झापामा कुखुराको खोरमा पेस्तोल फेला परेको छ ।
अर्जुनधारा नगरपालिका-४, दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेको कुखुराको खोरमा एउटा कटुवा पेस्तोल फेला परेको हो । आङ्देम्बेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
हतियार लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले आङ्देम्बेको कुखुरा खोरमा खानतलासी गरेको थियो । 'घरछेउको कुखुराको खोरको खरको छानोभित्र पहेँलो प्लास्टिकमा पोको पारेर लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेका हौँ,' विष्टले भने ।
यसअघि अर्जुनधारा-४, देवानचोक निवासी २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखेको अवस्थामा २६ साउनको राति एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो । अर्जुनधारा–७, मिलडाँडास्थित इन्दिरा अधिकारीको किराना पसलमा चोरी भएको घटनाका अभियुक्तको खोजतलास गर्दै जाँदा प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो ।
भरुवा बन्दुकसहित प्रहरीले उक्त घटनामा अर्जुनधारा-४ का २२ वर्षीय छिरिङ तामाङ, अर्जुनधारा-३ का २१ वर्षीय निखिल तामाङ र अर्जुनधारा- ४ का १९ वर्षीय आदित्य लिम्बूलाई चोरीका गरगहनासहित पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ १५:४८