बंगलादेशका लागि नेपाली पूर्वराजदूत डा. वंशिधर मिश्र बंगलादेशमा राजनीतिक सङ्कट गहिरिनुमा तीन कारण ठान्छन् । उनका बिचारमा तिनै कारणको कारक भने तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेद हुन् ।
पहिलो, देशमा तीव्र आर्थिक वृद्धिको सफलताले हाइहाइ भइरहँदा लुप्त रूपमा हसिना सरकारले गरेको भ्रष्टाचार, आलोचक सर्वसाधारणदेखि प्रतिपक्षी दलका नेताहरूमाथिको चर्को दमन र हसिनामा विकसित हुँदै गएको तानाशाही चरित्र । यसबाट बंगलादेशी जनतामा हसिना सरकारविरुद्ध भित्रभित्रै भुसको आगो जसरी आक्रोश फैलिएको थियो, जुन विद्यार्थीको आरक्षणविरोधी आन्दोलनमा प्रकटीकरण भएको डा. मिश्रलाई लाग्छ ।
दोस्रो, चीन र आसपासका एसियन देशहरूको गतिविधि निगरानीका लागि बंगालको खाडी क्षेत्रमा ‘एयरबेस’ बनाउने अमेरिकी योजनाको हसिना बाधक बन्नु र गैरसरकारी संस्थाहरूमाथि थप कडाइको नीति अख्तियार गर्नु हो ।
तेस्रोचाहिँ बंगलादेश र म्यानमारका केही भू–भाग समेटेर इसाई देश बचाउने अमेरिकी रणनीतिमा पनि हसिना नकारात्मक हुनु हो । तर, हसिना सरकार ढाल्ने र उनलाई देश छाड्नैपर्ने एक मात्र विकल्पमा पुर्याउने परिस्थिति निर्माणमा भने अमेरिकाले भूमिका नखेलेको डा. मिश्रलाई लागेको छ ।
तैपनि, अब छिट्टै बंगलादेशमा लोकतान्त्रिक प्रक्रियाको पुनर्वहाली हुने विश्वास मिश्रले लिएका छन् । उनका अनुसार अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बीमाथि बढेको ज्यादती रोक्नुपर्ने र देशमा शान्ति बहाली गर्ने मूूलभूत दायित्व आन्दोलित विद्यार्थीसमेत सम्मिलित मोहम्मद युनुुस नेतृत्वको सरकारको रहेको बताए । अर्कातिर, सेनालाई विश्वामा लिएर चुनाव गर्नैपर्ने अर्को अभिभारा युनुस सरकारको रहेको पनि उनले बताए ।
उनले देश छाडेर भारतमा शरण लिएर बसेकी प्रधानमन्त्री शेख हसिना फेरि राजनीतिमा आउने सम्भावना न्यून रहेको पनि दाबी गरे । उनको दल अवामी लिग र उक्त दलका नेता कार्यकर्ताका लागि आगामी दिनहरू निकै कठिन हुन सक्ने पनि उनको टिप्पणी छ ।
प्रस्तुत छ, उनै मिश्रसँग शिलापत्रको कार्यक्रम 'द प्वाइन्ट अफ भ्यु'मा जङ्ग तामाङले गरेको संवाद:
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ १९:३६