जसले १० पुस २०७९ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए, अहिले १९ महिनापछि उनै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढालेका छन् । ३२ सिट जितेर संसदको तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कहिले कांग्रेस त कहिले एमालेकाे बुइँ चढेर प्रधानमन्त्रीमा टिकेका थिए ।
अहिले उनलाई ओलीले नै विस्थापित गरेका हुन् । शुक्रबार संसदमा विश्वासको मत नपाएपछि प्रचण्ड स्वतः पदमुक्त भएका छन् । उनी पदमुक्त भएसँगै १७ असारमा भएको कांग्रेस–एमाले सहमतिअनुसार ओली प्रधानमन्त्री बन्दै छन् ।
त्यतिबेला चुनावमा गठबन्धन गरेको नेपाली कांग्रेसले प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री नस्वीकारेपछि प्रचण्ड ओलीनिवास बालकोट पुगेका थिए । र ओलीले पनि उनलाई स्वागत गर्दै सत्तामा पुर्याएका थिए । तर १९ महिनापछि समयले यसरी कोल्टे फेरेको छ कि उनै ओली प्रचण्डलाई विस्थापित गरेर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्दै छन् ।
तीनपटक गठबन्धन फेरे
एमालेलगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २०७९ फागुनमा नै एमालेसँगको गठबन्धन तोडेर कांग्रेसलाई भित्र्याएका थिए । प्रधानमन्त्री बनाउन नचाहेको कांग्रेसले एमाले लगायतका दलहरूले प्रधानमन्त्री बनाएपछि २६ पुसमा पहिलोपटक प्रचण्डलाई विश्वासको मत दियो ।
पुसमा विश्वासको मत दिएको कांग्रेस सरकारमा सामेल भएन । सरकारमा एमाले, रास्वपा, राप्रपा लगायतका दलहरू सहभागी थिए । एमालेले संसदमा गठबन्धनबाट सभामुख लियो । रास्वपाले उपसभामुख र माओवादीको तर्फबाट प्रधानमन्त्री बनिसकेका थिए प्रचण्ड ।
नयाँ राष्ट्रपति चयन हुनुपर्ने थियो । माओवादी र कांग्रेस मिलेर कांग्रेसलाई राष्ट्रपति बनाउने आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड थिए । त्यही तयारीका बीच २० फागुन २०७९मा एमाले सरकारबाट बाहिरियो । कांग्रेस र माओवादी लगायत मिलेर पुनः गठबन्धन बनाए ।
राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भए । एमालेका सुवास नेम्वाङ पराजित भए । उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भए । तर प्रचण्ड आफैँ अस्थिर बने । दुई महिनामा एमालेलाई गठबन्धनबाट बाहिर पठाए, कांग्रेसलाई भित्र्याए । १४ महिनापछि फेरि उनले कांग्रेसलाई बाहिर पठाए एमालेसहित रास्वपासँग गठबन्धन गरे ।
प्रधानमन्त्री प्रचण्डले २१ फागुन २०८० मा कांग्रेससँग गठबन्धन तोडेर एमाले लगायतका दलहरूसँग गठबन्धन गरे । तर त्यही एमालेले गठबन्धन बनेको चार महिनामा नै प्रधामन्त्री प्रचण्डलाई प्रतिपक्षमा पुर्याएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १८:०८