खोलाको पानी बगेझैँ सोपानक्रमले समय बितिरह्यो, पत्तै भएन । बित्दै गरेका ती समय त मेरै पनि रहेछन् । विगतका पल र क्षणहरू सम्झेँ, अनि मात्र मलाई बोध भयो, जिन्दगीले उमेरका ५२औँ शिखरहरू चढिसकेछ । कुनै शिखरहरू चढेको झलझली सम्झना छ, कुनैको बिर्सना मात्रै । कुनै शिखर चढ्दा अद्भुत आनन्द महसुस भएको थियो त कुनैमा केवल पीडाबोध । कुनै शिखरहरू चढेजस्तै लाग्यो, कुनैबाट झरेजस्तो । जेहोस्, यी अनगिन्ती अनुभवका सँगालोद्वारा आधा शताब्दीभन्दा बढी भएछ यो दुनियाँमा मैले सास फेर्न थालेको ।
मैले चढेका प्रत्येक शिखरहरूले प्राकृतिक नियमको उल्लङ्घन गरेनन् । यदि उल्लंघन गरेको हुँदो हो त बुढो ज्यान प्रौढमा देखापर्थ्यो । प्रौढ यौवनमा र यौवन किशोरहुँदै बालकमा परिणत हुन्थ्यो । तर, त्यसो भएन । बरु बालकबाट किशोरमा, किशोरबाट प्रौढहुँदै वृद्धमा रुपान्तरण भएको छ । गएपछि कहिल्यै नफर्कने जीवनका रूपरङ्ग, बल, बैँस, कोमलता र सुन्दरताहरू उमेरले नै खोसेर लाँदै छ । खाली ठाउँमा रोग र सन्तापले भर्दै छ । पोटिला गालामा आँसु बग्नलाई होला, खोल्साखोल्सीहरू बनेका छन् । हृस्टपुस्ट शरीर कुरुप र जीर्ण भएर कुप्रिँदै छ । अब त त्यो कुप्रोपन समाधिस्थमा मात्र सोझिने होला, जुन अवस्थाबाट मानिसले पुनः कुप्रिनु पर्दैन ।
हिजोआज मलाई अनौठो महसुसले भकुण्डो हान्छ । अन्तरमनले शरीरभरि सोला हानेर हैरान बनाउँछ । तारलाई चट्ट काटेपछि विद्युत् प्रवाह रोकेझैँ रहरका लहरहरू अवरुद्ध छन् । जीवनका लागि यो नै पूर्णविराम भनेर परिभाषा त म कसरी गरौँ ? अल्पविरामचाहिँ पक्कै हुनुपर्छ । ठीक यतिबेला पुर्खाहरूको सम्झनाले पछ्याइरहन्छ, आफ्नै छायाले झैँ ।
वसन्त ऋतुको बहिर्गमनसँगै परेको झर्के पानीको तागतले कटुसको मुढामा पलाउने यरप्ना (सिताके च्याउ) प्रत्येक ठुटाहरूमा देख्छु, टिप्छु पनि । भष्मे खोरियाले असारे झरी पिएपछि अन्य मुढाहरूमा कन्याच्याउ, चिप्लेच्याउ, थुम्सेच्याउ र गिद्धेच्याउजस्ता विभिन्न प्रजातिका च्याउहरू पनि उत्तिकै उम्रिरहेका हुन्छन् । भदौरे झरीसँगै बारीका गह्रा र कान्लामा कलुङ्गेच्याउसहित निगुरो र सिस्नु त मौसमअनुसार पलाउँछ । यी वस्तुहरूको खान्कीले पोषिएर हाम्रा पुर्खाहरू जिएका थिए । आफ्नो गाउँठाउँलाई रुँगेर उनीहरूले पार्थिव शरीरलाई समेत यहीँकै डाँडा, पखेरा र जङ्गललाई सुम्पेका थिए ।
त्यो जमानामा शिक्षाको पहुँच थिएन । अतः पढेरभन्दा पनि परेर जाने होलान् । बाँच्नका लागि प्रकृतिसँग सङ्घर्ष गर्दागर्दै खारिएर जाने होलान् । हाम्रा पुर्खाहरू कति ज्ञानी ? कति जान्ने, बुझ्ने बुझ्झकी ? भोजनका लागि कुन चीजलाई प्रयोग गर्ने ? कुन नगर्ने ? कति बेला सेवन गर्ने र कति मात्रामा ग्रहण गर्नेजस्ता अपरम्पार ज्ञानका भण्डार थिए उनीहरू ।
