

त्रिकोण रक्तिम आकाशमा
उदाएका चन्द्र सूर्य
बाेकेर छातीमा
हिँडेकाे चेतन मन
आज बाेझिलाे किन ?
गह्रौ किन ?
मेरो बारीमा
मेरै माटोभित्र
राेपेका फूलहरू
र सयाै थुंगा फूलका अनगिन्ती पत्रहरू
सजाएर केशभरि
मेरो देशभरि
जुरुक्क उठेका मेरा खुट्टाहरू
स्वाभिमानी मेराे शिर
र दरा पाखुरीहरू
शिथिल किन ?
प्रकम्पित किन ?
आशाको फूल
मैले राेप्दा मेरो माटोमा
तिमी थियौँ
म थिएँ
र, माटाे थियाे मेराे धरणीकाे
उम्रियाे सुमसुम्यायाैँ
असंख्य हाम्रा हातहरूले
अन्जुलीकाे काेमल स्पन्दनले
मुसुक्क हाँसेकाे आशाकाे फूल
झाेक्रिएकाे किन ?
ओइलाएकाे किन ?
कसमाथि शंका गरूँ म
मैमाथि तिमीमाथि
राेप्ने हातहरूमाथि
तिम्रो पाैरख
मेराे पाैरख
या रसायनमाथि
बाेझिलाेझैँ छ माटो
अचेल किन ?
प्रदूषितझैँ छ आकाश
अचेल किन ?
इन्द्रेणीका सप्त रंग
फिका फिका
माटोको सुगन्ध
फिका फिका
आकाशकाे निलिमा
फिका फिका
आलाेक चन्द्र सूर्यकाे
फिका फिका
गगन फिका धर्ती फिका
मन फिका उपवन फिका
दृष्टि रित्तो किन ?
सृष्टि रित्ताे किन ?
म हराए कतै
तिमी चुक्याै कतै !
कथाभित्र माटो खाेज्याै
टुक्का टुक्कामा टुक्रा टुक्रा भएको
झुत्रा झुत्रामा धुजा परेकाे
राष्ट्रवादभित्र राष्ट्र खाेज्याै
अतिवादभित्र वाद खाेज्याै
मन्त्रभित्र तन्त्र खाेज्याै
विधि खाेज्याै विधान राेज्याै
मालिकका गल्ली गल्ली चहार्यौं
मालिक बन्ने सपना बुन्याै
रगतका आहुती दियौँ
स्वस्ति वाचन गर्यौं
तिम्रो विराेधका सबै स्वरहरू
मुटुभित्रै दाब्याै दबायाै
मालिक थप्याै
रैती बन्याै
सुकुल राेज्याै
सिहांसन दियौ
निराे बनायाै
बाँसुरी दियौ ।
नमिता सुमिताझैँ फेरि
निर्मला दियाै
भागरथी दियौ
कन्नन दियाै
चीत्कार दियौ
स्वाभिमान र अस्मिता दियाै
भाेका पेट र नांगो छाती दियौ ।
हामी निरीह पन्छी
आश्वासनकाे चाराे खायाै
र हेरि राख्यौ
तिम्रो सुन्दर आकृति
भुर्रर डाली
भुर्र चाराे
यस्तै गर्यौं
तिम्रो अट्टालिका वरिपरि
के बिरायाै ? सतायाै किन ?
लुट्याै किन ? लुटायाै किन ?
विधि मास्याै किन ?
रीति नास्याै किन ?
भन्न मन छ अझै पनि
जिउन मन छ अझै पनि
त्यसैले कठ्यांग्रिएको मन
र खिया लागेको चेतनालाई
शब्द शब्दले घाेच्दै रेत्दै
तिखार्नु छ- सिर्जनाकाे काेदाली
राेप्नु छ- फूल फेरि पनि
उमार्नु छ गाेड्नु छ
सिंचित गर्नुछ चेतनाको
फूलाउनु छ
आशाको फूल
राष्ट्रकाे फूलबारीमा
युगाै युगसम्म
तिमीसम्म, मसम्म र उनीसम्म
जुनी जुनीसम्म ।।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ १२:१५