केन्द्रमा देखिने राजनीतिक अस्थिरताको प्रभाव मधेश प्रदेशको विकास निर्माणमा परेको छ । केन्द्रमा पटकपटक हुने सरकार परिवर्तन तथा सत्ता गठबन्धन परिवर्तनकाे प्रभावका कारण प्रदेश सरकारले न विकास निर्माणकाे काम गर्न सकेकाे छ न त कानुन निर्माणमै गति दिन सकेकाे छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् २७ पुस २०७९ मा तत्कालीन जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा सरकार गठन भएको थियो । यादवले ४ माघ २०७९ मा प्रदेशसभाबाट ऐतिहासिक शतप्रतिशत विश्वासको मत पाए । सभाको शतप्रतिशत पाएपछि उत्साहित भएका मुख्यमन्त्री यादवले अब प्रदेशको विकास निर्माण बुलेट ट्रेनको गतिमा अगाडि बढाउन घोषणा गरे । तर मुख्यमन्त्रीको उक्त घोषणा भाषणमा मात्रै सीमित भयाे ।
सुरुवाती दिनमा उत्साहित देखिएका मुख्यमन्त्री यादवले ३० वैशाखमा भएको उपनिर्वाचनमा आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादवलाई गृहजिल्ला बारा निर्वाचन क्षेत्र नम्बर २ बाट जिताउन समय मात्रै खर्च गरेरन् सरकारलाई पूर्णतासमेत दिन सकेनन् । उपनिर्वाचनकै क्रममा केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग गठबन्धन तोडेर पुनः कांग्रेससँग गठबन्धन गरे । त्यसको प्रभावले मधेशमा पनि एमाले सरकारबाट बाहिरियाे । र मुख्यमन्त्री यादवले दोस्रोपटक ३० जेठ २०८१ मा विश्वासको मत लिए । दुईपटक विश्वासको मत र ६ पटक सरकार विस्तार गर्दा पनि मुख्यमन्त्रीले राजनीतिक अस्थिरताको कारण सरकारलाई पूर्णता दिन सकेनन् ।
त्यसपछि केन्द्रमा प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग नयाँ सत्तासमीकरण गरे । त्यसको प्रभाव पनि प्रदेशमा पर्याे । केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार गठन भयो । मुख्यमन्त्री यादवलाई थप दुई पटक विश्वासको मत लिनुपर्याे । पछिल्लो पटक जसपा विभाजनपश्चात् एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लियो । त्यसपछि पुनः मुख्यमन्त्री यादवलाई २१ असारमा पाँचौँ पटक विश्वासको मत सामना गर्नुपर्ने अवस्था आयो । तर केन्द्रमा कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउन सकेनन् र जसपाको मधेश प्रदेशमा ६ वर्षदेखिको शासन सत्ता ढल्यो ।
यसरी १७ महिनाको अवधिमा पाँचपटक विश्वासको मत र ६ पटक सरकार विस्तार गर्दा पनि न सरकारले पूर्णता पाउन सक्यो न त सरकारले विकास निर्माण र कानुन निर्माणमै ध्यान दिन सक्याे । जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेश सरकार झन्डै डेढ वर्ष स्थिर रहे पनि केन्द्रमा पटकपटक फेरिने सत्ता गठबन्धन, गठबन्धन दलभित्रको अविश्वास र पटकपटक फेरिने मन्त्रीका कारण काम हुन नसकेकाे बताउँछन् ।
आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ५८ प्रतिशत मात्रै खर्च गरेको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा ५५ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । पटक पटक सरकार विस्तारले कर्मचारीहरूमा सरकारलाई नटेर्ने तथा सङ्घीय सरकार मातहत रहेका कर्मचारीको काम नगर्ने प्रवृत्तिले सकारले भौतिक पूर्वाधार तथा कानुन क्षेत्रमा खासै काम हुन नसेकेको उनले सुनाए ।
यता, अहिले कांग्रेस, एमाले र लोसपाको समर्थनमा जनमतले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री छन् । विश्वासको मत पाएको झन्डै दुई सातापछि लामो रस्साकस्सीपश्चात् मुख्यमन्त्री सिंहले दोस्रोपटक सरकार विस्तार गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर याे सरकारकाे आयु र गर्ने कामहरू पनि शंकाकाे घेरामा रहेकाे प्रदेशवासीहरू बताउँछन् ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ २१:४४