काठमाडाैंकाे न्युरोड क्षेत्रमा पैदलमार्ग बढाउन काठमाडौं महानगरपालिकाले यत्न गरिरहँदा स्थानीयवासीको एक समूह फेरि विरोधमा उत्रेको छ । मेयर बालेन्द्र शाहले ‘एमालेबाट परिचालित’ ठानेको समूहको अगुवाइ वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले गरेका छन् । यद्यपि, यो वडामा कांग्रेसको बहुमत छ । वडाका ५ मध्ये ३ सदस्य कांग्रेसबाट निर्वाचित हुन् ।
एमालेबाट वडाध्यक्ष निर्वाचित महर्जनले हिजो आइतबार नेपाल बैंक अगाडिको सडकमा ‘अस्थायी वडा कार्यालय’ खडा गरेका छन् । टेन्टमुनि टेबुल, कुर्सी राखेर उनले कार्यालयको काम त्यहीँबाट गरिरहेका छन् । यसको उद्देश्य, पैदल मार्गमा महानगरलाई रोक्नु हो ।
गत वर्ष माघमा न्युरोड क्षेत्रको सडक किनारबाट पार्किङ हटाउने निर्णयको पनि उनले विरोध गरेका थिए । पार्किङ खाली गराइएको सडक किनारलाई फुटपाथ बनाउने महानगरको पछिल्लो योजनालाई उनले सुरुदेखि नै नकार्दै आएका छन् । सुरुमा उनीसहित केही व्यापारी मात्र पैदल मार्ग विस्तारको विरोधमा देखिएका थिए । तर, पछिल्लो समय कांग्रेसबाट निर्वाचित वडा सदस्य र अरु स्थानीयवासी पनि थपिँदै गएका छन् ।
खुला बोलपत्रबाट कामका लागि निर्माण कम्पनी छानेर कामको जिम्मा दिएको महानगरले गत १२ जेठमा डिभिजन सडक कार्यालयको हस्तक्षेपपछि २७ जेठमा उच्च अदालतमा रिट दिएको थियो । यो रिटमा महानगरको पक्षमा अन्तरिम आदेश दिँदै ३० असारमा उच्च अदालत पाटनले काम गर्ने बाटो खुलाइदिएपछि भोलिपल्टै अर्थात् गत बुधबार महानगरबाट खटिएका श्रमिक न्युरोड छिरेका थिए । बिहीबार र शुक्रबार बिनाअवरोध काम भए पनि शनिबारदेखि स्थानीय जनप्रतिनिधिसहित व्यापारी र केही टोलवासी विरोधमा उत्रिए । आइतबार विरोधीको भिड झन् ठूलो भएपछि वडा नम्बर २२ मा काम रोकिएको छ ।
वार्ताको चाहना
डोजर चल्न दिनुअघि उनीहरू एकपल्ट मेयर बालेनसँग वार्ता गर्न चाहन्छन् । काठमाडौं २२ का वडा सदस्य चन्द्रमान महर्जनले विवाद भइसकेपछि स्थानीयवासीसँग वार्ता नगरेर मेयर स्वयम्ले अवरोध लम्ब्याउने काम गरेको बताए । ‘पैदल मार्ग विस्तार गर्ने भनिए पनि यसमा हामीलाई केही आशंका छ,’ उनले शिलापत्रसित भने, ‘वार्ता र संवादमा बसेर मेयरले हामीलाई प्रस्ट पार्नुपर्छ भन्ने माग नाजायज हो र ?’
पैदल मार्गहुँदै मेयर बालेन न्युरोडलाई ‘नो भेहिकल जोन’ (सवारीसाधनमुक्त क्षेत्र) बनाउने योजनामा रहेको संशय उनीहरूमा छ । यसो होइन भने महानगर नेतृत्वले एकपल्ट स्थानीवासीसँग संवाद गर्दा केही नबिग्रने महर्जनले बताए । ‘वडा नम्बर २२ लाई विकासविरोधी, महानगरको प्रतिपक्षीजस्तो बनाइयो,’ उनले भने, ‘जबकि हामीले एकपल्ट स्थानीयवासीको कुरा सुनेर मात्र काम अगाडि बढाउनोस् मात्र भनेका हौँ ।’
२४ मा निर्वाध काम
महर्जनकै छिमेकी वडा नम्बर २४ मा पैदल मार्ग विस्तारको काम निर्वाध भइरहेको छ । यस वडाका अध्यक्ष विनोदकुमार राजभण्डारी कांग्रेसका हुन् । पैदल मार्ग विस्तार आफूहरूको पनि चाहना भएकाले महानगरलाई पूर्णतः सहयोग गरेको वडा नम्बर २४ की सदस्य सुनिता महर्जनले बताइन् । ‘यो हामीले पनि चाहेको काम थियो, यसमा हाम्रो पूर्ण साथ, सहयोग छ,’ उनले शिलापत्रसित भनिन्, ‘अन्य वडामा अवरोधको कारण मलाई थाहा भएन ।’
वडा २४ मै पर्ने विशाल बजार व्यापार संघले महानगरको कामलाई उचित भन्दै सहयोग गर्ने वचन दिएको छ ।