निगुरो, ठट्ने, साइँलीसाग, टिमुर र सिस्नुसँग खोलेफाँडो खाएर आरोग्य भई बाँचेका थिए । आफ्नै परिश्रमले उत्पादन गरेर विषादीमुक्त खानेकुराले अष्टचिरञ्जीवी भएरै संसार खाए । शहरिया पुस्तामा यी खानेकुराको चर्चा गर्दा एकादेशको कथाजस्तै लाग्दो हो, तर यो यथार्थ थियो र गाउँघरमा आजसम्म पनि यसका अवशेषहरू भेटिन्छन् ।
शहरमा त सिमेन्टका छानो ओढ्छन्, गाडीका छत ओढ्छन् र ओढ्छन् अरुअरु आधुनिक मलमलहरू । हाम्रा पुर्खाहरू घुम ओढ्थे, लुकुनी ओढ्थे अनि ओढ्थे आकासका घाम, जुन र ताराहरू पनि । हिजोआज षड्यन्त्रको भाषा बोल्छन्, जालझेल र होचो अर्घेलोका भाषा बोल्छन् र आँखीडाही, इर्ष्या र द्वेष अनि रिसरागका भाषा बोल्छन् । हाम्रा पुर्खाहरू श्रम र पसिनाको भाषा बोल्थे, मिहिनेत र कर्मको भाष्य जान्दथे । पशुप्राणी र जङ्गली जनावरसहित चराचरुङ्गीसँग संवाद गर्थे ।
सुगमताको चस्माले हेर्दा अहिले शहरी तथा मधेशभन्दा गाउँघर पनि कम छैन । शिक्षा, स्वास्थ्य र यातायातको हिसाबले पूर्ण नभए पनि अभाव महसुस हुँदैन । आजको परिस्थितिमा शहरलाई पनि नछोड्ने र पुर्ख्यौलीस्थललाई समेत सँगसँगै ग्रहण गर्दै जाने अपार सम्भावनालाई छोड्नु हुँदैन
आहा ! क्या आनन्दको जिन्दगी ? गिट्ठाभ्यागुर र कन्दमूलको बलमा भरे के खाऊँ भोलि के खाऊँको कुनै त्रास थिएन र मीठोमसिनोसहितको स्वादिष्ट भोजन सेवन गर्ने आस पनि । महँगो परिधानले सजिने मोह त झन् छँदै छैन । यतिका स्वर्गिक आनन्द हुँदाहुँदै कतिपय पुर्खाहरूलाई चलनचल्तीभन्दा बेग्लै इच्छाको बादलभित्र लुके । तापक्रम बढेका समाचारहरू मिडियाद्वारा सुन्दा तिनै पुर्खाहरूको स्मृतिले अँगालो हाल्छ, मर्मभेदी स्मरणले पल्टी खेल्छ, फुल्न लागेको आरुका बुढा पातहरूलाई बतासले उडाएजस्तै ।
जहान, बालबच्चासँग ढाकरमा भएभरका पोकापुन्तुरा बोकेर हिँड्न जानेदेखि अघिअघि लागेका गोरेटोलाई पछ्याउँदैपछ्याउँदै हाम्रा केही पुर्खाहरूले गाउँ छोडेका थिए । सायद जीवनका धेरै कुराले दिक्दार भएर असुरक्षा, अभाव र दुर्भिक्षताको सागर तर्नलाई होला । उकाली ओराली छोडेर मधेश झरेका होलान् अर्थात् दुर्गमतालाई किनारा लगाएर सुगमताका छालहरूमा हेलिएका होलान् । शिक्षा, स्वास्थ्य र यातायातलाई पछ्याएका होलान् । जसको ध्याउन्नमा उनीहरूले पाखापखेरा, भिरपहरा र वनजङ्गलका सकारात्मक पक्षहरू सबै बिर्से । त्यागे । जैविक दृष्टिकोणले त्यही दिनदेखि उनीहरू असली लीला छोडेर कृत्रिम लीलामा परिणत भए, कुनै खोल्सा खोलामा मिसिएर विलीन भएजस्तै ।
