त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पहिलोपटक खुला प्रतिस्पर्धाबाट विभिन्न अध्ययन संकायका डिनदेखि क्याम्पस प्रमुखसम्म नियुक्ति प्रक्रिया आरम्भ गरेको छ । १७ भदौमा सूचना प्रकाशित गरेर त्रिविले सात दिने म्याद दिएर आवेदन मागेको छ ।
त्रिविले प्रकाशित गरेको सूचना अनुसार विभिन्न ८ वटा अध्ययन संस्थानका लागि डिन, सेरिडका लागि कार्यकारी निर्देशक, ६ जना सहपरीक्षा नियन्त्रक, ४ जना विभागीय प्रमुख र १२ जना क्याम्पस प्रमुखका लागि विज्ञापन गरेको हो । यद्यपि त्रिविभन्दा बाहिरका व्यक्तिले ती पदमा प्रतिस्पर्धा गर्न भने पाउने छैनन् । निजी क्षेत्रका शैक्षिक संस्थामा लगानी भएका त्रिविका प्राध्यापक, सहप्राध्यापक वा उपप्राध्यापकहरूले भने ती पदमा आवेदन दिन अयोग्य हुनेछन् ।
विश्वविद्यालयका सम्बन्धित शैक्षिक संस्थासँग स्वार्थ बाझिने गरी निजी संस्थामा लगानी गरेका व्यक्तिले आवेदन दिन नमिल्ने उल्लेख गरेको त्रिविले आवेदन दिने व्यक्तिले त्यस्ता संस्थामा लगानी नभएको स्वघोषण गर्नुपर्ने भनेको छ ।
त्रिविको इतिहासमा पहिलोपटक उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त भएका थिए । त्रिविका उपकुपति धर्मकान्त बास्कोटाको अवकाशपछि विश्वविद्यालय सुधारका लागि शिलापत्रले विश्वविद्यालय विमर्श अभियान चलाएको थियो । आमरुपमा विश्वविद्यालय सुधार अभियानले तीव्रता लिएपछि तत्कालीन कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रिया आरम्भ गर्ने निर्णय लिएका थिए । त्यही निर्णयका आधारमा प्राध्यापक डाक्टर केशरजंग बराल उपकुपति नियुक्त भएका थिए । नियुक्तिको चरणमै उपकुलपति बरालले कुलपति प्रचण्डसँग त्रिविलाई मेरिट र कार्यक्षमताका आधारमा हरेक पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए । त्यतिमात्र होइन, त्रिविको टिम आफूले भनेअनुसारको बनाउन दिन पनि आग्रह गरेका थिए । त्यस्तो प्रयासमा हस्तक्षेप नगर्न पनि बरालले आग्रह गरेका थियो । बराललेझै तत्कालीन उपकुपति केदारभक्त माथेमाले पनि मेरिट र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने प्रयास गरेका थिए ।
बरालले पूर्वसर्तअनुसार रजिष्ट्रार र रेक्टर नियुक्तिबाट प्रयास थालेका थिए । बरालले आफ्नो टिम बनाउनका लागि रजिष्ट्रारमा केदार रिजाल र रेक्टरमा खड्ग केसीको नियुक्तिका लागि सिफारिस गरेका थिए । तत्कालीन गठबन्धनमा रहेको एमाले अध्यक्ष केपी ओलीले रेक्टर र रजिष्ट्रार नियुक्ति रोक्न प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिएका थिए । नियुक्ति ढिलाइ हुँदा विदामा बसेर उपकुलपति बरालले दबाब दिएपछि बाध्य भएर रिजाल र केसीको नियुक्ति भएको थियो । त्यसैले, ओलीले नरुचाएको त्रिविको टिम भएका कारणले प्रधानमन्त्री नियुक्तिपछिको पहिलो सिनेट बैठक १५ साउन ०८१ मा ओली त्रिविमाथि हस्तक्षेप गर्ने प्रयास गरेका थिए । त्रिविको इतिहासमा पहिलोपटक सिनेट बैठकबाट विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेर बजेट पारित गराएका थिए ।
कहाँ हुँदै छ प्रतिस्पर्धा, के छ मापदण्ड ?
