हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले 'हुन्डाई टेस्ट ड्राइभ एन्ड विन' क्याम्पेन ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका नेपालभरि रहेका कुनै पनि शोरुममा गई हुन्डाई गाडीका लाइनअपहरूमध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
कम्पनीका अनुसार प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजेरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ ।
नयाँ हुन्डाई क्रेटा हालै ६ अगस्तमा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय: हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकाले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी छ ।
त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनमार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट १० मे २०२४ मा भएको थियो । यसको बनावट, गुणस्तर, पर्फर्मेन्सलगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरूसरहकै हुने कम्पनीले दाबी गरेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ (एसएक्स) को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ । मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।
२८ साउनदेखि सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुक महानुभावले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई शोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिक रूपमा लक्की ड्रमार्फत छनोट गरिनेछ र कम्पनीको फेसबुक पेजमार्फत जानकारी गराइनेछ । चाडपर्व नजिकिँदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर प्रदान गरी आफ्नो गाडी किन्ने योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरिका १६ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १८:४०