सामान्यतया मोक्ष भन्नेबित्तिकै मुक्ति भनेर बुझ्ने गरिन्छ । यश चराचर जगत्मा तीन अनादि पदार्थ छन् । ती हुन्– प्रकृति, आत्मा र परमात्मा । प्रकृति जड पदार्थ हो भने आत्मा र परमात्मा चेतन पदार्थ हुन् । त्यही प्राकृतिक पञ्चतत्त्वयुक्त पुरुषभित्रको आत्मा चेतनतालाई परम तत्त्व परमात्मासँग सन्दिपपत्र गराउनु नै मोक्ष हो ।
पूर्वीय दर्शनअनुसार, मानव जीवनमा चार पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) प्रधान मानिएको छ, जसमा सर्वोपरि पुरुषार्थ मोक्ष मानिन्छ । धर्म, अर्थ र काम यी तीन पुरुषार्थहरूको प्राप्तिपछि पनि मोक्ष चाहना गरिन्छ । मानव चोला प्राप्ति वा जन्मपछाडि पनि मोक्षका लागि प्रयत्न नगर्नु अशान्ति र पञ्च महाभूतको दास बन्नुसरह ठहरिन्छ । मोक्ष नितान्त पूर्वीय दर्शनको निजी धारणा र सिद्धान्त हो । पाश्चात्य दर्शनमा यसको कुनै महत्त्व त के मोक्षको कल्पनासमेत गरिएको छैन । छ त केवल जीवात्माको स्वर्ग र नरक गतिको किञ्चित व्याख्या पाइन्छ । मोक्षबारे पाश्चात्य विद्वत् एवं दार्शनिकजनहरू आफू केही बोल्न चाहँदैनन् । उनीहरूका जीव जगत् र ईश्वरका बारेमा गरिएका व्याख्या पनि अपूर्ण छन् ।
मोक्षप्रक्षेपे धातुबाट उक्त भावमा धञ प्रत्यय लगाएर बनेको मोक्ष शब्दको पर्यायवाची शब्द मुक्ति हुन जान्छ । 'मुच् लृ लकारे धात्व भावे क्तिन् प्रत्यये निष्पन्नम्' अर्थात् मोक्षको समसायिक भाषामा बुझिने अर्थ भनेकै मुक्ति/छुटकारा हो । यो चराचर जगत्मा चुम्बकले जसरी चुम्बकीय गुण मात्र पैदा नगरी संवत: स्फुर्त चुम्बकीय ध्रुव पनि निर्देश गरेको हुन्छ, त्यसैगरी यस मानव चोलामा जन्मिएर मानव भएर बाँचेपछि मानवताको गुण, स्वभाव, कर्म गन्तव्यका साथसाथै परम् तत्त्व आत्मालाई परमात्मातर्फ गन्तव्य निर्देश गर्नु भन्ने भाव अग्र ठान्नुपर्छ ।
मोक्षप्राप्तिकै निम्ति रचित वा प्राप्ति भएको यस चोलामा विशेष कर्तव्यकै उपेक्षा गर्नु जीवन व्यर्थ मात्र नभई शान्ति र मुक्ति छोडेर तिक्ततारूपी बादलको अन्धकारमा दिशा पत्ता लगाउन नसकी भूमरीमा वस्तु घुमेर नाचेजस्तै नाचिरहनु भनेर बुझ्नुपर्छ । बोटमा फलेको फल भुईंमा झर्छ, नदी ओराली बग्छ, वायुले तौल बढाउँदै गयो भने वर्षामा परिणत हुन्छ । त्यसैगरी, मानव भएर जन्मिएर मोक्षको अनुसरणसम्म गरिएन भने चुम्बकीय गुण भए पनि ध्रुव निर्देश नभएको सरह हुन जान्छ ।
फेरि नितान्त मोक्षको मात्र निर्देश गरियो भने अत्युक्ति नहुन सक्छ । धर्म, अर्थ, कामका साथसाथै परम गति मोक्ष पनि अनुसरण गर्नु भनेर दिइएको शिक्षा बदलिँदो युग, समयानुसार पाच्य र ग्राह्यसमेत हुन सक्छ ।
मोक्ष सत्यको प्रज्वलित प्रकाश भनेर पनि विभिन्न ग्रन्थाकारहरूले व्याख्या गरेको पाइन्छ जसरी (-) र (+) तार जोडिएर बत्ती बल्छ र अँध्यारो नासिन्छ, त्यसैगरी आत्मा परमात्मासँग जोडिएको खण्डमा मोक्ष ज्योति प्रज्वलित हुन्छ र सबै छर्लङ्ग हुन्छ ।
