नेकपा एमालेमा पछिल्लो जिम्मेवारी बाँडफाँटमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आफूखुसी गरेको भन्दै अपेक्षित भूमिका नपाएका नेताहरूले असन्तुष्टि पोखिरहेका छन् । खासगरी १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिएका तत्कालीन माधव नेपालपक्षीय नेताहरूले चाहेको जिम्मेवारी नपाएको गुनासो छ ।कार्यविभाजनमा महासचिव पोखरेल हाबी भएको भन्दै आलोचना भइरहेको छ ।
तर, नेकपा विभाजनपछि एमालेमै बसेका माओवादी पृष्ठभूमिकाका नेताहरूको हकमा भने पार्टी नेतृत्व उदार देखिएको छ । अहिले पनि एमालेले पूर्वमाओवादी पृष्ठभूमिका ६ नेतालाई संघीय सांसद बनाएको छ । जसमा प्रत्यक्षबाट निर्वाचित टोपबहादुर रायमाझी (निलम्बन) र ज्वालाकुमारी साह छन् । समानुपातिकबाट नैनकला थापा, रुक्मणी राना बराईली, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विक रहेका छन् ।
पूर्वमाओवादीबाटै आएका नेता रामबहादुर थापा बादल एमाले उपाध्यक्ष छन् । सचिवमा लेखराज भट्ट र टोपबहादुर रायमाझी छन् । रायमाझी भने नक्कली भुटानीी शरणार्थी ठगी प्रकरणले निलम्बनमा छन् । सचिवमा स्थायी कमिटीमा रहेका मणीचन्द्र थापा भने एक वर्ष अघि नै पार्टीबाट बिदा लिएका थिए । अहिले उनलाई पार्टीबाट हटाइएको छ ।
प्रदेशसभामा सबैभन्दा बढी पूर्वमाओवादीबाट लुम्बिनीमा सांसद छन् । एमालेका २९ जना सांसद रहेको लुम्बिनीमा ६ जना पूर्वमाओवादी छन् । जसमा गिरिधारीलाल न्यौपाने, दिनेश पन्थी, सीता चाैधरी शर्मा, भगवतीकुमारी थरुनी, यमुना रोका र दुर्गा चौधरी छन् । तीमध्ये पन्थी र शर्मा मन्त्री छन् । न्यौपाने कपिलबस्तुको इन्चार्ज पनि छन् । पन्थी गुल्मीको पार्टी इन्चार्जसमेत हुन् ।
लुम्बिनी मात्र होइन, एमालेले सबैजसो प्रदेशमा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । नेकपा विभाजनका बेला अध्यक्ष ओलीलाई साथ दिएका सक्रिय कुनै पनि नेता जिम्मेवारीविहीन छैनन् । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू एमालेमा सजिलै घुलमिल भएको देखिन्छ । वैचारिक मतभिन्नतालाई बिर्सेर पार्टीमा काम गर्न खोज्नेहरूलाई अवसर दिएर एमाले नेतृत्वले माओवादी केन्द्रमा असन्तुष्ट रहेका नेता कार्यकर्ताका लागि राजनीतिक विकल्पको ढोका खोल्ने रणनीति लिएको रूपमा पनि व्याख्या हुने गरेको छ । 'नेकपाकै निरन्तरताका रूपमा आफूलाई साथ दिने पूर्वमाओवादी नेता कार्यकर्तालाई ओलीले विशेष महत्व दिएका छन् । ओलीका लागि १० बुँदेबाट रोकिएका नेताभन्दा पूर्वमाओवादी नेताहरू नजिक छन् । त्यसैले क्षमता भएका कुनै नेताले भूमिकाविहीन बस्नु परेको छैन,' एमालेका एक पदाधिकारी बताउँछन् ।
एमालेमा पूर्वमाओवादीको घुलमिल र अवसर पाउनुले एमालेको अर्को वामपन्थी शक्ति बलियो नहोस् भन्ने रणनीतिले काम गरेको बताउँछन्, त्रिभुवन विश्विद्यालयका राजनीतिकशास्त्रका प्राध्यापक पीताम्बर भण्डारी । उनले भने, ‘नेपालमा कम्युनिस्ट शक्ति धेरै छन् । एकबाट अर्को पार्टीमा आउने जाने भइरहन्छ । एमाले र माओवादीबीच एकतासमेत भएर विभाजन भएको हो । माओवादी पृष्ठभूमिका नेताहरूलाई अवसर दिँदा अन्य दलबाट पनि एमालेमा आउने हुन सक्छ । अर्को आफ्नै पार्टीभित्रका विरोधीलाई साइजमा राख्न पनि हुनसक्ने भयो । माओवादी पृष्ठभूमिका नेता कार्यकर्ता अल्पसंख्यक भएकाले उनीहरू नेतृत्वको विरुद्ध जाने कुरा भएन, त्यसैले पनि भूमिका दिइने हुन्छ । ’
अर्को कम्युनिस्ट पार्टी बलियो नहोस भन्ने एमालेको रणनीति रहेको भण्डारी बताउँछन् । उनले भने, ‘एमाले माओवादी मिलेर पछि आआफ्नो ठाउँमा फर्केपछि माओवादी त्यसै कमजोर हुदै गएको छ । त्यसमा आएकाहरू उता नजाउन भन्नेमा एमाले सचेत देखिन्छ ।’