विभिन्न अध्ययन संस्थान तथा संकायका डिन तथा शिक्षा तथा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक तथा योजना निर्देशनालयको निर्देशकका लागि समेत छनोट समितिले सूचना प्रकाशित गरेको छ । १७ भदौमा प्रकाशित सूचना अनुसार ८ जना डिन र एक जना कार्यकारी निर्देशक लागि खुला प्रतिस्पर्धा हुँदैछ । त्रिविको त्रिविसभा तथा कार्यकारी परिषद्को सचिवालयले १७ भदौमा प्रकाशित गरेको सूचनाअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय , शिक्षाशास्त्र संकायको डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको छ ।
डिन, कार्यकारी निर्देशक, विभागीय प्रमुख तथा क्याम्पस प्रमुखहरू नियुक्तिका लागि सिफारिससम्बन्धी व्यवस्थाको कार्यविधिअनुसार कार्यकारी परिषद्ले एक जना संयोजक र २ जना प्राध्यापक वा सहप्राध्यापक सदस्य भएको समिति बनाउनेछ । त्यही समितिले वर्णानुक्रमअनुसार ३ जनाको नाम सिफारिस गर्नेछ र तीन जनामध्ये १ जना नियुक्त हुनेछन् र दुईपटकभन्दा बढी पदावधिका लागि एउटै व्यक्ति डिन पदामा नियुक्त हुनेछैन ।
त्रिविले तय गरेको योग्यताको आधार र मापदण्डअनुसार डिनका लागि छवटा शैक्षिक उपाधि, अनुभव,योजना तथा प्रतिबद्धता तय गरेको छ । त्यसमा अध्ययन संस्थान वा संकायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने, कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनभवको प्रमाणिक आधार, अनुसन्धान, प्रकाशन, प्रतिलिपि अधिकार तथा विद्यावारिधि शोध निर्देशन, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कोषबाट सञ्चालिलत परियोजनाहरूको नेतृत्व तथा कोष वृद्धिसम्बन्धी कार्य सम्पादन गरेको, विश्वविद्यालय योजनाअनुरुप संस्थान वा संकायको उन्नयन तथा उत्थानका लागि २ हजारदेखि ३ हजार शब्दसम्मको रणनीतिक कार्ययोजना रहेको छ ।
त्योभन्दा महत्वपूर्ण चाहिँ त्रिविले स्वार्थ बाझिने संस्थामा आबद्ध नभएको स्वघोषणालाई राखेको छ । अहिले त्रिविका अधिकांश प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक तथा कर्मचारी निजी कलेज सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । त्यसले गर्दा त्रिविका कलेजमा नपढाउने र समय नै नदिने तर आफ्नो कलेजमा दिनभर खटिने प्रवृत्ति रहेको छ । त्यस्ता व्यक्तिहरू नै विभिन्न संकायको डिन, क्याम्पस प्रमुखसमेत हुने गरेका थिए । त्यसैले अहिले त्रिविले विश्वविद्यालयका सम्बन्धित अध्ययन संस्थान वा संकायसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरूमा संलग्न नभएको स्वघोषणा हुनुपर्ने उल्लेख गरेको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानको हकमा निजी स्वास्थ्य संस्थाहरूको कुनै पनि सेवामा संलग्न नभएको हुनुपर्ने व्यवस्था गरेको छ । अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको हकमा पनि त्यही व्यवस्था गरेको छ । केन्द्रका कार्यकारी निर्देशकको हकमा डिन र सहायक डिनसँग मिल्दाजुल्दो मापदण्ड रहेका छन् । त्यस पनि स्वार्थ बाझिने गरी शैक्षिक संस्थामा लगानी नभएको वा नगरेको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । र, कार्यकारी निर्देशकले पनि २ देखि ३ हजार शब्दको रणनीतिक कार्ययोजना तयार गर्नुपर्नेछ ।
त्रिविले सहनियन्त्रक पदमा पनि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । त्रिविले १७ भदौमै प्रकाशित गरेको सूचनाअनुसार ६ जना सहनियन्त्रकका लागि खुला प्रतिस्पर्धा हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय बल्खुका लागि २ जना सहपरीक्षा नियन्त्रक पदका लागि खुला आह्वान गरिएको छ । साथै, विराटनगर, पोखरा, नेपालगञ्ज, मधेश प्रदेशका लागि सहपरीक्षा नियन्त्रक एक/एक जनाका लागि खुला प्रतिस्पर्धा हुँदैछ । ती पदका लागि परीक्षा तथा मूल्यांकनको क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुपर्नेछ भने अन्य पदझै विश्वविद्यालयका सम्बन्धित