मोक्ष शब्दलाई यसका पर्यायवाची शान्ति, मुक्ति मात्र नभई निर्वाण, कैवल्य, नि:श्रेयस्, अमृत आदि नामले पनि चिन्तन गर्न सकिन्छ । मोक्ष/मुक्ति शब्द आफैँले कतै दु:खको पूर्ण नाश त कतै सुखको पूर्णानुभूति दुवैलाई सम्मिलित भावना बुझाइराखेको हुन्छ । 'ब्रह्मविद् ब्रह्मैव भवति,' वेदको निचोड पनि यही छ कि ब्रह्मज्ञान यानिकि परम तत्त्व मोक्ष ज्ञान भएकालाई पूर्व सशरीर भएका गरेका पापहरूले कुनै प्रभाव पार्न सक्दैन । जसरी स–साना खहरे खोला नदीमा मिसिन्छन र मिसिएपछि नदीमै विलय हुन्छन् । ती नदी पनि सब सागरमा गएर विलय हुन्छन्, अनि आफ्नो पुरानो नाम र स्वरूपलाई बिर्सन्छन्, त्यसरी नै ज्ञानले खारिएको व्यक्ति पनि नाम र रूपबाट विलय भएर परम शक्तिको साथ तादात्म्य ग्रहण गर्छन् ।
हृदयमा रहेका सम्पूर्ण चाहना, कामना र वासनाका जञ्जालहरू, गाँठाहरू मुक्ति अवस्थामा सहजै खुल्छन् । त्यसपछि माकुरो आफैँले बनाएको जालोमा घुमिरहेझैँ फेरि यही चोला र लोकमा भौँतारिन र अल्झिइरहनु पर्दैन । जब मोक्षको अवस्था प्राप्ति हुन्छ, त्यो अवस्थामा मृत्युले दृष्टिसमेत लगाउन सक्दैन । किनकि मृत्युलाई जित्नु यानिकि कालको पनि प्रार्थनाको विषय भनेर मोक्षलाई बुझिन्छ । मोक्षको मुहूर्त स्थान, अवस्था, परिवेश केही पनि परिवर्तन हुँदैन । कामनाहरूको परिपूर्णता साधारण रूपमा सहजै निर्मूलीकरण हुने गर्दछ ।
मोक्ष सत्यको प्रज्वलित प्रकाश भनेर पनि विभिन्न ग्रन्थाकारहरूले व्याख्या गरेको पाइन्छ जसरी (-) र (+) तार जोडिएर बत्ती बल्छ र अँध्यारो नासिन्छ, त्यसैगरी आत्मा परमात्मासँग जोडिएको खण्डमा मोक्ष ज्योति प्रज्वलित हुन्छ र सबै छर्लङ्ग हुन्छ । इन्द्रिय वासना, चाहना, कामना, भोग, विलासितारूपी अन्धकार हट्नु वा त्यसमा उज्यालो प्रवाह हुनु नै ती र त्यस्ता तत्त्वहरूले परिबन्धित शोषण र गुमराहमा राख्न नसक्नु हो । ती र त्यस्ता बन्धनरूपी जञ्जालबाट छुटकारा पाउनु नै परमात्मा प्राप्तिको अनुभूति हो ।
वेदको व्याख्याको रूपमा रचित ग्रन्थ उपनिषद्हरूका आधारमा एकपटक मोक्ष गति /मोक्ष पद प्राप्ति भएपछि फेरि त्यही मोक्षका लागि पनि यत्न गरिरहनु पर्दैन । जसरी एउटा मकैको बिरुवा लगाएर गोडमेल, खनखोरस गरेर फुल्छ, फल्छ र मकै पाकेर डाँठ सुकेपछि फेरि पानी लगाउन र गोडमेल गर्न आवश्यक हुँदैन र गरेको मिहिनेत पनि त्यसका लागि आवश्यक हुँदैन । अनि जब सागरमा मिसिन्छ, अनि म खहरे खोला हुँ भनेर आवाज निकालेर आफूलाई परिभाषित गरिरहनु पर्दैन, त्यसैगरी मोक्ष (मुक्ति /शान्ति/परम गति) प्राप्तिपछाडि अन्य संवत: विलय भएर नयाँ पदयुक्त बनेको परमात्मा स्वरूपमा निहित हुन पुगिन्छ । यिनै मुक्तिका प्रकार पनि फरकफरक छन् । त्यसका बारेमा (मोक्ष /मुक्ति)का प्रकार र दिशा दृष्टि भनेर अर्को लेखमा प्रकाश पार्नेछु ।
यो पनि...
ब्रह्म र जगत्को परिभाषा र अन्तरसम्बन्ध
लेखक अन्तर्राष्ट्रिय स्वर्णपदकद्वारा विभूषित तथा फलित ज्योतिषाचार्य एवं १८ पुराणका प्रवक्ता हुन् ।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ ०७:२८