मधेशकी ज्वालाकुमारी साह पोलिटब्युरो सदस्य र संघीय सांसद छन् । लीलाकुमार भण्डारी पनि पोलिटब्युरो सदस्य छिन् । तिलबहादुर थापा मगर पनि पोलिटब्युरो सदस्य र गण्डकी प्रदेशसभामा सांसद छन् ।
नेकपा विभाजनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा एमाले र अध्यक्ष ओलीलाई रोजेकाहरू झण्डै चार वर्षमा पार्टी संगठनमा घुलमिल भएका छन् । अब पार्टीमा पानीमा चिनी खोजेर भेट्नु र एमालेमा पूर्वमाओवादी खोजेर भेट्नु एउटै भएको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सांसद गिरधारीलाल न्यौपानेले बताउँछन् । उनले भने, ‘एमालेमा अब माओवादीहरू भन्ने देखिँदैन । आवश्यकताअनुसार र क्षमताअनुसार सबैले भूमिका पाएका छन् । यहाँ कुनै भेदभाव छैन । अब सबै एमालेका नेता–कार्यकर्ता हौँ ।’
नेकपा विभाजनका बेला पूर्वमाओवादी नेताहरूले सांसद पद गुमाएरै भए पनि एमालेका बसेका थिए । ६ जेठ २०७८ मा एमालेमा बसेकै आधारमा पाँच जना नेताले सांसद पद गुमाएका थिए भने सात जनाले मन्त्री पद गुमाएका थिए । जबकि सांसद पद गुम्ने डरले एकैठाउँ रहे पनि माधव नेपाल पक्षका सांसदहरू प्रचण्डतर्फ गएनन् । कतिसम्म भने नेकपा विभाजनका बेला एक जना पनि पूर्वएमाले पृष्ठभूमिका नेता माओवादी केन्द्रमा गएनन् ।
मणिचन्द्र थापा र दावा लामा पहिलोपटक ११ पुसमा सांसद नरहेकाे व्यक्ति पनि मन्त्री बन्न पाउने संविधानको धारा ७८ (१) को प्रावधानअनुसार मन्त्री बनेका थिए । उनीहरू सांसद नभएको हुँदा ६ महिनापछि मन्त्री पद गयो । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी भने माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद थिए भने बादल राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्य थिए । उनीहरूकाे सांसद पद गएकाे थियाे ।
नेकपा विवादमा ओलीतिर लागेका उनीहरू एमाले र माओवादी ब्युँतिँदा पनि ओलीकै साथमा रहे । उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद गएको थियो । आफ्नो पद नै गुमाएर एमालेमा बसेकाहरू अहिले पनि भूमिकामा छन् । एमालेमा बसेरका पूर्वमाओवादीले भूमिका पाएको र कुनै भेदभाव नभएको केन्द्रीय सदस्य दाबा तामाङ बताउँछन् ।
लुम्बिनी प्रदेश कमिटीको उपसचिवमा पूर्णबहादुर बुढामगर निर्वाचित भए । सीमा गिरी र सूर्य न्यौपाने, कृष्णबहादुर भुसाल र भीम केसी, द्रोणराज सुवेदी, विमला चौधरी, लक्ष्मी सारु, रामजी चौधरी र सीता शर्मा चौधरी सर्वसम्मत प्रदेश कमिटी सदस्यमा चयन भए । कल्पना हरिजन, मुकुन्द भुसाल, प्रेम गुरुङ प्रदेश कमिटीमा चुनाव लडेर विजयी भएका थिए ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेमा पूर्वमाओवादी पृष्ठभूमिका २ जना सांसद छन् । जसमा विरबहादुर थापा प्रत्यक्ष निर्वाचित र जानकी ऐर बम समानुपातिकतर्फबाट सांसद छन् । तीमध्ये थापा मन्त्री बनेका छन् ।
झपट बोहरालाई अछाम जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । बाजुरा प्रतिनिधिसभा इन्चार्जको जिम्मा सहदेव बोगटीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश कमिटीमा भागरथी विष्टले उपसचिवको जिम्मेवारी पाएकी छन् ।
सुदूरपश्चिमका लेखराज भट्ट पछिल्लो समयमा अध्यक्ष ओलीको विश्वास पात्र मानिन्छन् । एमालेका दुई जना पदाधिकारीले मात्र प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा भट्टलाई सुदूरपश्चिममा खटाइएको छ । त्यस्तै, लीला भण्डारीलाई कैलाली क्षेत्र नं. ५ को इन्चार्ज, गौरीशंकर चौधरीले क्षेत्र नं. ४ इन्चार्जको जिम्मेवारी पाएका छन् ।