अध्ययन संथान वा संकायसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरूमा सम्बन्धित व्यक्तिको लगानी नभएको वा नगरेको स्वघोषणा गर्नुपर्नेछ । त्यसबाहेक सूचना प्रविधि तथा सञ्चारसम्बन्धी विषयमा विशेष अनुभव प्राप्त व्यक्ति हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यता, त्रिविले १२ जना क्याम्पस प्रमुखका लागि पनि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने तयारी गरेको छ । १७ भदौमा नै प्रकाशित भएको सूचनाअनुसार त्रिविले दशेकै ठूला भनिएका क्याम्पसहरू पृथ्वीनारायाण क्याम्पस पोखरा, रत्नराज्य लक्ष्मी क्याम्पस काठामाडौं, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पसको प्रमुख पनि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न खोजेको छ । त्यसैगरी, सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पस सिरहा, बुटवल बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस डोटी, सुर्खेत क्याम्पस सुर्खेत र जुम्ला क्याम्पस जुम्लाको क्याम्पस प्रमुखका लागि पनि विज्ञापन प्रकाशित गरेको छ । यस्तै वन विज्ञान अध्ययन संस्थानअन्तर्गतको पोखरा क्याम्पसको प्रमुखका लागि पनि सूचना प्रकाशित गरिएको छ ।
क्याम्पस प्रमुखमा दाबी गर्नका लागि सम्बन्धित क्याम्पसबाहेकका लागि पनि आवेदन दिन पाउनेछन् । तर, त्यसका लागि भने उक्त क्याम्पसमा स्थायी शिक्षक नभएको अवस्थामात्रै विश्वविद्यालयका अन्य शिक्षकले प्रतिस्पर्धा गर्न पाउनेछन् । त्रिविका अनुसार सम्बन्धित क्याम्पसका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक तर सम्बन्धित क्याम्पसमा तोकिएको मापदण्ड पुगेका शिक्षकहरू नभएको अवस्थमा सोही क्याम्पसको स्थायी शिक्षकमध्येले आवदेन दिन सक्नेछन् । त्यसरी दाबी गर्नेले एक हजारदेखि १५ सय शब्दको व्यवस्थान योजना बुझाउनुपर्नेछ । साथै, स्वार्थ बाझिने गरी कुनै पनि निजी शैक्षिक संस्थामा लगानी नभएको वा नगरेको स्वघोषाणा गर्नुपर्नेछ ।
त्यसैगरी, त्रिविले विभागीय प्रमुख तथा कार्यक्रम संयोजक पनि खुला प्रतिस्पर्धाबाट गराउन लागेको छ । समाजशास्त्र विभागमा विभागीय प्रमुख पासाङ शेर्पा र टीकराम गौतममध्ये कसलाई नियुक्त गर्ने भन्ने विषय चर्को विवादमा परेको थियो । एमालेनिकट शेर्पा र कांग्रेसनिकट गौतमको नियुक्ति विवाद विश्वविद्यालयको चौघेरामा सीमित रहेन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र गृहमन्त्री रमेश लेखकबीच समाजिक सञ्जालमा आरोपप्रत्यारोपसमेत चल्यो । त्यसबाट पाठ सिकेर हुन सक्छ १७ भदौमा त्रिविको प्रिन्सिपल कार्यालयले सूचना प्रकाशित गरेर अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग, द्वन्द्व शान्ति तथा विकास अध्ययन विभाग, लैंगिक अध्ययन विभाग र सामाजिक कार्य विभागका लागि कार्यक्रमम संयोजक तथा विभाग प्रमुखका लागि खुला प्रतिस्पर्धा गराउन लागेको हो ।
- शृङ्खला- १ः दलीयकरणको चक्रव्यूहमा फसेकाे त्रिवि, प्राज्ञिक संकट
- शृङ्खला- २ः तीनपटक त्रिविबाट निकालिएका माथेमाको विश्वविद्यालय सुधार्ने ‘मास्टर प्लान’
- शृङ्खला- ३ः उपकुलपति माग्दै नेता र मन्त्रीको घर धाउनेले त्रिवि सुधार्न सक्दैन: विष्णु सापकोटा (भिडियोसहित)
- शृङ्खला- ४: विश्वविद्यालय र यसको नेतृत्वसित जोडिने प्रश्नहरू
- शृङ्खला- ५ः टहरामा त्रिविका विभाग, कुनै मृतप्रायः कुनै अस्तित्वको खोजीमा
- शृङ्खला- ६ः त्रिविमा बढुवाका लागि प्राध्यापकहरू नै 'गुण्डाजस्ता' विद्यार्थीको संरक्षण गर्छन् : मानुषी (भिडियोवार्ता )
- शृङ्खला- ७: 'प्रधानमन्त्री इमानदार हुनासाथ विश्वविद्यालय सुधारको थालनी भइहाल्छ' (भिडियाे अन्तर्वार्ता)
- शृङ्खला- ८: सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’, जो त्रिविमै सेवा गर्न चाहन्छन्
- शृङ्खला- ९: विश्वविद्यालय धराशायी पार्न कति जिम्मेवार छन् 'बिचौलिया'जस्ता विद्यार्थी नेता ?