सोमबार साँझ एक समूह पैदल मार्ग विस्तारको कामलाई समर्थन गर्दै मौन र्यालीको तयारीमा छ ।
केमा प्रस्ट हुन चाहन्छ वडा २२ ?
वडा नम्बर २२, २३ र २४ मा पर्ने क्षेत्रहरू न्युरोडलगायत धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिलो बनाउने महानगरको योजना छ । २४ मा काम भइरहे पनि २२ र २३ मा विवाद छ । २३ मा पनि २२ मा जस्तो कडा अवरोध छैन । वडा नम्बर २२ को अडानमा ऐक्यबद्धता जनाउँदै आइतबार काठमाडौं महानगरका अधिकांश जनप्रतिनिधि न्युरोडमा भेला भएर विरोध जनाएका थिए ।
वडा नम्बर २२ का जनप्रतिनिधिले मेयर बालेनसँग संवाद गरेर केही कुरामा प्रस्ट हुन चाहेको बताइरहेका छन् । पैदल मार्ग अन्ततः ‘नो भेहिलकल जोन’ बनाउने चिर योजना त होइन ? यसले न्युरोडलाई बजारकै रूपमा रहन नदिने पो हो कि भन्ने उनीहरूको आशंका छ । विरोधमा उत्रेका कतिपयले वडा नम्बर २४ मा विस्तार हुने पैदल मार्ग र त्यसको परिणामलाई दसैँसम्म हेरेर मात्र वडा नम्बर २२ मा काम गर्न दिनुपर्ने बताइरहेका छन् ।
मेयर बालेनले ल्याएको नीति तथा कार्यक्रम (२०८१/८२) को ३८औँ बुँदामा न्युरोड र हाँडीगाउँजस्ता प्राचीन् र पुरातात्विक, विशेष महत्त्वका क्षेत्रलाई ‘नो भेहिकल’ जोन बनाउने प्रस्ताव थियो । त्यसैले न्युरोडवासी यसमा प्रस्ट हुन चाहिरहेको वडा सदस्य महर्जनको भनाइ छ ।

‘हामीले ठूलो भिडसँग वार्ता गर्नु भनेका छैनौँ, वडाध्यक्ष र हामी केही सदस्यसँग बसे भइहाल्छ तर उहाँ न मिडियामा बोल्नुहुन्छ, न हामीमाझ आउनुहुन्छ,’ महर्जनले भने, ‘बरु जबर्जस्ती गर्न खोज्नुहुन्छ, फिल्डमा काम गराउन पनि बच्चाबच्ची, ठाडो शैली भएकाहरूलाई पठाउनुहुन्छ ।’
काठमाडौं- २३ का वडाध्यक्ष मचाराजा महर्जन मेयर बालेनजस्तै आफूहरूले पनि जनतामाझ घोषणापत्र प्रस्तुत गरेकाले समन्वयबिना गरिने निर्णयले असर पार्ने बताए । एमालेमा आबद्ध उनी बालेनमा सहमति, सहकार्य र छलफलको अभाव औँल्याउँछन् । कुनै पनि वडामा योजनाहरू लागू गर्दा स्थानीयको सहमति लिनुपर्नेमा उनको जोड छ । महर्जनको संकेत न्युरोड क्षेत्र पर्ने वडा नम्बर २२ तिर हो ।
काम, लगामदेखि अन्तरिम आदेशसम्म

महानगरले ८ मंसिर २०८० मा खुला बोलपत्रमार्फत निर्माण कम्पनी छानेको थियो । करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि २ करोड ५६ लाख रुपैयाँ (२०.११ प्रतिशत) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गरेको आरोग्य साइटेक जेभीलाई मूल्याङ्कन समितिले गत ६ जेठमा छनोट गर्यो ।
आरोग्य साइटेकले ११ जेठदेखि काम थाले पनि १२ गते नै डिभिजन सडक कार्यालयले हस्तक्षेप गर्यो । न्युरोड क्षेत्रका व्यापारी पनि विरोधमा उत्रेपछि काम रोकियो ।
कार्यान्वयनमा गएपछि योजनामा संघ र स्थानीयस्तरबाट अवरोध भएसँगै २७ जेठमा अन्तरिम आदेश माग गर्दै महानगरपालिका अदालत गएको थियो । अदालतले गत ३० असारमा महानगरको मागबमोजिम अन्तरिम आदेश दिएसँगै पुनः काम सुरु भएको हो ।
महानगरपालिकाले शहरी सडकको मापदण्डअनुसार पैदल मार्ग विस्तार गर्न चाहेको दाबी गरेको छ । मिश्रित आवासीय क्षेत्रमा १.८ मिटर, मिश्रित व्यावसायिक क्षेत्रमा २.५० मिटर, बस बिसौनीमा ३ मिटर, बजार क्षेत्रमा ३.५ देखि ४.५ मिटर, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा ४ मिटर चौडाइको पैदल मार्ग आवश्यक पर्ने जनाइएको छ ।
१३ मिटर सडक भएको ठाउँमा ७ मिटर मूल सडकलाई छोडेर दायाँ २.५ र बायाँ २.५ मिटरको पैदल मार्ग बनाउने, ११ मिटर सडक भएको ठाउँमा ८ मिटर छोडेर दायाँ १.५ मिटर र बायाँ १.५ मिटरमा पैदल मार्ग बनाउनुपर्ने मापदण्ड रहेको महानगरका अधिकारीको भनाइ छ । न्युरोड क्षेत्रमा पर्ने धर्मपथ सडकखण्ड १३ मिटरको हो भने बाँकी खण्ड ११ मिटरका हुन् । यस क्षेत्रमा पर्ने अन्य सडक खण्डमा विशालबजार, पाको, प्युखा मार्ग र खिचापोखरी मार्ग पैदल मार्ग भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह केसीले पैदल मार्ग बढाउँदा पनि विगतमा सवारी पार्किङ गरिएको भन्दा कम सडक क्षेत्रफल ओगटिने बताए ।
तस्वीरहरूः सुशील श्रेष्ठ/शिलापत्र
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ १६:०३