गण्डकी प्रदेशसभामा पनि लिलबहादुर थापामगर सांसद छन् । स्याङ्जामा पारसमणि गैरे जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । बाग्लुङकै केन्द्रीय सदस्य कृष्ण केसीलाई एमालेले रिर्टनी फाँट इन्चार्ज बनाएको छ ।
बागमती प्रदेशमा रसुवा जिल्ला इन्चार्जमा प्रेम तामाङ र सिन्धुली जिल्ला इन्चार्जमा मनोजजंग थापा छन् । प्रदेश कमिटीमा कृष्ण भुजेल, लक्ष्मण गोभाजु, रमेश पन्त, चूडामणि गौतम, जितवबहादुर रानामगर, नोर्बु लामा, विदुर भारती, आङछिरिङ शेर्पा, ईश्वरी रिजाल, चमेली विक सदस्य छन् । यस्तै, अजितमान तामाङ, अन्जन तिमिल्सेना, जगन्नाथ आचार्य, दिवश पाण्डे, भास्कर श्रेष्ठ, मिलन सुवाल, शरोज ढंगोल, दिनेश अछामी, रामहरि बजगाईं, दिलबहादुर घिसिङ र नवराज तिमल्सेना, बलराम बल, दोर्जे लामा पाख्रिन छिरिङ, बरि बल प्रदेश सदस्य बनेका छन् । यीमध्ये केही निर्वाचित हुन् भने केहीलाई सर्वसम्मत चयन गरिएको थियो ।
मधेश प्रदेशबाट संघीय संसद्ममा साह र तिवारी सांसद छन् । केन्द्रीय सदस्यमा कुन्दन कुसवाह, रामचन्द्र मण्डल, मोहमद समिर छन् ।
यो प्रदेशको बारा जिल्लामा पचरौता नगरपालिकामा पूर्वमाओवादीका जलन्धर सिंह जैसवाल मेयर निर्वाचित छन् । बाराकै प्रसौनि गाँउपालिकामा अध्यक्ष विनोदकुमार जैसवाल, उपाध्यक्ष किरणदेवीलगायत धेरै वडा अध्यक्ष पूर्वमाओवादीहरूले जितेका छन् ।
कर्णाली प्रदेशबाट चन्द्रबहादुर विक समानुपातिक सांसद छन् । प्रदेशसभाका टिकट पाएर पनि हार्नेमा दैलेखका धर्मराज रेग्मी र हुम्लामा छक्कबहादुर लामा छन् । तर, रेग्मीलाई कानुन विभागको प्रमुख बनाइएको छ । लामालाई हुम्ला जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
ठम्मर विष्टलाई सुर्खेत निर्वाचन क्षेत्र नं. १ को इन्चार्ज बनाइएको छ । सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका अध्यक्षमा पूर्वमाओवादी पृष्ठभूमिका बोधविक्रम जिसी निर्वाचित भएका छन् । त्यस्तै, पार्टीको प्रदेश सदस्यमा टेकबहादुर बोगटी, सर्व घर्ती, जनक सुनार, महेन्द्रबहादुर शाही, गणेश चिन्तन निर्वाचित छन् ।
कोशी प्रदेश कमिटीमा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूको राम्रै उपस्थिति देखिन्छ । कोशी प्रदेश कमिटीमा केशवहरि ढुङ्गेल, महेश किराँती, कमल बुढाथोकी, राजनप्रसाद ढकाल, प्रेम कार्की, गणेशप्रसाद राई, देवकुमार राई, देव आङबुहाङ, राजकुमार चुडाल, राजु थापा र सुमन नेम्वाङ सदस्य छन् ।
यस्तै, उदयपुरबाट जीवन कार्की, सृजना तामाङ, माया पोखरेल, कुमार भुजेल, देवराज भण्डारी, प्रकाश राई, दिलीप दवाडिया, बालेश्वर कामत, फूलथुङ्गा खतिवडा, बलबहादुर राई, गणेश कुमार राई, प्रकाश राई, रामकुमारी राई र विपिन तामाङ प्रदेश कमिटीमा चयन भएका छन् । यीमध्ये कोही प्रतिस्पर्धाबाट त केही सर्वसम्मत चयन भएका हुन् ।
एमाले सचिव पद्मा अर्याल पार्टीमा भूमिका जिम्मेवारी को कहाँबाट आएको हेरेर नदिइने बरू संगठनको आवश्यकता र नेताको क्षमताका आधारमा दिइने दाबी गर्छिन् । एमालेमा को कहाँबाट आयोभन्दा पनि पार्टीका सबै सदस्यहरूलाई उचित भूमिका दिइएको उल्लेख गर्दै उनी भन्छिन्, ‘पार्टीमा रहेका सबै नेता कार्यकर्ता एउटै परिवारका सदस्य हुन् । एमालेका नेताहरूलाई कसलाई कहाँ कुन जिम्मेवारी दिँदा ठीक हुन्छ, त्यो हेरेर दिने हो । एमालेमा पूर्वमाओवादी भन्ने नै छैन । ’
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ २०:३९