ती पुर्खाका अधिकांश सन्तानहरू आज शहरमा होलान् । कतिपय त ठूल्ठूला ओहोदामा समेत । तर पनि ऊ सञ्चो अवस्थामा छैन । ढुक्क छैन । निर्भय छैन । सुनकै पलङमै किन नसुतोस्, ऊसँग निद्रा छैन । वैभवशाली होला, तर हतप्रभ छ । बेचैनीको तुवाँलोले छोपेर हैरान छन् ।
आजकल मधेशमा तापक्रम बढेको सम्झँदा लाग्छ, हाम्रो देशको दक्षिणबाट सोझै उँभो दखिने पहाडमा पाइने हावापानीको मूल्य कति पर्ला ? विनिमय गर्न सकिने भए त्यो हावापानीलाई मधेशका मानिसले कति तँछाडमछाड गरेर किन्थे होला, सिलिन्डर ग्यासमा झुत्ती लागेझैँ गरेर । मधेशमा गर्मीले हपहप भएको बेला पहाडमा भने सुत्नलाई सिरक ओढ्नुपर्छ । जोसुकैलाई लाग्छ, ओछ्यानमा निद्रा लागोस्– सिर्सिरे बतासको आनन्दी स्पर्शसँगै । भोजन गर्दा शक्तिवर्द्धक, स्वच्छ र ताजा खान्कीले पेट भरोस् । हुन पनि मानिसका लागि स्वास्थ्यभन्दा ठूलो सम्पत्ति नै के छ र ? जिन्दगीमा योभन्दा खुसी र आनन्द अरु के हुन्छ र ?
शिक्षा, स्वास्थ्य र यातायातलाई पछ्याएर हाम्रा पुर्खाले गाउँ छोडेजस्तो अब त हामीले गाउँ छोडनु पर्दैन, बरु फर्के हुन्छ पुर्ख्यौलीस्थलतिरै । हामीले प्राकृतिक रूपले वरदान पाएका हावापानी छोडेर मधेश मैदान झर्नु पर्दैन । किनभने सुगमताको चस्माले हेर्दा अहिले शहरी तथा मधेशभन्दा गाउँघर पनि कम छैन । शिक्षा, स्वास्थ्य र यातायातको हिसाबले पूर्ण नभए पनि अभाव महसुस हुँदैन । आजको परिस्थितिमा शहरलाई पनि नछोड्ने र पुर्ख्यौलीस्थललाई समेत सँगसँगै ग्रहण गर्दै जाने अपार सम्भावनालाई छोड्नु हुँदैन, दुहुनो गाईलाई दुवै हातले धोएजस्तै । वैदेशिक रोजगारको अभिशप्तताले वृद्धाश्रममा परिणत हुन खोजिरहेको गाउँघर बस्तीहीनताबाट बचाउनुको विकल्प छैन ।
श्रम संस्कृतिबाट उदासीन मानसिकताले बाँझिएका जमिनमा पुनः उर्वरताको राँको बाल्नु छ, वसन्तपछि हरियाली फर्केजस्तै । गाउँघरको स्वच्छ वातावरणलाई जोगाएर जलवायु परिवर्तनलाई रोक्न सम्भव छ कि छैन ? यदि छ भने त्यो महान् कार्यको प्रारम्भ गर्ने दायित्व पनि त हाम्रै पुस्ताको काँधमा छ । उत्पादनको मूल फुटाएर विकासको सर्जक बन्नुपर्छ, सङ्कलक मात्रै भएर त अहिलेको आवश्यकता धानिँदैन । शहरको उपचार र गाउँघरको कोलाहलमुक्त वातावरणको सम्मिलनले आरोग्य बन्न सम्भव छ ।
मल पाएर मुना पलाएका बिरुवाजस्तै मलामीको खडेरीले विरक्तिएका गाउँघरलाई सामाजिक र सांस्कृतिक दृष्टिले समृद्ध नबनाई धर छैन । अनि मात्र सोपानक्रमले हिँडिरहने समयको वेगलाई चेतनाको क्षितिजमा रुपान्तरण भएको ठहरिनेछ । यो रुपान्तरणको नौलो बिहानीले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सबैभन्दा पहिले भुइँ मान्छेहरूले फायदा लिनेछन्, अनि क्रमशः अरुले पनि ।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ १३:१९