसारमा प्राप्त हुने उपदेश उनको थियो । त्यसैले उनले सधैँ सच्चरित्रता र सदाचारमा जोड दिएका थिए ।
गरिब, दुःखीलाई माया गर्नु, उदार भावना हुनु संसारका मानिससँग मित्रताको व्यवहार गर्नु, आफ्ना छिमेकी र बन्धुबान्धवसँग उचित व्यवहार गर्नु, विवाह र सम्बन्ध–विच्छेदका सम्बन्धमा सामाजिक न्यायअनुसार चल्नु, देशप्रेमको भावना राख्नुजस्ता सामाजिक उपदेशमूलक सन्देश, मोहम्मदले दिएका थिए ।
अपवित्र जनावरको मासु खाने, रक्सी पिउने, ब्याज खान ऋण दिने, धोकेबाजी गर्ने, मानिसले मानिसलाई किनबेच गर्ने वा गराउने, लोभ, घमण्डजस्ता कुरा गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने तर्क मोहम्मदको थियो । उनले सम्पूर्ण मानिसलाई समान सम्झेर भेदभावरहित समाज र समानताको सिद्धान्तलाई प्राथमिकता दिएका थिए ।
कुरानमा अल्लाहबाट जिबरिल अलैहेसलाममार्फत मोहम्मदलाई सुनाइएका कुरा जस्ताको त्यस्तै संगृहीत छन् भन्ने विश्वास छ । मोहम्मदको देहावसान ६३ वर्षको उमेरमा भयो । त्यसपछि उनका शिष्यले यसलाई संग्रह गरेर राखेका थिए । कुरानमा ११४ वटा सुरा र ३० परा छन् । मोहम्मदको भनाइ र जीवनमा गरेका कार्यलाई हदीस भनिन्छ । पैगम्बर मोहम्मदले इस्लामका पाँच आधार स्तमभ इमान, नमाज, रोजा, जकात र हजलाई अनिर्वाय बनाए । विश्वमा अमन, शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने पैगम्बर मोहम्मदको जन्मजयन्तीमा सबैलाई दिली मुबारकबाद ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १२:४४