मिथिला क्षेत्रमा यतिबेला प्रत्येक साँझ मन्दिरमा झुल्नोत्सवको रौनकता छाएको छ । मिथिला क्षेत्रमा पर्ने नेपाल र भारतका विभिन्न स्थानमा रहेका मठमन्दिरहरूमा भजनकीर्तन गरी झुल्नोत्सव मनाउने गरिन्छ । यस पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले साँझको समयमा मठमन्दिरमा गएर भजनकीर्तन गर्छन् ।
जनकपुरको जानकी मन्दिरसहित विभिन्न मन्दिरहरूमा झुल्नोत्सवको रमझम देखिन्छ । यस महोत्सवको अवसरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्र र सीतासँगै दशरथका चारै जना पुत्रवधुलाई झुलामा राखेर झुलाउने गरिन्छ । झुल्नोत्सवको अवसर पारी जानकी मन्दिरभित्र जानकीको प्रतिमा रहेको मूल मन्दिर र वरिपरि विशेष रूपले सजाइएको छ ।
मन्दिरको भित्री प्राङ्गणमा दशरथका चारै पुत्र र पुत्रवधुलाई झुलामा राखेर झुलाइने क्रममा गीतनाद, भजनकीर्तन र महिलाहरूले नृत्य प्रस्तुत गर्छन् । साँझ पर्नासाथ जगत्जननी सीताको जन्मभूमि जनकपुरधाम गुञ्जायमान हुने गर्छ । मन्दिरैमन्दिरले भरिएको यस धार्मिक नगरीमा सयौँ मन्दिर छन् ।
यहाँका प्रसिद्ध जानकी मन्दिर, अग्निकुण्डस्थित सुन्दर–सदन, झुलनकुञ्ज, रत्नसागर, विहारकुण्डस्थित युगले विनोद कुञ्जसहित प्राय:जसो मन्दिरमा श्रीसीता राम झुल्नोत्सव आयोजना हुने गरेको छ । पौराणिककालमा मर्यादा पुरुषोतम राम आफ्नो प्रियसी सीतासँग झुलामा झुल्ने गरेको शास्त्र–पुराणमा उल्लेख छ । सोही दिनको सम्झनामा सन्त महन्थ तथा भक्तजनले धुमधामसँग झुल्नोत्सव मनाउने गरेका छन्, जसलाई तीज–झुला भनिन्छ ।
जनकपुरवासीले सीतालाई बहिनी र सोही नाताले रामलाई भिनाजु मान्छन् । त्यस कारणले पनि जनकपुरवासीले झुल्नोत्सव हर्षोल्लासका साथ मनाउँछन् । यो महोत्सव चलिरहँदा जनकपुरकै स्थानीय श्रद्धालु, भक्तजन तथा विभिन्न जिल्लाबाट आएका भक्तजन तथा भारतबाट आएका श्रद्धालुहरूको घुइँचोले मन्दिर प्राङ्गण भरिभराउ हुन्छ । साँझमा आरती भएपछि राम र सीता, लक्ष्मण र उर्मिला, भरत र माण्डवी, शत्रुध्न र श्रुति–कृतिको प्रतिमालाई झुलामा राखेर झुलाइन्छ । चारैतिर बालिएको रड्गिविरङ्गी प्रकाश दिने बत्ती र भजनकीर्तन तथा भक्ति नृत्य झुला महोत्सवको विशेष आकर्षण मानिन्छ ।
त्रेतायुगमा भगवान् श्रीरामचन्द्र जनकपुर आउँदा जनकपुत्री सीतासित बिताएको प्रेममय क्षणहरूको स्मृतिमा प्रत्येक वर्ष साउनमा जानकी मन्दिरमा झुल्नोत्सव मनाइने परम्परा छ । झुल्नोत्सव जनकपुरधाममा कसरी सुरु भयो ? जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासले गरेको बताइन्छ । दासको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरूको स्थापना भएको र विभिन्न उत्सवहरूको सुरुवातसमेत भएको मानिन्छ ।
सुरकिशोर दास माता जानकीलाई पुत्री मान्थे । उनी कहिलेकाहीँ माता जानकीसँग कुराकानी गर्थे । मानिन्छ, माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेका हुन् । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ वृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ ।
झुल्नोत्सवमा युवतीहरू झुलाको गीत गाउने र भगवान्को पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सवको डोरी काटी विधिवत् रूपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ १९:००