- शृङ्खला- १०ः होला त त्रिविको संकट मोचन ? फेरिएला त विश्वविद्यालयको शासकीय संरचना ?
- शृङ्खला- ११: विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश पठाउन ?
- शृङ्खला- १२ः लथालिङ्ग विश्वविद्यालय सम्हाल्न त्रिविले खोजेको उपकुलपति कस्तो ?
- शृङ्खला- १३: सुरुमा गल्ती स्वीकार गरौँ, अनि विश्वविद्यालय बनाऊँ
- शृङ्खला- १४: ‘हाम्रा विश्वविद्यालय पढाउँदैनन्, सम्बन्धन बाँडेर बस्छन्’ (भिडियो अन्तर्वार्ता)
- शृङ्खला- १५: बोर्ड अफ ट्रस्टी गठन : त्रिवि सुधारको वैकल्पिक मार्गचित्र
- शृङ्खला- १६: वर्षमै डेढ लाख विद्यार्थीबाट विदेशियो एक खर्ब, विश्वविद्यालय भने विद्यार्थीको खोजीमा
- शृङ्खला- १७: ‘प्यारालाइज्ड र कोल्याप्स’ त्रिवि : विद्यार्थीको धरौटीबाट शिक्षक कर्मचारीलाई तलब
- शृङ्खला- १८: 'अहिलेकै व्यवस्था र संरचनामा जोसुकै भीसी भए पनि त्रिवि सुध्रिँदैन'
- शृङ्खला- १९: त्रिभुवन विश्वविद्यालय के हो, अबकाे भीसीकाे याेग्यता कस्ताे हुनुपर्छ ?
- शृङ्खला- २०: हाम्रा विश्वविद्यालय बौद्धिक होइन, यान्त्रिक बुद्धिजीवी उत्पादनका कारखानाजस्ता
- शृङ्खला- २१: तस्वीरमा हेर्नुहोस्– उच्च शिक्षा अध्ययन गर्ने सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसको दुरवस्था (फोटो कथा)
- शृङ्खला- २२: को हुन् नेपालको पहिलो लिखत उपकुलपति ?
- शृङ्खला- २३: मिनी संसदमा बहस: त्रिवि ध्वस्त पार्न लागेको समूह कुन हो ?
- शृङ्खला- २४: मधेशका विश्वविद्यालयको बिजोग : राजनीतिक दाउपेचले विद्यार्थी न भवन, शिक्षक र पाठ्यक्रम कता हो कता
- शृङ्खला- २५: बेरोजगार उत्पादनकाे कारखाना बनेका विश्वविद्यालय सुधारका ६ सूत्र
- शृङ्खला- २६: पार्टी र विद्यार्थी संगठनको दास बनाइएका विश्वविद्यालय
- शृङ्खला-२७: विश्वविद्यालय कसरी सुधार्ने ?
- शृङ्खला-२८: सत्ताको कारिन्दा तयार गर्ने कारखानाजस्ता विश्वविद्यालय सुधार्ने तीन सूत्र (भिडियाे)
- शृङ्खला-२९: त्रिविकै नक्कलमा गण्डकी विश्वविद्यालय, शिक्षकभन्दा कर्मचारी धेरै
- शृङ्खला-३०: अबको त्रिवि नेतृत्वले गर्नैपर्ने सुधारका १० काम
- शृङ्खला-३१: त्रिविले खाेजेकाे जाेखिम माेल्न सक्ने साहसी उपकुलपति
- शृङ्खला-३२ : त्रिभुवन विमानस्थलमा लाग्ने विद्यार्थीकाे लाम त्रिभुवन विश्वविद्यालय फर्काउन प्रचण्डका लागि घर्किसकेको छैन समय
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१ १९:००